नेप्सेमा ‘क्लोजिङ इफेक्ट’, उधारो तिर्न लगानीकर्तालाई सेयर बिक्रीको दबाब

नेप्से ३५.०९ अंकले घटेर २ हजार ७ सय २५.७१ बिन्दुमा, ब्रोकरले उधारोमा सेयर खरिद गर्न नदिएको र बक्यौता भुक्तानीका लागि लगानीकर्तालाई सेयर बिक्रीको दबाब परेकाले नेप्से घटेको दाबी 

असार ३१, २०८२

कान्तिपुर संवाददाता

'Closing effect' in NEPSE, pressure on investors to sell shares to repay loans

काठमाडौँ — आर्थिक वर्ष सकिन दुई दिन मात्र बाँकी रहँदा सेयर बजारमा ‘क्लोजिङ इफेक्ट’ को असर देखिएको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार २९ अंकले बढेको नेप्से सोमबार एकाएक ३५ अंकले घटेपछि ब्रोकरहरूले यसलाई ‘क्लोजिङ इफेक्ट’ का रूपमा विश्लेषण गरेका छन् । 

ब्रोकर र लगानीकर्ता दुवैले आर्थिक वर्षको अन्त्यमा हिसाब मिलान गर्नुपर्ने भएकाले ब्रोकरले उधारोमा सेयर किन्न दिँदैनन् (सेयर कारोबारका लागि दिइएको अधिकतम सीमा) भने लगानीकर्ताले तिर्न बक्यौता भुक्तानी गर्नुपर्ने हुन्छ । ब्रोकरबाट उधारोमा सेयर किन्न नपाइने र बक्यौता भुक्तानीका लागि सेयर बिक्री गर्नुपर्ने भएकाले समग्र सेयर बजारमा आउने गिरावटलाई प्राविधिक भाषामा ‘क्लोजिङ इफेक्ट’ भनिन्छ । 

गत शुक्रबार जारी आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितोमा प्रवाह हुने व्यक्तिगत कर्जाको सीमा २५ लाख रुपैयाँ पुर्‍याएको छ । बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने, स्प्रेड घट्ने, कर्जा प्रवाह क्षमता बढ्नेलगायत नीति मौद्रिक नीतिले अवलम्बन गरेको छ । यी व्यवस्थाका कारण आइतबार बैंक तथा वित्तीय संस्था सूचीकृत रहेका उपसमूहको परिसूचक सबैभन्दा धेरैले बढेको थियो । 

तर सोमबार तिनै उपसमूहको परिसूचक धेरैले घटेको छ । बजारका लागि मौद्रिक नीति अनुकूल भए पनि नेप्सेको वृद्धि किन एकै दिन टिक्न सकेन भन्ने प्रश्न उब्जिएको छ । ‘आर्थिक वर्षको अन्त्य भएकाले धेरै ब्रोकरले लगानीकर्तालाई उधारोमा सेयर खरिद गर्न दिएका छैनन् भने बक्यौता भुक्तानी गर भनिरहेका छन्,’ स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले भने, ‘उधारोमा सेयर खरिद गर्न नपाएको र बक्यौता भुक्तानीका लागि लगानीकर्तालाई सेयर बिक्रीको दबाब परेकाले सोमबार नेप्से घटेको हुन सक्छ ।’ 

अहिले सेयर बजार घट्नुको मुख्य कारण नै यही रहेको उनको भनाइ छ । ‘आगामी वर्षको मौद्रिक नीति सेयर बजारका लागि नराम्रो छैन तर नेप्से धेरै बढेन । यसको कारण आर्थिक वर्षको अन्त्य भएकाले हो,’ उनले थपे, ‘आर्थिक वर्ष अन्त्यको असरले सम्भवतः मंगलबार र बुधबार पनि बजार केही घट्न सक्ला तर आउँदो आइतबारदेखि सेयर बजारले वृद्धिको बाटो समात्ने अनुमान गर्न सकिन्छ ।’ 

सोमबार नेप्से ३५.०९ अंकले घटेर २ हजार ७ सय २५.७१ अंकमा ओर्लिएको छ । यो गिरावट अघिल्लो दिनको तुलनामा १.२७ प्रतिशतले कम हो । आइतबार बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, सामूहिक लगानी कोषलगायत उपसमूहको परिसूचक केही धेरैले बढेका थिए । सोमबार तिनै उपसमूहको परिसूचक धेरैले घटेपछि समग्र नेप्सेमा ३५ अंकको गिरावट आएको हो । 

सोमबार कारोबारमा आएका मध्ये ५० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको घटे । यस दिन ७२ हजार ६ सय १ पटक सेयर कारोबार हुँदा २ करोड ११ लाख २ हजार ५ सय ४० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा सोमबार झन्डै सवा ३ अर्बले सेयर कारोबारमा कमी आएको हो । आइतबार ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सोमबार कारोबार आएका मध्ये जलविद्युत्बाहेक सबै उपसमूहको परिसूचक घटे । तीमध्ये बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा बढी २.४६, विकास बैंकको १.४८, फाइनान्स कम्पनीको १.१३, लगानीको १.२५, लघुवित्तको १.२३, निर्जीवन बिमाको १.०५, जीवन बिमाको १.३६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहका परिसूचक पनि घटे । तर सो दिन जलविद्युत् उपसमूहको परिसूचक ०.१५ प्रतिशतले सकारात्मक रहेको नेप्सेले बताएको छ ।

कान्तिपुर

Link copied successfully