कृषि कर्जामा विशेष सहुलियत

असार २८, २०८२

कान्तिपुर संवाददाता

Special concession on agricultural loans

काठमाडौँ — न्यून र मध्यम आय भएका घरपरिवारको जीवनस्तर सुधारमा सहयोग गर्न राष्ट्र बैंकले विशेष व्यवस्था ल्याएको छ । कृषि तथा लघु घरेलु साना र मझौला व्यवसायका लागि १० लाखसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।

यसरी प्रवाह हुने १० लाखसम्मको कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिने शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उल्लेख छ ।

तीन करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला उद्यममा प्रवाह भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रवाह हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइने नीतिमा जनाइएको छ । यी व्यवस्थाले साना कृषि कर्जालाई प्रोत्साहन गर्न सस्तो ब्याजदरको कर्जा प्रवाह गर्ने नीतिमा उल्लेख छ । 

खाद्यान्न बाली पशुपन्छी, माछापालन लगायत कृषि व्यवसायसँग सम्बन्धित कार्य गर्न व्यक्ति वा व्यावसायिक फर्मलाई फसल तथा उत्पादनको प्रकृतिसँग तालमेल हुने गरी विभिन्न अवधि र प्रकृतिका कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई थप सरलीकरण गरिने नीतिमा जनाइएको छ । कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्र थपिने गरी पुनरावलोकन गरिने नीतिमा उल्लेख छ । 

‘दुई करोडसम्मको लघु घरेलु साना तथा मझौला उद्यम, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्थामा कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्र थप गर्ने गरी पुनरावलोकन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘यो व्यवस्था २०८१ साउन १८ मा परिपत्र भई कार्यान्वयनमा आइसकेको छ ।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका जातका कृषि उपजको उत्पादन बढाउन बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा सहजीकरण गर्ने पनि नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिअनुसार २०८२ वैशाख मसान्तमा वाणिज्य बैंकबाट लगानी रहेका कुल कर्जामध्ये कृषि क्षेत्रमा ६ खर्ब ४७ अर्ब ८५ करोड छ । यो रकम कुल कर्जाको १३.९ प्रतिशत हो । विकास बैंकहरूबाट कृषि, लघु, घरेलु तथा साना उद्यम व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको १ खर्ब ३२ अर्ब ८८ करोड कर्जा लगानी भएको छ । यो रकम कुल कर्जा लगानीको २६.४ प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले बर्खे बालीको उत्पादन बढ्ने पनि जनाएको छ । यस वर्ष समयमै मनसुन भित्रिएकाले धानलगायत वर्षे बालीको उत्पादनमा सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकको अनुमान छ । 

कान्तिपुर संवाददाता

Link copied successfully