बर्खाले बाटो बिग्रिएपछि शुक्लाफाँटामा सफारी बन्द

असार २६, २०८२

भवानी भट्ट

Safari closed in Shuklaphanta after the road was damaged by rain

कञ्चनपुर — वर्षाका कारण निकुञ्जभित्रको बाटो बिग्रिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द गरिएको छ । सफारी गर्न जाने क्रममा बाटोमा हिलो भएर गाडी फस्दा पर्यटकले दुःख पाउन थालेपछि सफारी बन्द गरिएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए ।

सफारी गर्ने मुख्य रुट निकुञ्जको हेडक्वार्टर मझगाउँदेखि घाँसे मैदान र उक्त क्षेत्र आसपासको सडक बिग्रिएको छ । जसका कारण सफारी गएका गाडी फस्ने र उद्धार गर्नै गाह्रो हुन थालेपछि बन्द गरिएको हो ।

‘गाडी फसेपछि पर्यटकले दुःख पाउन थाले,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘उद्धार गर्न पनि गाह्रो, एक/दुई पटक त हामीले उद्धार गर्‍यौं ।’ निकुञ्जमा सफारी गर्न बनाइएको प्रायः सडक कच्ची छ । केही स्थानमा ग्राभेल र पानी पिच गरिए पनि कच्ची सडकमा भने हिलोका कारण गाडी चलाउन गाह्रो हुने गरेको छ । 

निकुञ्ज कार्यालयका अनुसार असारमा २४ विदेशीसहित १ सय ११ जनाले जंगल सफारी गरेका छन् । त्यसअघि जेठसम्म ३ हजार ६ सय ११ जना शुक्लाफाँटाभित्र प्रवेश गरेका छन् । ‘निकुञ्जको मुख्य घुम्ने ठाउँ भनेकै शुक्लाफाँटा घाँसे मैदान हो, त्यहीँ जाने बाटो खराब भएपछि गाह्रो हुन्छ,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘बाह्रै महिना सफारी गर्न सकिने सडक नबनेसम्म बर्खामा सफारी गर्न सकिने अवस्था हुँदैन ।’

३ सय ५ वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जका ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान छ । उक्त घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । यहाँ हजारौंको झुन्ड रहेका बाह्रसिंगा हेर्न पर्यटक उक्त स्थानसम्म पुग्छन् । पछिल्लो गणनाअनुसार शुक्लाफाँटामा २ हजार ३ सय बढी बाह्रसिंगा छन् । यसबाहेक बाघ, गैंडा, हात्ती, कृष्णसार, चित्तललगायत वन्यजन्तु यहाँका प्रमुख आकर्षण हुन् । पछिल्लो गणनाअनुसार निकुञ्जमा ४२ वयस्क बाघ छन् । 

सफारीका लागि निकुञ्जभित्रको बाटो बाह्रै महिना सञ्चालन गर्न सकिने गरी निर्माण गर्न यहाँका पर्यटन व्यवसायीदेखि सरोकारवालाले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसमक्ष माग गर्दै आएका छन् । तर आवश्यक बजेट विनियोजन नहुँदा त्यस्तो सडक निर्माण हुन सकेको छैन । ‘अब बर्खा सकिएपछि मात्रै सफारी सञ्चालन गर्न सकिन्छ,’ वाग्लेले भने, ‘बीचमा पनि लामो समय खडेरी परे र बाटो सहज भए सफारी खुलाउन सकिन्छ ।’

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully