What you should know
पाल्पा — सिँचाइ कुलो अभाव र पर्याप्त आकाशे पानी नपर्दासमेत पाल्पामा ७२ प्रतिशत धान रोपाइँ सकिएको छ । धान खेती हुने भू–भागमध्ये ७२ प्रतिशतमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको हो । सिँचाइ कुलो नलाग्ने, चैते धान र मकै रहेका स्थानमा अझै रोपाइँ हुन सकेको छैन ।
सिँचाइ कुलो नलाग्ने र टारी खेतमा अझै पानी पुगेको नपुगेको रामपुर नगरपालिका–८, का किसान नारायण अर्यालले बताए । खोलाको सिँचाइ लाग्ने खेतमा रोपाइँ लगभग सकिएको भए पनि कतिपय स्थानमा मकै भएकाले अझ भइसकेको छैन । आकाशे पानी पर्याप्त नपर्दा टारी खेतमा ब्याड बुढो भए पनि खोला, खोल्सामा पानी नभएर खेत रोप्न नपाएको रामपुर नगरपालिका–९ का डिलबहादुर रानाले बताए ।
पाल्पाको अन्नभण्डार माडी, तिनाउको कचल, तानसेनको अर्गली, रम्भाको पीपलडाँडा, तिनाउको दोभान, माथागढीको झडेवा फाँटहरूमा भने रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाको तथ्यांकले देखाएको छ । रामपुर नगरपालिकाको रामपुर, खालीवन, गेझा, दर्छाका विभिन्न भागमा अझै पनि मकै खेतमा रहेकाले रोपाइँमा ढिला भएको रामपुर नगरपालिका कृषि शाखाले जनाएको छ ।
निस्दीका केही फाँट, रम्भाको हुागी फााटहरूमा अहिले पनि रोपाइँ चलिरहेको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । रामपुर नगरपालिकाको सिँचाइ कुलो नलाग्ने अधिकांश भू–भाग साथै कतिपयमा मकै नपाकेकाले पनि रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख अरविन्दमणी त्रिपाठीले बताए । पानी नपर्दा पानीको दुःखले जोहो गरेर भए पनि धान रोपेको उनले बताए ।
रामपुर नगरपालिका क्षेत्रमा मकै पाकेपछि साउनको दोस्रो साताभित्र रोपाइँ सकिने अनुमान छ । पाल्पामा आठ हजार २१० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ । यहाँ उन्नत र हाइब्रिड साावा मनसुली, राधा, खुमल, बासमती, युएस ३१२, सावित्री जातको धान लगाउने गर्छन् ।
