किसान भन्छन्, ‘जसोतसो पानी जोहो गरेर धान त रोपियो तर सिँचाइ सुविधा र पर्याप्त वर्षा नहुँदा खेतमा धाजा फाटेको छ’
भैरहवा — जसोतसो पानी जोहो गरेर धान रोपाइँ गरेका रूपन्देहीको मर्चवारका किसान अहिले खेतमा धाजा फाटेको नियालेरै दिन कटाउन बाध्य छन् । जिल्लामै धेरै धान रोपाइँ हुने मर्चवार क्षेत्रमा बाँझो जमिन हत्तपत्त भेटिँदैन । तर, रोपाइँ गरिएका खेतमा धाजा फाटेका छन् भने धान पहेंलिएको छ ।
जेठ पहिलो सातादेखि मनसुनको प्रतीक्षा गरे पनि अझै वर्षा सुरु भएको छैन । छिटपुट हुने वर्षाले जमिन भिज्दैन । सिँचाइका लागि निर्माण गरिएका कुला सुक्खा छन् ।
अधिकांशले बोरिङमार्फत भूमिगत पानी निकालेर रोपाइँ गरेका हुन् । केहीले आसपासका पानीका स्रोतबाट पम्पसेट चलाएर धान रोपे । केहीले पाइपमार्फत टाढा–टाढाबाट पानी ल्याउने गरेका छन् । सिँचाइ अभाव हुँदा धान खेतीमा लागत बढेको किसान बताउँछन् । मर्चवारी–६ पिपरहवाका प्रह्लाद चौधरीले यस वर्ष २० कट्ठामा धान खेती गरेका छन् । उनको खेत आसपास सिँचाइका लागि पानीको स्रोत छैन । समस्या समाधानका लागि बोरिङ गाड्ने प्रयास गरे । ‘तर, ५ फिट पाइप गाड्दा पनि पानी निस्किएन,’ उनले भने ।
प्रत्येक वर्ष आकाशे पानीको भरमा खेती गर्दै आएका उनले विकल्प नभएपछि एक किलोमिटर टाढाको डन्डा खोलामा पम्पसेट चलाएर पाइपबाट पानी ल्याएको बताए । ‘जसोतसो धान रोपियो,’ उनले भने, ‘हुर्किन पानी चाहिन्छ नि, अहिले सुक्खा परेर खेतमा धाजा फाटेका छन् । रोपो पहेंलिएर सुक्ने चिन्ता लागिसक्यो ।’
अहिले मर्चवारीका खेत र बाटोभरि लामो दूरीसम्म डेलिभरी पाइप बिछ्याइएको देखिन्छ । एउटै किसानले खरिद गरेको पाइपले नपुग्ने भएपछि धेरै जनाले पाइप गाँसेर खेतसम्म पानी पुर्याइरहेका छन् । ‘यही डन्डा नदी नभएको भए सुक्खाले मरिहाल्थ्यौं,’ मर्चवारी–६ का अवधेश कुर्मीले भने, ‘यसैको पानी तानेर २/३ किलोमिटरसम्म पुर्याएका छौं ।’ उनका अनुसार प्रत्येक वर्ष सिँचाइ अपुगको समस्या दोहोरिने गरेको छ । पानी अभावमा खेती गर्न समस्या भएपछि केहीले रूख हुर्काएका छन् । खेती नगरेर वर्षभरि भोकै परिने चिन्ताले मात्र रोपाइँ गरेको कुर्मीले बताए ।
श्री महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण चौधरीले सिँचाइ अभावले उत्पादन लागत बढेको बताए । ‘खेतीपातीबाट तनावबाहेक नाफा छैन,’ उनले भने, ‘खर्चमाथि खर्च थपिरहेको छ ।’ खोलानालाबाट पानी तान्न पम्पसेट चलाउनुपर्छ । पम्पसेट चलाउँदा एक घण्टामा डेढ लिटर डिजेल खपत हुन्छ ।
उनका अनुसार यसरी तानेको पानीले एक कट्ठामा सिँचाइ गर्दा कम्तीमा तीन घण्टा लाग्छ । ‘एक कट्ठामा सिँचाइ गर्दा साढे चार लिटरजति डिजेल खर्च हुन्छ,’ उनले भने, ‘धेरै जमिनमा खेती गर्ने किसानले पम्पसेट चलाउन ऋण लिनुपर्ने बाध्यता छ ।’ समयमा वर्षा नभएकाले झन् समस्या भएको उनको भनाइ छ । ‘अझै पानी पर्ने छाँट छैन,’ उनले भने ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख नारायण काफ्लेले मर्चवार गहुँ जोन क्षेत्र भएको बताए । यहाँबाट धान र गहुँको बीउ उत्पादन गरिँदै आएको छ । उनका अनुसार मर्चवारको १० हजार हेक्टरमा सिँचाइ समस्या छ । यहाँ स्यालो ट्युबवेलमार्फत पानी निकाल्न खर्चिलो हुन्छ । मर्चवार लिफ्ट सिँचाइको कमान्ड क्षेत्रमा कुलो निर्माण गर्नुपर्ने छ । अहिले परियोजनाले खेतसम्म पानी पुर्याउन साढे तीन सय मिटर कुलो निर्माण गरिसकेको उनले बताए ।
‘दिगो रूपमा बीउ उत्पादन कार्यक्रम सञ्चालनका लागि पनि सिँचाइ अपरिहार्य भयो,’ उनले भने, ‘मर्चवारका किसान पानीको अभावमा छन् ।’ मर्चवार क्षेत्रमा रहेका नहरबाट प्रभावकारी रूपमा पानी वितरण नहुँदा समस्या भइरहेको उनले बताए । परियोजनाले गहुँ र धान पकेट क्षेत्रमा सामुदायिक पूर्वाधार निर्माणअन्तर्गत ५० लाख खर्च गरेर साना नाली निर्माण गरिरहेको जनाए ।
