काठमाडौँ — नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक स्थायित्व र पुनरुत्थानको मार्गप्रशस्त गरेको बताएका छन् ।
राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार ल्याएको मौद्रिक नीतिमाथि टिप्पणी गर्दै सांसद बजगाईंले यस्तो बताएका हुन् ।
'नीतिगत दर र करिडोर दर घटाउँदै खपत र लगानीलाई प्रवर्द्धन गर्ने निजी क्षेत्रमा १२ प्रतिशत बढी कर्जा प्रवाह गर्ने, घर कर्जा र सेयर धितो कर्जामा छुट दिने, तथा डिजिटल वित्तीय पहुँचलाई बलियो बनाउन नयाँ संरचना ल्याउने जस्ता प्रबन्ध समावेश छन्,' उनले भने, 'यसले आर्थिक स्थायित्व र पुनरुत्थानको मार्ग प्रशस्त गरेको छ।'
कम ब्याजदर र अधिक तरलताको कारण पर्यटन, जलविद्युत्, सेयर बजार, र साना/मझौला उद्यम आदिमा अवसरहरू सृजना भइरहेको उनले बताए । जलविद्युत् कर्जामा ब्याज पुँजीकरण सहज भएकाले ऊर्जा क्षेत्रका परियोजनाहरूमा राहत पुगेको सांसद बजगाईंको भनाइ छ। सेयर बजारमा पनि मार्जिन कर्जा सीमा वृद्धिले लगानीकर्तामा विश्वास र बजार पुँजीकरण बढाउने काम गरेको उनले सुनाए ।
'नेपालको पूर्वरूपलाई मात्र स्थिर बनाएन, बरु नयाँ सम्भावनाहरू खुलाउँदै अर्थतन्त्रको पुनरुत्थानलाई सशक्त बनाइरहेको छ,' उनले भने, 'गभर्नर पौडेलको लोकतान्त्रिक र दूरदर्शी नेतृत्वले यही विश्वास र आशा प्रवर्द्धन गर्नेछ। मौद्रिक नीतिले अर्थशास्त्रीको नाममा प्रदूषित टिप्पणी गर्ने, 'देशभित्र उधम गर्नेले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गरेर भाग्छन्' भन्ने झुठो अफवाह फैलाउनेहरूलाई झापड हानेको छ।'
