‘अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि भएन’

असार ३१, २०८२

कान्तिपुर संवाददाता

”Increasing informal sector did not increase production and revenue”

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि हुन नसकेको बताएका छन् । महासंघद्वारा काठमाडौंमा आयोजित ‘नेपालको सन्दर्भमा औपचारिकीकरणको प्रगति र महत्त्व’ विषयक कार्यक्रममा उनले अनौपचारिक क्षेत्रलाई औपचारिक बनाइए प्रतिस्पर्धात्मक क्षमतासमेत बढ्ने जनाए । 

‘अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा वृद्धि हुन सकेको छैन । हाम्रो अनौपचारिक क्षेत्र औपचारिक बनेपछि प्रतिस्पर्धात्मक क्षमतासमेत बढ्छ,’ ढकालले भने, ‘तर नेपालमा व्यवसायको दर्ता प्रक्रिया जटिल र महँगो भएको कारण पनि धेरै वटा व्यवसाय नियमनको दायरामा आउन चाहँदैनन् ।’

नियमनको दायरामा आइसकेकालाई झन बढी नियम थपिरहेको उनले बताए । ‘ इन्सेन्टिभ दिएर वा कसरी हुन्छ अनौपचारिक क्षेत्रलाई नियमनको दायरामा ल्याउनु पर्छ,’ उनले भने, ‘व्यवसायको औपचारिकीकरण विकल्प होइन्, अनिवार्य हो ।’

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन र घरेलु कामदारलाई औपचारिकीकरण गर्न नसकिएको बताए । ‘सामाजिक सुरक्षा कोषमा दर्ता हुनका लागि निश्चित प्रतिशत रोजगारदाताको पनि योगदान हुन्छ । तर अनौपचारिक क्षेत्रका श्रमिकको रोजगारदाता नै पहिचान हुन नसक्दा उनीहरूको औपचारिकीकरण गर्न सकिएको छैन,’ उनले भने । अनौपचारिक क्षेत्रका श्रमिकलाई औपचारिकीकरण गर्न विभिन्न अध्ययन गरी छलफल भइरहेको उनले सुनाए ।

पूर्वसचिव महेश दाहालले विकासोन्मुख र अल्पविकसित मुलुकहरूको अनौपचारिक अर्थतन्त्र समस्याका रूपमा रहेको बताए । ‘कुल गार्हस्थ उत्पादनमा ३९ प्रतिशत योगदान अनौपचारिक क्षेत्रको छ, ’ उनले भने, ‘७१ लाखले रोजगारी पाइरहँदा ६० लाख अनौपचारिक क्षेत्रमा छन् ।’

आन्तरिक श्रम प्रशासनलाई व्यवस्थित गर्नका लागि श्रम ऐन तथा नियमावली, ट्रेड युनियन ऐन तथा नियमावली, बोनस ऐन तथा नियमावली, बालश्रम (निषेध र नियमित गर्ने) ऐन तथा नियमावलीजस्ता कानुनी व्यवस्था गरिएको भए पनि अनौपचारिक क्षेत्रका श्रमिकका लागि यी कानुन कार्यान्वयन गर्न सकिएको छैन ।

अर्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) राष्ट्रिय कार्यक्रम संयोजक सौरभ शाहले अनौपचारिक क्षेत्रमा महिला बढी हुने बताए । ' अनौपचारिक क्षेत्रलाई औपचारिक बनाउन केहि इन्सेन्टिभहरु दिनुपर्छ,' उनले भने ।

अनौपचारिक क्षेत्रको श्रमलाई क्रमशः औपचारिक क्षेत्रमा रूपान्तरण गर्दै श्रमिकको लगत अद्यावधिक गर्नुका साथै सामाजिक सुरक्षाको हकको प्रत्याभूति गर्न आवधिक योजना र नीति तथा कार्यक्रममार्फत सरकारले विशेष जोड दिँदै आएको छ । त्यस्तै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई औपचारिकीकरण गर्न राष्ट्रिय रणनीति तर्जुमा गरी कार्यान्वयनमा समेत ल्याइएको छ । तर यी प्रयासको नतिजा भने अपेक्षित रूपमा देखिन सकेको छैन । अहिले पनि अर्थतन्त्रमा करिब ४२ प्रतिशत अनौपचारिक क्षेत्र रहेको त्रिभुवन विश्वविद्यालयको अध्ययनमा उल्लेख छ ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई औपचारिक बनाउने प्रयासका रूपमा अहिले राष्ट्रिय औपचारिकीकरण कार्यक्रमसमेत सञ्चालनमा छ । नेपालको श्रम बजारलाई पूर्णरूपमा औपचारिक क्षेत्रमा परिणत गर्ने गरी सरकार र निजी क्षेत्रसमेतको सहकार्यमा अघि बढिरहेको यो कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लेसमेत सहयोग गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully