खाद्य सुरक्षामा जैविक विषादी प्रवर्द्धन

जैविक विषादीको प्रयोगलाई प्रवर्द्धन गर्न पोखरामा जुटे नेपाल, भुटान, बंगलादेश र कम्बोडियाका कृषि विज्ञ

असार २६, २०८२

दीपक परियार

Promotion of Biopesticides in Food Safety

पोखरा — पोखरा–१३ मा रहेको चौधरी कृषि फार्मकी सञ्चालक शकुन्तला चौधरीले १२ वर्षअघि जब तरकारी खेती सुरु गरिन्, तब उनले पनि अन्य कृषकजस्तै रासायनिक विषादीको प्रयोग गर्थिन् ।

तर रासायनिक विषादीले रोग किरा खासै नियन्त्रणमा आएको नदेखेपछि उनले ४ वर्षअघि जैविक विषादी प्रयोग गर्न थालिन् ।

‘पहिले रासायनिक विषादीको प्रयोग गर्थें । यसले रोग किरा खासै नियन्त्रणमा आएको ठानिनँ । अहिले ४ वर्ष जति भयो जैविक विषादी प्रयोग गरिरहेको छु,’ उनले भनिन्, ‘माटोको लागि ट्राइकोडर्मा र किराको लागि प्याज, अदुवा, खुर्सानी मिसाएर झोल बनाएर प्रयोग गरिहेको छु ।’

पोखरामा बिहीबार प्राकृतिक समाधानहरूमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षणसम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशालामा उनले आफ्नो अनुभव सुनाइन् । उनले भनिन्, ‘तालिम लिएपछि जैविक विषादी प्रयोग गर्न सहज भयो ।’

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले प्राकृतिक समाधानहरूमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षणसम्बन्धी परियोजना बंगलादेश, भुटान, कम्बोडिया र नेपाल गरी चार देशमा सञ्चालन गरिरहेको छ । नेपालमा यो परियोजना कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले कार्यान्वयन गरिरहेको छ । उक्त परियोजनाअन्तर्गत नै चार देशका कृषि विज्ञ तथा एफएओका प्रतिनिधि पोखरामा जुटेका हुन् ।

केन्द्रीय कृषि प्रयोगशालाकी प्रमुख शान्ता कार्कीले कृषिमा जलवायु परिवर्तनले ल्याएको प्रकोप, बाढी, पहिरो र जैविक विविधताको ह्रासलाई प्राकृतिक रूपमा आधारित समस्या समाधानका उपायहरूमार्फत न्यूनीकरण गर्ने परियोजनाको उद्देश्य रहेको बताइन् ।

प्रयोगशालाका जैविक विषादी विशेषज्ञ परशुराम अधिकारीका अनुसार सन् २०२३ को अक्टोबरदेखि सुरु भएको यो परियोजना २०२५ को डिसेम्बरसम्म सञ्चालन हुनेछ । यसले सातवटै प्रदेशका १७ जना कृषकहरूलाई जैविक विषादी उत्पादन र प्रयोगमा तालिम दिएको छ ।

कार्यशालामा गण्डकी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्मा जीसी श्रेष्ठले नेपालको कृषि जलवायु परिवर्तन, नयाँ–नयाँ रोग तथा कीराहरूको बढ्दो प्रकोप र प्राकृतिक संसाधनको ह्राससँग जुध्नु परेको भन्दै चिन्ता व्यक्त गरिन् । ‘यस्ता चुनौतीमा केवल रासायनिक विषादीको प्रयोगमा निर्भर भएर गएमा दीर्घकालमा माटो, पानी, स्वास्थ्य र जैविक विविधता जोखिममा पर्छ,’ उनले भनिन्, ‘हामीले प्राकृतिक जैविक नियन्त्रण, वनस्पतिमा आधारित विषादी, परजीवी कीराहरुको प्रयोग, बाली विविधीकरण, र मित्र कीरा मैत्री बाली प्रणालीहरूलाई प्राथमिकता दिँदै गर्नुपर्छ ।’

उनले प्रकृतिमैक्री बाली संरक्षणलाई नीति तथा कार्यत्रममा थप स्पष्ट रूपमा प्राथमिकता दिने, अनुसन्धान तथा विकासका लागि आवश्यक पहलकदमी गर्ने, कृषक र प्राविधिकमा प्रकृतिमैत्री बाली संरक्षणसँग सम्बन्धित प्रविधि विस्तार गर्ने र अन्तर्राष्ट्रिय निकाय, गैरसरकारी संस्था र निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्रालयका सचिव बासुदेव रेग्मीले रासायनिक विषादी प्रयोगले माटोको उर्वराशक्ति घटिरहेको र नसर्ने रोगको जोखिम बढाएको बताए । उनले भने, ‘गण्डकी प्रदेश सरकारले प्रांगारिक मल र जैविक विषादी प्रयोग गर्न प्रेरित गर्ने कार्यक्रम ल्याएको छ । किसानलाई सहयोग गरेको छ ।’

एफएओका एसिया प्रशान्त क्षेत्रका वरिष्ठ कृषि अधिकृत डा.युवकध्वज जीसीले जैविक विषादी उद्योग नेपालमा दर्ता गर्न सहज नभएको बताए । ‘कृषि क्षेत्रमा रासायनिक विषादी कुन मात्रामा प्रयोग भएको छ भन्ने अनुगमन छैन । रोग किराको महामारी आउँदै छ भन्ने पूर्वसूचना प्रणाली पनि छैन,’ उनले भने, ‘प्रकृतिमा आधारित समाधानका उपायहरू सबैको पहुँचमा छ, कृषकलाई उपलब्ध पनि हुन्छ ।’ चारवटै देशले उस्तै समस्या भोगिरहेको, रोग किरा एक देशबाट अर्को देशमा सरिरहेकोले यसको समाधान गर्न समन्वयात्मक कार्य गरेर अगाडि बढ्नुपर्छ ।’

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोलाराज सापकोटाले जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताको विनाशले नेपालको कृषि प्रणाली चुनौतीपूर्ण बनाएको बताए । उनले विज्ञानमा आधारित नवीनतम् उपाय अवलम्बन गर्न तीनवटा उपाय सुझाए । ‘पहिलो उपाय रोग किरा भित्रिन नदिन क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ । यसो गर्दा एक देशबाट अर्को देश र देशभित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा सर्न पाउँदैन । संघ र प्रदेशले यो काम गर्न सके रोग किरा नियन्त्रण धेरै हदसम्म हुन्छ,’ उनले भने । उनले थपे, ‘दोस्रो उपाय राम्रो र भरपर्दो जैविक विषादीको प्रयोग प्रवर्द्धन गर्नुपर्छ । तेस्रो उपाय रासायनिक विषादीको अत्यधिक प्रयोग भएमा सरकारले दण्डित गर्ने व्यवस्था गर्नुपर्छ ।’

शकुन्तला चौधरीजस्तै अन्य कृषकले पनि जैविक विषादी प्रयोगमा सफलता पाएका छन् । उनले भनिन्, ‘जैविक विषादी प्रयोग गरेपछि माटोको गुणस्तर सुधार भएको छ । तरकारीको स्वाद पनि राम्रो आउँछ ।’

एफएओको तालिमले जैविक विषादी प्रयोग गर्न सहज भएको उनको भनाइ छ । उनले भनिन्, ‘पहिले रासायनिक विषादी प्रयोग गर्दा खर्च बढी हुन्थ्यो । अहिले घरैमा बनाएर प्रयोग गर्न सकिन्छ ।’ 

कार्यशालामार्फत चारवटै देशका विज्ञले एकअर्काको सफल अनुभव आदानप्रदान गर्दै जैविक विषादी प्रयोगलाई प्रभावकारी बनाउने लक्ष्य राखेका छन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully