सुख्खाग्रस्त मधेशका आठ जिल्लामा कृषि मन्त्रालयले अध्ययनका लागि टोली परिचालन गर्दै

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

The Ministry of Agriculture is deploying teams for study in eight districts of drought-affected Madhesh

What you should know

काठमाडौँ — मधेश प्रदेशका ८ जिल्लाहरुमा सुख्खाका कारण धान रोपाइँ हुन नसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली पठाउने भएको छ ।

हालको अवस्था, समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्यन गर्न कृषि प्राविधिकको टोलि पठाउने  निर्णय भएको हो ।

टोली आइतबार सो क्षेत्रमा पुग्ने छ । शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालय र मातहतका कर्मचारीहरुसँग छलफल गरी  तुरुन्तै सो क्षेत्रमा टोली पठाउन निर्देशन दिएका हुन् । मन्त्री अधिकारीको निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रबाट २/२ जनाको दरले टोली पठाउने निर्णय भएको  हो।टोलीले मधेश प्रदेशमा रहेका मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीहरुसँग पनि समन्वय गर्ने छ ।  मधेश प्रदेश सरकारले  लामो समय सो क्षेत्रमा पानी नपर्दा खाने पानीको  समेत अभाव भएको र  धान रोप्ने अवस्थासमेत नभएको भन्दै केही दिन अघि सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । 

मन्त्री अधिकारीले अबको केही दिन भित्र वर्षा  नभएको अवस्थामा तीनै तहको सरकारले विकल्प  खोज्नुपर्छ,मन्त्रालय मातहतका सबै  निकायहरुलाई यसतर्फ लगाउनुपर्ने बताए । हाल रहेका सिँचाइका संरचनाहरुलाई पूर्णरुपमा सञ्चालन गरी, सिँचाइका लागि अन्य विकल्पहरु के के हुन सक्छन् भनेर सम्बन्धित निकायहरुसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जानकारी दिए । 

मधेसका ८ जिल्लामा  हालसम्म करिब ४६ प्रतिशत रोपाइँ सम्पन्न भएको मधेश प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully