मोबाइल इन्टरनेटलाई सर्वसुलभ बनाएको थ्रीजी धमाधम बन्द गर्दै टेलिकम र एनसेल

थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारीमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल थ्रीजीको निरन्तरता आवश्यक छ–छैन भन्नेबारे अध्ययन गर्दै सरकारी स्वामित्वको नेपाल टेलिकम 

असार ३१, २०८२

सजना बराल

Telecom and Ncell are shutting down 3G, which made mobile internet universally accessible

काठमाडौँ — नेपालमा मोबाइल इन्टरनेट प्रविधिको एउटा महत्त्वपूर्ण अध्याय थ्रीजी सेवा अब अन्त्यतिर उन्मुख छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्न थालेको छ भने सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि आफ्नो वार्षिक कार्यक्रममा थ्रीजीको निरन्तरता आवश्यक छ–छैन भन्नेबारे अध्ययन गर्ने बताएको छ । 

पछिल्लो समय फोरजी प्रयोगकर्ता साढे २ करोड नाघिसक्दा थ्रीजी प्रयोगकर्ताको संख्या औसत ६–७ लाखमा सीमित छन् । बरु अति आधारभूत प्रयोजनको टूजी डेटा चलाउनेहरू ३० लाख हाराहारीमा छन् । देशभर रहेका आफ्ना मोबाइल टावरमध्ये १५ प्रतिशतभन्दा बढीमा थ्रीजी प्रविधिका उपकरण हटाइसकेको वा थ्रीजी सिग्नल बन्द गरिसकेको एनसेलले जनाएको छ । यसले गर्दा पछिल्लो एक वर्षमा एनसेलका थ्रीजी ग्राहक संख्या १४ लाखले घटेका छन्, फोरजीमा भने ४६ लाख ग्राहक थपिएका छन् । 

ग्राहकहरूलाई कम असर पर्ने गरी विस्तृत योजनासहित थ्रीजी सेवा बन्द गरिरहेको कम्पनीले बताएको छ । ‘थ्रीजी सेवा पूरै बन्द भएपछि फोनले काम नगर्ने भन्ने होइन, आधारभूत मोबाइल सेवा टुजी मोडमा चल्नेछ र यसकारण भ्वाइस सेवामा कुनै असर पर्नेछैन,’ कम्पनीले इमेलमार्फत कान्तिपुरलाई जानकारी दिएको छ, ‘यद्यपि यसले थ्रीजी ह्यान्डसेट प्रयोगकर्ताको डेटा अनुभव भने घट्नेछ ।’ थ्रीजी ह्यान्डसेट प्रयोगकर्तालाई डेटा चलाउँदा स्पिड स्लो हुने, भिडियो नचल्ने, पेज लोड नहुनेजस्ता समस्या आइपर्नेछन् ।

थ्रीजी बन्द भएसँगै प्रयोगकर्ताले राम्रो स्पिड र सेवा प्राप्त गर्न फोरजी सपोर्ट गर्ने मोबाइलमा अपग्रेड गर्नुपर्छ । एनसेलले देशभर ९५ प्रतिशतभन्दा बढी जनसंख्यालाई फोरजी सेवा प्रदान गरिरहेको उल्लेख गर्दै फोरजीमा अपग्रेड हुन प्रयोगकर्तालाई आग्रह गरेको छ । ‘कभरेजका हिसाबले हेर्दा थ्रीजी बन्द हुँदा कुनै खालको सेवा अन्तर अर्थात कभरेज ग्याप हुने छैन,’ एनसेलले भनेको छ, ‘ह्यान्डसेटका आधारमा हेर्दा हाम्रो नेटवर्कमा ८२ प्रतिशतभन्दा बढी ह्यान्डसेटहरू फोरजीका छन् र बाँकी टुजी (बार फोन) छन् । थ्रीजी ह्यान्डसेटको संख्या न्यून छ ।’ पछिल्लो तथ्यांकअनुसार एनसेलका थ्रीजी ग्राहकको संख्या हाल १ लाख १५ हजार मात्रै छन्, जब कि गत वर्ष वैशाखमा १५ लाख ३० हजार थिए । 

दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधि तटस्थताको अवधारणाअनुसार सेवा प्रदायक कम्पनीहरूलाई टुजी, थ्रीजी, फोरजी, फाइभजीजस्ता कुनै पनि प्रविधि सञ्चालन गर्ने अधिकार रहेको जनाएको छ । तर पनि यसका लागि प्राधिकरणले आवश्यक स्पेक्ट्रम उपलब्ध गराउनुपर्छ । फ्रिक्वेन्सी नीतिमै प्रविधि तटस्थताको अवधारणा समावेश भएको उल्लेख गर्दै ग्राहकको हित हुने प्रविधिको प्रयोगलाई प्राधिकरणले सकारात्मक मान्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रतिक्रिया दिए । ‘बजारमा जुन प्रविधि प्रभावकारी छ, त्यो अपरेटरले सञ्चालन गर्न सक्छन्,’ अर्यालले भने, ‘थ्रीजी बन्द गर्नुको अर्थ फोरजीतर्फ जानु हो । भ्वाइस सेवाका लागि टुजी वा फोरजीको भोल्टे दुइटै विकल्प हुन्छन् ।’ 

फोरजीका अनेक विशेषतामध्ये भ्वाइस ओभर एलटीई (भोल्टे) मा स्पष्ट आवाज र थप व्यवस्थित नेटवर्क संरचना हुन्छ । मोबाइलमा भोल्टे सक्रिय गराउँदा डेटा खर्च नहुने र यसले ब्याट्री खपत नबढाउने अपरेटरहरूले जानकारी दिएका छन् । प्रयोगकर्ताले भोल्टे प्रयोग गरेपछि उच्च गुणस्तरको भ्वाइस सेवा प्राप्त गर्न सक्ने एनसेलको दाबी छ । आफ्ना थ्रीजी प्रयोगकर्ताको संख्या अत्यन्त न्यून रहेकाले सेवा स्थानान्तरण सहज हुने एनसेलको अपेक्षा छ । प्राधिकरण प्रवक्ता अर्यालले पनि थ्रीजीभन्दा फोरजी उन्नत भएकाले त्यसतर्फ जानु ग्राहकका लागि पनि राम्रै हुने बताए । कतिपय विज्ञले पूर्ण विशेषतासहितको ‘फुल–फ्लेज्ड’ फोरजी नेपाली प्रयोगकर्ताका लागि पर्याप्त हुने र तत्काल फाइभजीमा लगानी गर्नुभन्दा फुल–फ्लेज्डमै केन्द्रित हुनुपर्ने धारणा राख्दै आएका छन् । 

Telecom and Ncell are shutting down 3G, which made mobile internet universally accessible

नेपाल टेलिकमले तत्काल थ्रीजी बन्द गरिहाल्ने विषयमा तयारी नभए पनि वार्षिक कार्यक्रममा यसबारे अध्ययन गरिने योजना राखेको छ । टेलिकमका थ्रीजी प्रयोगकर्ताको संख्या साढे ७ लाख भएकाले तुरुन्तै सेवा बन्द गरिहाल्न मिल्ने अवस्था नरहेको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरको भनाइ छ । ‘आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा भने थ्रीजीको भविष्यबारे अध्ययन गर्ने विषय समावेश गरिएको छ,’ उनले भने, ‘तुरुन्तै बन्द गर्ने गरी कुनै छलफल भएको छैन ।’ गत वर्ष वैशाखमा नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ५६ लाख ५६ हजार रहेकोमा २०८१ वैशाखमा यो संख्या ४८ लाखले घटेर ७ लाख ५६ हजार पुगेको छ ।

नेपालमा थ्रीजी सेवाको सुरुवात २०६४ जेठ ३ देखि भएको थियो । नेपाल टेलिकमले काठमाडौं उपत्यकाको रिङरोडभित्र यो सेवाको परीक्षण सुरु गरेको थियो । त्यसपछि एनसेलले २०६७ भदौ ३१ देखि थ्रीजी सेवा सञ्चालनमा ल्यायो । समयसँगै यी सेवा प्रदायकहरूले देशका विभिन्न भागमा थ्रीजी नेटवर्क विस्तार गर्दै लगे । नेपाल टेलिकमले २०७३ साल असोज २० सम्म देशका ७५ जिल्लामा थ्रीजी सेवा पुर्‍याएको जनाएको थियो । २०७३ पुसमा भने टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सुरु गर्‍यो । एनसेलले २०७४ जेठमा फोरजी रोल आउट गरेको थियो ।

दूरसञ्चार प्रविधिको इतिहासमा प्रयोगकर्तालाई मोबाइल इन्टरनेटमा अभ्यस्त बनाउने जस थ्रीजीलाई दिइन्छ । यसले मानिसहरूको मोबाइल प्रयोग गर्ने तरिकालाई नै परिवर्तन गरिदिएको थियो । फोन कल र सामान्य एसएमएसमा सीमित मोबाइल फोनको प्रयोग थ्रीजीको आगमनसागै भिडियो कलदेखि संगीत डाउनलोड गर्न र गेमिङमा समेत विस्तार भएको थियो । थ्रीजीको डेटा स्पिडका कारण बग्रेल्ती मोबाइल एप बन्न थाले । अन्तर्राष्ट्रिय दूरसञ्चार संघका अनुसार सन् २००१ अक्टोबर १ मा जापानको एनटीटी डोकोमोले विश्वमै पहिलोपटक थ्रीजी ‍सेवाको व्यावसायिक सुरुवात गरेको थियो । यो सेवा प्रदायकले सन् २०२६ सम्ममा थ्रीजी बन्द गर्ने घोषणा गरेको छ । 

थ्रीजी नेटवर्कले फोन कलको गुणस्तर सुधार्न मद्दत गर्‍यो, कल ड्रप हुने समस्या पनि कम भयो । सबैभन्दा महत्त्वपूर्ण, यसले भ्वाइस र डेटा सेवाहरू एकैसाथ प्रयोग गर्न सम्भव बनायो । अर्थात्, फोनमा कुरा गर्दागर्दै इन्टरनेट चलाउन वा एप प्रयोग गर्न सकिने भयो, यस्तो फिचर टुजीमा सम्भव थिएन । तर फोरजीको विकासपछि थ्रीजी असाध्यै सुस्त लाग्न थाल्यो ।

थ्रीजी सेवाको स्पिड अधिकतम १४ एमबीपीएसम्म रहेकामा फोरजीको न्यूनतम स्पिड नै ३० एमबीपीएस हुन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघको मापदण्डअनुसार १०० एमबीपीएस स्पिड भएको सेवा फोरजी मानिन्छ । फोरजी र फाइभजीजस्ता नयाँ प्रविधिको विस्तारसँगै विभिन्न देशले थ्रीजी मोबाइल सेवा बन्द गर्न थालेका छन् । अमेरिकाका एटी एन्ड टी, टी–मोबाइलजस्ता ठूला अपरेटरहरूले सन् २०२२ मै थ्रीजी बन्द गरेका थिए । भारत, चीन, अस्ट्रेलियालगायत कैयौं देशमा थ्रीजी पूर्णरूपमा फेज आउट हुन लागेको छ । 

कति छन् थ्रीजी प्रयोगकर्ता ? 

वर्ष                प्रयोगकर्ता

२०८२ : ८ लाख ६९ हजार ८ सय ५९

२०८१ : ७१ लाख ८७ हजार १ सय ८

२०८० : ७७ लाख ५३ हजार २ सय ६१

२०७९ : १ करोड ९ लाख ६६ हजार ७ सय ७०

२०७८ : १ करोड १९ लाख ५६ हजार १ सय २०

२०७७ : १ करोड १५ लाख २३ हजार ८ सय ८८

२०७६ : १ करोड ९ लाख ५ हजार ७ सय २४

२०७५ : ९३ लाख २६ हजार २ सय १

कति छन् फोरजी प्रयोगकर्ता ?

वर्ष                       प्रयोगकर्ता

२०८२ : २ करोड ५३ लाख ७५ हजार ४ सय २३

२०८१: २ करोड १९ लाख ८२ हजार २३

२०८०: १ करोड ९७ लाख ८१ हजार ४ सय ८९

२०७९ : १ करोड ७६ लाख ६६ हजार ६ सय ९६

२०७८ : ७६ लाख ९७ हजार ८ सय ६३

२०७७ : ४५ लाख १६ हजार ५८

२०७६ : ३६ लाख १२ हजार ८ सय ७५

२०७५ : १६ लाख ४५ हजार ९ सय ६९

 स्रोत : नेपाल दूरसञ्चार प्राधिकरण

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully