नेप्सेमा १३८ अंकको वृद्धि, बैंक तथा वित्तीय संस्थाको विशेष टेवा 

बिहीबार १६ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार, ११ महिनायताकै उच्च, सातामै ११ करोड ७९ लाख कित्ता सेयर किनबेच 

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

138 points increase in NEPSE, special support for banks and financial institutions

What you should know

काठमाडौँ — साता सेयर कारोबार मापक नेप्से परिसूचक १३८.८३ अंकले बढेको छ । कुल ५ कारोबार दिनमा सोमबार मात्रै नेप्से परिसूचक ३५.०९ अंकले घट्यो । अघिल्लो शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार सेयर बजारमा ठूलो उत्साह आउने अपेक्षा गरिएको थियो ।

 तर मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन २९ अंकले मात्रै नेप्से बढ्यो । सोमबार नेप्से घट्यो । जानकारहरूले त्यसलाई क्लोजिङ इफेक्ट भनेर विश्लेषण गरे । तर, मंगलबारदेखि भने बजार लगातार उकालो लाग्यो । जसअनुसार मंगलबार नेप्से ३४.४६, बुधबार ३४.६१ र बिहीबार ७५.८४ अंकले बढ्यो ।

यससँगै नेप्से ५.०८ प्रतिशतले बढेर नेप्से २ हजार ८ सय ७०.६३ बिन्दुमा उक्लिएको छ । यो साता कारोबारमा आएका मध्ये २ सय ३२ कम्पनीको सेयर मूल्य बढेपछि नेप्सेको उच्च वृद्धि सम्भव भएको हो । यद्यपि सातामा १६ कम्पनीको सेयर मूल्य भने घटेको छ  ।

यो साताको अन्तिम कारोबार दिन पछिल्ला ११ महिनायताकै उच्च कारोबार भएको नेप्सेले जनाएको छ । बिहीबार १६ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यो साता ५७ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको एनपी स्टक्सले जनाएको छ । एनपी स्टक्सका अनुसार यो साता ११ करोड ७९ लाख कित्ता सेयर किनबेच भएको छ ।

लचिलो मौद्रिक नीति आएसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको र अपेक्षित रूपमा बजार बढेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष धर्मराज सापकोटा बताउँछन् । ‘मौद्रिक नीतिपछि अपेक्षित रूपमै बजार बढेको छ,’ उनले भने, ‘बिहीबारको जस्तो एकै दिन ७५ अंकले वृद्धि हुन भएन । उत्ताउलो भएर बजार बढ्दा दिगो नहुन सक्छ । बजार प्राकृतिक रूपमा बढ्नुपर्छ ।’

138 points increase in NEPSE, special support for banks and financial institutions

पछिल्ला दुई वर्षमा मुलुकको अर्थतन्त्रका सूचक नकारात्मकबाट सकारात्मक हुँदै गए पनि बजारले अपेक्षा गरेअनुसार लचिलो नीति आउन नसकेको उनले सुनाए । अहिले बजारले अपेक्षा गरेअनुसार लचिलो मौद्रिक नीति आएकाले लगानीकर्ताको ‘कन्फिडेन्स’ बढाएको सापकोटाले बताए । 

यो साता सबै उपसमूह बढे । तुलनात्मक रूपमा लघुवित्त, विकास बैंक, फाइनान्स, वाणिज्य बैंक, जलविद्युत्लगायतमा लगानीकर्ताको आकर्षण रह्यो । लघुवित्त ८.१०, विकास बैंक ७.१०, फाइनान्स ६.२०, वाणिज्य बैंक ६.१३, जलविद्युत् ५.४४ प्रतिशतले बढ्यो । व्यापार सबैभन्दा कम १.५२ प्रतिशतले बढ्यो ।

यो साता थ्री स्टार हाइड्रोपावरको २१.९२, सम्पदा लघुवित्तको १६.१४, मितेरी विकास बैंकको १५.१८ र बुटवल पावरको १४.३९ प्रतिशतले सेयर मूल्य बढ्यो । एनआईसी एसिया बैंकको १३.६०, खानीखोला हाइड्रोपावरको १२.५७, इन्फिनिटी लघुवित्तको १२.०८, स्वरोजगार लघुवित्तको १२.०५, फरवार्ड कम्युनिटी लघुवित्तको १२.०३ र साहस ऊर्जाको १२ प्रतिशतले सेयर मूल्य बढेको एनपी स्टक्सले जनाएको छ । 

नेप्से बढ्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा २ खर्ब ३१ अर्ब ८० करोड ३१ लाख रुपैयाँले वृद्धि भएको छ । अघिल्लो बिहीबार ४५ खर्ब ५१ अर्ब ५७ करोड २८ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४७ खर्ब ८३ अर्ब ३७ करोड ६० लाख रुपैयाँ कायम भएको छ ।

कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्य बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेका रूपमा विश्लेषण गरिन्छ ।

यो साता जलविद्युत् र लघुवित्तका लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए । भगवती हाइड्रोपावरको १०.१२, वरुण हाइड्रोपावरको ५.०८, हिमालयन हाइड्रोपावरको ४.३, सप्तकोशी विकास बैंकको ३.८२ र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ३.०६ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्तको २.०३, न्यादी हाइड्रोपावरको १.९८, नारायणी विकास बैंकको १.९२, आत्मनिर्भर लघुवित्तको १.७२ र मान्डु हाइड्रोपावरको १.६८ प्रतिशत सेयर मूल्य घट्यो । 

जसले यो साता कमाए

थ्री स्टार हाइड्रोपावर : २१.९२ प्रतिशत 

सम्पदा लघुवित्त : १६.१४ प्रतिशत 

मितेरी विकास बैंक : १५.१८ प्रतिशत 

बुटवल पावर : १४.३९ प्रतिशत 

एनआईसी एसिया बैंक : १३.६० प्रतिशत 

खानीखोला हाइड्रोपावर : १२.५७ प्रतिशत 

इन्फिनिटी लघुवित्त : १२.०८ प्रतिशत 

स्वरोजगार लघुवित्त : १२.०५ प्रतिशत 

फरवार्ड कम्युनिटी लघुवित्त : १२.०३ प्रतिशत 

साहस ऊर्जा : १२ प्रतिशत

जसले यो साता गुमाए 

भगवती हाइड्रोपावर : –१०.१२ प्रतिशत 

वरुण हाइड्रोपावर : –५.०८ प्रतिशत 

हिमालयन हाइड्रोपावर : –४.३६ प्रतिशत 

सप्तकोशी विकास बैंक : –३.८२ प्रतिशत 

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन : –३.०६ प्रतिशत 

सामुदायिक लघुवित्त : –२.०३ प्रतिशत 

न्यादी हाइड्रोपावर : –१.९८ प्रतिशत 

नारायणी विकास बैंक : –१.९२ प्रतिशत 

आत्मनिर्भर लघुवित्त : –१.७२ प्रतिशत 

मान्डु हाइड्रोपावर : –१.६८ प्रतिशत

कान्तिपुर

Link copied successfully