काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३५ अंकले घटेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार २९ अंकले बढेको नेप्सेको वृद्धि सोमबारसम्म पनि टिकेन । जसअनुसार सोमबार नेप्से ३५.०९ अंकले घटेर २ हजार ७ सय २५.७१ अंकमा ओर्लेको छ ।
यो गिरावट अघिल्लो दिनको तुलनामा १.२७ प्रतिशतले कम हो । आइतबार बैकिङ, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, सामुहिक लगानी कोषलगायत उपसमूहको परिसूचक केही धेरैले बढेका थिए । सोमबार तीनै उपसमूहको परिसूचक धेरैले घटेपछि समग्र नेप्सेमा ३५ अंकको गिरावट आएको हो ।
सो दिन कारोबारमा आएकामध्ये ५० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको घटे ।
सोमबार ७२ हजार ६ सय १ पटक सेयर कारोबार हुँदा २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब १७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा सामेबार झण्डै सवा ३ अर्बले सेयर कारोबारमा कमी आएको हो । आइतबार ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
