साढे ११ अर्ब रुपैयाँको कारोबार, १.०६ प्रतिशतले बढेर नेप्से २७ सय ६० दशमलव ८० बिन्दुमा
काठमाडौँ — आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी भएपछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से २९ अंकले बढेको छ । यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत् र लगानीबाहेक ११ उपसमूहको परिसूचक बढेको छ । यीमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र सामूहिक लगानी कोष उपसमूहको परिसूचक धेरैले बढेपछि आइतबार दोहोरो अंकको वृद्धि सम्भव भएको हो ।
यी सबै बैंक तथा वित्तीय कम्पनी हुन् । मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको नाफा बढ्ने, व्यवसाय विस्तार हुने देखिएपछि लगानीकर्ता यस समूहमा झुम्मिएका हुन् । पछिल्लो तीन कारोबार दिनयता सेयर कारोबार मापक नेप्से परिसूचक वृद्धिले निरन्तरता पाएको छ । आइतबार एक दशमलव शून्य ६ प्रतिशतले बढेर नेप्से २७ सय ६० दशमलव ८० बिन्दुमा उक्लिएको छ । नेप्से गत बुधबार २२.०४ र बिहीबार २५.८९ अंकले बढेको थियो ।
आइतबार कुल १५८ कम्पनीको सेयर मूल्य बढ्यो भने ९० कम्पनीको मूल्य घट्यो । गत शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएको थियो । यसले सेयर बजारमा ठूलै उत्साह ल्याउने अपेक्षा गरिएको थियो । तर बजारमा त्यस किसिमको उत्साह देखिएन ।
आइतबार बजार खुलेको २ मिनेटमा नेप्से २९ सय ९७ दशमलव ५८ बिन्दुमा पुगेको थियो । तर नेप्से बन्द हुँदा २७ सय ६० दशमलव ८० बिन्दुमा कायम भएको छ । कुल १ लाख ५ हजार ४१५ पटकको कारोबारबाट ११ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन यही असार ५ यताकै उच्च कारोबार भएको छ । असार ५ मा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर किनबेच भयो ।
समग्र नेप्से परिसूचक बढे पनि जलविद्युत्, लगानी, निर्जीवन बिमा अन्य र व्यापार उपसमूह घटे । लघुवित्त र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । लघुवित्त १७३.२२ र विकास बैंक ८३.३८ अंकले बढे । बैंकिङ ४९.०९, फाइनान्स ४६.७४, होटल तथा पर्यटन ३३.३४ र उत्पादन तथा प्रशोधन २३.०१ अंकले बढेको छ । निर्जीवन बिमा ४३.०४, जलविद्युत् २९.६२, व्यापार १०.९९ र अन्य उपसमूह ६.४८ अंकले घट्यो । एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । जीवन विकास लघुवित्तको ९.६१, नेस्डो समृद्धि लघुवित्तको ७.३० र समाज लघुवित्तको ६.५० प्रतिशतले सेयर मूल्य बढ्यो ।
हिमालयन हाइड्रोपावरको ९.३३, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ७.३४, भगवती हाइड्रोपावरको ६.९३, पञ्चकन्या माई हाइड्रोपावरको ५.३६ र न्यादी हाइड्रोपावरको ४.७१ प्रतिशतले मूल्य घट्यो । यी कम्पनीका लगानीकर्ताहरूले आफ्नो सम्पत्तिको मूल्य गुमाए । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सानिमा बैंक र सीईडीबी होल्डिङ्स अघि रह्यो । एनआईसी एसिया बैंकको ३७ करोड १४ लाख, बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड ५३ लाख, सानिमा बैंकको २५ करोड १८ लाख र सीईडीबी होल्डिङ्सको २४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्से बढ्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ४८ अर्ब ७९ करोड ८३ लाख रुपैयाँले वृद्धि भएको छ । गत बिहीबार ४५ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार बढेर ४६ खर्ब ३७ करोड रुपैयाँमा कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेका रूपमा विश्लेषण गरिन्छ ।
