अमेरिका, दुबई र केन्याका लागि बुधबारदेखि निकासी सुरु
पर्सा — वीरगन्जस्थित प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले नेपाली कार्पेट तेस्रो मुलुक निर्यात सुरु गरेको छ । बुधबार १ लाख २५ हजार वर्गफिट कार्पेट अमेरिका, दुबई र केन्या निकासी गरिएको उद्योगका सञ्चालक हरि गौतमले जानकारी दिए ।
‘बुधबार सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै एक कन्टेनर कार्पेट तेस्रो मुलुकतर्फ निकासी गरिएको छ,’ उनले भने, ‘यसअघि ३ वर्षदेखि भारत निकासी हुँदै आएको थियो, अब भारतसँगै तेश्रो मुलुकतर्फ पनि निकासी सुरु गरेका छौं ।’
यसअघि स्वदेशमा कार्पेट उद्योग नहुँदा बर्सेनि टर्की,थाइल्यान्ड,भारत र चीनबाट समेत गरी ८ सयदेखि १ हजार करोड वर्गमिटर कार्पेट नेपालमा आयात हुने गरेकोमा स्वदेशमै कार्पेट उत्पादन हुन थालेपछि ७ वर्षको अवधिमा विदेशी उत्पादन तथा आयातलाई पूर्ण रूपले प्रतिस्थापन गरेर स्वदेशको बजार लिन सफल भएको गौतम बताउँछन् । उद्योगले विदेशी उत्पादनभन्दा पनि सस्तो मूल्यमा गुणस्तरीय उत्पादन दिन थालेपछि विदेशी कार्पेट नेपालमा पूर्ण रुपले प्रतिस्थापन भएको गौतम दाबी गर्छन् ।
उद्योगका अर्का सञ्चालक अमन साहले २०७५ साउन २१ देखि उत्पादन थालेको यो उद्योगले भारतलगायत अन्य मुलुकबाट कच्चा पदार्थ ल्याई उत्पादन गरिरहेको बताए । वार्षिक २० लाख वर्गमिटर उत्पादन क्षमता रहेको उद्योगले हाल वार्षिक नेपालको मागअनुसारको १२ लाख वर्गमिटर कार्पेट उत्पादन गरिरहेको साहले बताए ।
४० करोड रुपैयाँ स्थिर पुँजी भएको उद्योगले ८० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । बर्सेनि आयात बढ्दो क्रममा रहेको अवस्थामा नेपाली उत्पादन तेस्रो मुलुक निकासी हुनु उद्योगका लागि मात्र नभई नेपालकै लागि गौरवको विषय भएको साह बताउछन् । ‘हामीले गुणस्तरमा रत्तिभर पनि सम्झौता गरेका छैनौँ,’ उनले भने, ‘त्यस कारण भारतमा पनि हाम्रो उत्पादनले राम्रो बजार लिइसकेको छ, अब तेस्रो मुलुकबाट पनि माग आउन थालेको छ ।’
