काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उपभोक्ता र व्यवसायीहरूले सरकार कर नीतिमा ‘अप एन्ड डाउन’ गरिरहेको, जसले विश्वासमा समस्या ल्याएको भन्ने गुनासो गर्ने गरेको उल्लेख गरे।
उनले अब विश्वासका साथ रहन आग्रह गर्दै कर नीतिहरू बारम्बार परिवर्तन हुने आशङ्का नगर्न अनुरोध गरे।
उनले करको दायरा बढाउन जरुरी रहेको पनि बताएका छन्। सरकार मूलतः एउटा कर नीति र करका दरहरूमा सापेक्षित स्थिरताको पक्षमा रहेको र त्यसैअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन्।
उपप्रधानमन्त्री पौडेलले भने, ‘पछिल्लो समय उपभोक्ता र व्यवसायीहरूमा कर नीतिप्रति आशङ्का देखिएको छ। सरकारले अप एन्ड डाउन गरिरहन्छ भन्ने शङ्का गरिएको छ। तर त्यो शङ्का गर्नुपर्ने अवस्था छैन। हामी स्थिर कर नीतिको पक्षमा छौँ। करको दायरा बढाउन जरुरी छ। करका दरहरूमा सामूहिक परिमार्जन आवश्यक पर्न सक्छ, तर नीति स्थिर राख्नेतर्फ हाम्रो जोड छ।’
उनले जलविद्युत् उत्पादन प्रवर्द्धन गर्ने र लचिलो नीति ल्याउने काम विगतमा गरिएको उल्लेख गर्दै उक्त क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित गर्न अनुकूल नीति ल्याउने पनि स्पष्ट पारे।
