नेप्से फेरि २७ सयमाथि, टेवा बैंकिङ उपसमूहको

सेयर मूल्य बढ्ने कम्पनीमध्ये बैंकिङ उपसमूहका कम्पनी धेरै, यो उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६८ प्रतिशतले वृद्धि 

असार २६, २०८२

कान्तिपुर संवाददाता

NEPSE again above 2700, of Teva Banking Subgroup

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार फेरि २७ सय अंकभन्दा माथि उक्लेर बन्द भएको छ । मंगलबारको तुलनामा २२.०४ अंकले बढेपछि बुधबार नेप्से २ हजार ७ सय ५.९० अंकमा उक्लेको हो । गत आइतबार नेप्से २७ सय अंकमा बन्द भएको थियो । तर सोमबार र मंगलबार बजार घट्दा समग्र नेप्से २७ सयभन्दा तल ओर्लेको थियो । तर, बुधबार फेरि सोही विन्दुमा पुगेको छ ।

सो दिन कारोबारमा आएकामध्ये १ सय ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४९ वटाको मात्र घटेको छ । सेयर मूल्य बढ्ने कम्पनीमध्ये बैंकिङ उपसमूहका कम्पनी धेरै छन् । यो उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६८ प्रतिशतले बढेको छ । 

बैंकिङसँगै जलविद्युत्, बिमा, उत्पादन तथा प्रशोधनलगायत ११ उपसमूहका परिसूचक बढे पनि समग्र नेप्सेमा दोहोरो अंकले बढ्न टेवा पुगेको हो । सो दिन वित्त कम्पनी र सामूहिक लगानी कोषका लगानीकर्ताले भने कमाउन सकेनन् । ती उपसमूहको परिसूचक ऋणात्मक बने । 

पछिल्ला दिनमा प्रायः कारोबार दिनमा नेप्सेमा सुधार देखिएको छ । यति बेला राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । मौद्रिक नीतिमा सेयर बजार वृद्धिका लागि अनुकूल नीति आउने अनुमान गरिएका छन् । सुरुदेखि नै गभर्नर विश्वनाथ पौडेल सेयर बजारप्रति लचिलो देखिएका छन् ।

सोही कारण आउँदो मौद्रिक नीतिमार्फत सेयर बजारमा व्यक्तिगत सेयर कर्जाको सीमा, जोखिमभारलगायत नीति परिमार्जन गर्ने अनुमान लगानीकर्ताले गरेका छन् भने सोहीअनुसारको सुझाव राष्ट्र बैंकलाई दिएका छन् । यसकारण पछिल्ला दिनमा लगानीकर्ताको आत्मविश्वास बढेको ब्रोकरहरूको भनाइ छ । यद्यपि अपेक्षाअनुसार बजार बढ्न नसकेको उनीहरू बताउँछन् । 

बुधबार ६२ हजार ८ सय ८४ वटा कारोबारबाट १ करोड ५८ लाख २२ हजार ९ सय ७० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । मंगलबार ६ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

सो दिन बरुण हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ६.२१ प्रतिशतले बढेको छ । सो कम्पनीको प्रतिकित्ता मूल्य ४ सय ५२ रुपैयाँ पुगेको छ । यस्तै पञ्चकन्या माई हाइड्रोपावरको मूल्य ४.२८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४ सय ६ रुपैयाँ कायम भएको छ । तर ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३ सय ३१ रुपैयाँमा झरेको छ । 

एनएमबी हाइब्रिड फन्डको मूल्य ३.०१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८ रुपैयाँ कायम भएको छ । कारोबार रकमका आधारमा सो दिन राधी विद्युत्को सबैभन्दा अघि छ ।

बुधबार सो कम्पनीको कम्पनीको प्रतिकित्ता ७ सय ९० मा ४६ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा बुटवल पावर कम्पनी छ । उक्त कम्पनीको प्रतिकित्ता ८ सय ३४ मा ३६ करोड ६७ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully