साना-ठूला सबै रकमको बिमाशुल्कलाई प्राथमिकता दिन कम्पनीलाई प्राधिकरणको निर्देशन  

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Authority's direction to companies to give preference to insurance premiums of all amounts, large and small

काठमाडौँ — साना ठूला सबै रकमको बिमा शुल्क संकलनलाई प्राथमिकता दिन बिमा प्राधिकरणले कम्पनीहरूलाई निर्देशन दिएको छ । आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षका लागि योजना बनाउन अहिले कम्पनीहरू तल्लिन रहेकाले प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

‘बिमा कम्पनीहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बिमाशुल्क भुक्तानी हुने बिमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेको छ,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ, ‘ कम्पनीहरू ठूलो रकमको बिमाशुल्क सङ्कलनमा केन्द्रित हुँदा बिमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न सकेको छैन ।’

यही कारण बिमा अवधि नपुग्दै बिमालेख व्यतित तथा समर्पण हुनेलगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवं भरपर्दो बिमा सेवा प्रवाहमा चुनौती थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको प्रवक्ता सुशीलदेव सुवेदीले बताए ।

प्राधिकरणले जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य (आवधिक रूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य) निर्धारण गर्दा प्रथम बिमाशुल्कका अतिरिक्त नवीकरण बिमाशुल्क तथा म्यादी जीवन बिमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।

सबै जीवन बिमा कम्पनी र लघुजीवन बिमा कम्पनीलाई जारी गरेको परिपत्रमा प्राधिकरणले ‘आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा/शाखा/प्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बिमा शुल्कका अतिरिक्त नवीकरण बिमाशुल्क तथा म्यादी जीवन बिमाशुल्कलाई समेत अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न’ निर्देशन दिएको बताइएको छ । 

कान्तिपुर

Link copied successfully