पाल्पा — पाल्पाको रामपुर नगरपालिका–८, भुजातकी कृष्णा शाही ठकुरीको खेतमा मकै पाकेर बोटसमेत सुकिसक्यो । आकाशे पानीको भरमा धानको ब्याड राखेकी भएकी उनलाई खेत रोप्न पानीको अभाव छ ।
‘खोला, खोल्सीबाट मुहान थुनेर ल्याएको थोरै पानीले आली कुना गर्दैछु,’ खेतमा आली लगाउँदै गर्दा भेटिएकी ठकुरीले भनिन्, ‘हामीले सञ्चारमाध्यमको समाचार पत्याउँदा छिट्टै ब्याड राखौं । अहिले ब्याड बुढो भयो, पानी पर्दैन ।’
आकाशबाट पानी परेपछि टेक्टर लगाउन सहज होस् भनेर चर्को घाममा पनि आली लगाउन नछाडेको उनले बताइन् । उनले सञ्चारमाध्यमले यसवर्ष औषत भन्दा बढी वर्षा हुने जानकारी गराएकाले छिट्टै धान रोप्न पाइने भएर चाँडै ब्याड राखेको बताइन् ।
आकाशबाट पर्याप्त पानी नपर्दा बेलैमा धान रोप्न नपाएर चिन्तित भएकी ठकुरीले विगतमा मध्य असारभित्रै रोपाइँ सकेको सम्झँदै यस पटक असार बित्नै लाग्दा खेत रोप्न नपाएकामा चिन्ता व्यक्त गरिन् । रामपुर नगरपालिका–७, का चन्द्रराज गौतमको खेत आली कुना गरेर सकिएको छ ।
मलका लागि प्रयोग हुने ढइचा पनि हुर्केर बुढो हुन लागि सक्यो । तर खेतमा टेक्टर लगाउन नपाएर गौतम चिन्तित छन् । ‘सिँचाइका लागि सामान्य कुलो छ, तर खोला, खोल्सीमा पानी छैन,’ उनले भने, ‘विगतका वर्षमा जेठ अन्तिम सातादेखि असारको पहिलो साता नै रामपुरको नहर चल्ने र खोलाका कुलोमा पानी बग्ने गर्दथ्यो । यसपटक भने खोल्सा, खोलामा पानी नै छैन ।’
ठकुरी र गौतम मात्र होइन, जिल्लाको पूर्वी भेगमा पर्ने हुँगी, गेझा, भुजात, रामपुर, दर्छा, गल्धा, गाडाँकोट, अरुणखोला, लाम्दीखोला लगायत धान उत्पादन हुने हजारौं रोपनी बढी खेतमा समयमै रोपाइँ हुन सकेको छैन ।
किसानका अधिकांश खेतका मकै पाकिसकेका छन् । मलको रुपमा प्रयोग हुने ढइँचा बुढा हुन लागिसकेका छन् । तर खेत हिल्याउन पानीको अभाव छ । आली कुना गरेर राखेका प्रशस्त खेतमा गरा भरिने गरी आकाशबाट पानी नपर्दा ब्याडमा बीउ छिप्पिइसकेको छ ।
‘सिँचाइका लागि सरकारी सहयोग नै कम छ,’ रामपुरका गौतमले भने, ‘नहरको सिँचाइ पनि समयमा चल्न सक्दैन । बजेट कमीले गर्दा मर्मत सम्हार राम्रो हुन सक्दैन । नहर नलाग्ने क्षेत्रका लागि आकाशको पानी नपर्दा थप समस्या छ ।’
आकाशे पानी पर्याप्त नपर्दा पाल्पाका ४५ प्रतिशत बढी खेतमा असारको अन्तिमसाता बित्दासमेत किसानले धान रोप्न पाएका छैनन् । रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायण गैरेले रामपुर नगरपालिका क्षेत्रमा बढीमा २५ प्रतिशत मात्र धान रोपाइँ भएको बताए । सिँचाइ कुलोको अभाव, खोला तथा खोल्सीमा पानीको स्रोत बढ्न नसक्दा खेत रोप्न ढिला भएको उनले बताए ।
‘नहर, खोला, खोल्सामा पानी नै नभएपछि खेत रोप्न पाएका छैनन्,’ उनले भने, ‘मनसुन भित्रिएको समयमा परेको वर्षाले धानको ब्याड राखे पनि रोप्ने बेलामा पानी नै नपर्दा थप समस्या भएको छ ।’
अन्नभण्डारका रुपमा चिनिएका रामपुर नगरपालिकाका विभिन्न स्थान, निस्दी गाउँपालिका, तानसेन नगरपालिकाका केही स्थानका साथै कालीगण्डकी तटीय क्षेत्रका ७५ प्रतिशत खेत अझैसम्म बाँझै छन् । ‘आकाशको पानी नपर्दा रोप्ने खेत धेरै भएकाले पनि समस्या भएको हो,’ निस्दी गाउँपालिका–४, मित्यालका खड्गसिंह गाहाले भने, ‘ठूला खोलासमेत अझै बढ्न सकेको छैन । त्यसैले कतिपयले जेनतेन खेत रोपेका छन् । कतिपयले आली कुना गरेर राखेका छन् ।’
पर्याप्त आकाशे पानी नपर्नु र सरकारले सिँचाइ कुलोमा सहयोग नगर्दा हरेक वर्ष यस्तै पीडा खेप्न किसान बाध्य छन् । खोला, खोल्साका पानीसमेत लिफ्ट गरेर पिउनका लागि लैजाँदा थप समस्या भएको हो । वर्षा याममासमेत आकाशबाट पर्याप्त पानी नपर्दा किसानलाई हरेक वर्ष समस्या थपिँदै गएको रामपुर नगरपालिका–१०, गेझाका हुमबहादुर गाहाले बताए ।
‘सिँचाइ कुलोमा लगानी नहुँदा किसानले जहिलेसुकै पीडा नै छ,’ उनले भने, ‘त्यसैले आकाशको पानी कतिबेला पर्ला र खेती लगाउँला भनेर बस्नुपर्ने बाध्यता छ ।’ कतिपय नहर, कुलो पुराना र जीर्ण हुँदै गएका छन् । आकाशे पानी कुर्नपर्ने बाध्यताले पाल्पाका किसानले समयमै धान रोप्न पाएका छैनन् ।
अघिल्लो वर्ष असारको पहिलो सातादेखि नै पर्याप्त पानी परेको थियो । गत वर्ष यही समयमा ७२ प्रतिशत बढी रोपाइँ भएको थियो । यो वर्ष भने अहिलेसम्म ५२ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र, पाल्पाले जनाएको छ ।
जिल्लाका सबै स्थानमा पर्याप्त पानी नपर्दा रोपाइँ गर्न ढिला भएको ज्ञान केन्द्रका प्रमुख अरविन्दमणी त्रिपाठीले बताए । जेठको तेस्रो साता सामान्य पानी परे पनि त्यसपछि खोला, खोल्सा बढ्ने गरी पानी पर्न सकेको छैन । मूल सुकेकाले रोपाइँ गर्न थप ढिलाइ भएको हो । रोपाइँ गर्न किसान तयारी अवस्थामा रहे पनि पानी नहुँदा समस्या भएको उनले बताए ।
‘अधिकांश स्थानमा सिँचाइको पूर्वाधार बन्न नसक्दा रोपाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘कृषि ज्ञान केन्द्रले न्यून बजेटमा साना सिँचाइका योजना सञ्चालन गरे पनि पर्याप्त छैन । त्यसैले सिँचाइका लागि किसानलाई समस्या नै छ ।’ धान उत्पादनका लागि उर्वर माडी र झडेवामा भने पर्याप्त रोपाइँ भएको छ । तर रोपेको धानमा पानी नपर्दा सुख्खा लागेको छ । जति रोपाइँ भएका छन् ती सबै कुलो र आकाशे पानीको भल छोपेर सम्भव भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कुल खेतीयोग्य ५७ हजार १७२ हेक्टर मध्ये आठ हजार २१० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । धान खेती हुने ३५ प्रतिशतमा मात्र सिँचाइ सुविधा छ ।
