मौद्रिक नीतिमा महासंघको सुझाव ‘वित्तीय क्षेत्रको जोखिम केन्द्रबिन्दुमा राखेर ल्याऊ’

पूर्वाधार निर्माणलाई लक्ष्य गरी योजना सञ्चालन र बजेटमा उल्लिखित कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचनाको व्यवस्थालाई कार्यान्वयन गर्न ठोस कार्यक्रम समावेशमा जोड

असार २५, २०८२

कान्तिपुर संवाददाता

Federation's suggestion on monetary policy is to 'focus on the risks of the financial sector'

काठमाडौँ — अर्थतन्त्रमा देखिएको शिथिलता, वित्तीय क्षेत्रको जोखिम र अनौपचारिक क्षेत्रको ठूलो हिस्सालाई केन्द्रबिन्दुमा राख्दै सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको मनोबल बढाउने मौद्रिक नीति ल्याउन नेपाल उद्योग वाणिज्य महासंघले सुझाव दिएको छ । यसका लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमलाई सम्बोधन गर्ने नीतिगत सुधारको आवश्यकतामा जोड दिन पनि महासंघले भनेको छ । 

महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई दिएको सुझावमा सुशासन र पूर्वाधारको कमीले नीतिगत सुधारको प्रतिफल प्राप्त हुन नसकेको उल्लेख छ । यसकारण महासंघले मौद्रिक नीतिका मुख्य सुझावमा पूर्वाधार निर्माणलाई लक्ष्य गरी योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । 

महासंघले बजेटमा उल्लेखित कर्जा पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्थालाई कार्यान्वयन गर्न ठोस कार्यक्रम समावेश गर्नुपर्ने र यो सुविधा साना, मझौला र ठूला सबै उद्योग–व्यवसायका लागि उपलब्ध गराउनुपर्ने जनाएको छ । यस्तै, थप कार्यशील पुँजी प्रवाह र ब्याज जरिवानामा सहुलियतको व्यवस्था स्पष्ट र प्रभावकारी रूपमा लागू गर्नुपर्ने महासंघको भनाइ छ । 

‘उत्पादनमूलक, पर्यटन, निर्माण उद्योग र आवास विकास कम्पनीहरूका लागि सरल र सुलभ तरिकाले कार्यशील पुँजी कर्जा उपलब्ध गराउन सहजीकरण गर्नुपर्ने, व्यवसायको प्रकृतिअनुसार चालु पुँजी कर्जाको निर्णय गर्ने अधिकार सम्बन्धित बैंक र ऋणीलाई दिनुपर्छ,’ महासंघले भनेको छ, ‘अर्थतन्त्रमा उद्योग क्षेत्रको हिस्सा १२.४ प्रतिशतमा झरेको छ । यस सन्दर्भमा उद्योगहरूले प्राप्त गर्ने कर्जाको ब्याजदर व्यापारको तुलनामा १–२ प्रतिशत कम हुनुपर्छ ।’

सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने सन्दर्भमा लघु, घरेलु, साना र महिलाद्वारा सञ्चालित निर्यातजन्य उद्योगहरूको प्रतिस्पर्धी क्षमता कायमै राख्न सहुलियत कर्जा उपलब्ध गराउने नीतिगत व्यवस्था गर्नुपर्ने, महिला उद्यमशीलता कर्जालाई उत्पादनसँग जोडेर ब्याज अनुदानको व्यवस्थालाई व्यवस्थित गर्न पनि महासंघले भनेको छ ।

५ करोड रुपैयाँसम्मको कर्जामा अधिकतम २ प्रतिशत प्रिमियम दरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने धारणा महासंघका कार्यवाहक अध्यक्ष श्रेष्ठले राखेका थिए । यसैगरी ‘वाच लिस्ट’ को प्रावधानमा सहजीकरण गर्नुपर्ने, युवा उद्यमशीलता प्रवर्द्धनका लागि जेन–जी पुस्तालाई व्यवसायमा आकर्षित गर्न नागरिक एपमार्फत व्यवसाय दर्ता र एक करोड रुपैयाँसम्मको परियोजना कर्जा उपलब्ध गराउन पनि महासंघले सुझाएको छ ।  

हाल रेमिट्यान्स कम्पनीमार्फत आन्तरिक व्रिपेषण पठाउन नपाउने व्यवस्था रहेको र यसले गर्दा न्यून आय वर्ग, विद्यार्थी, अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर, घर बाहिर काम गरिरहेका र दुर्गम क्षेत्रमा बैंक खाता नभएका र स्मार्ट फोनसम्म पहुँच नभएका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित रहेकाले परिचयपत्र हेरी रेमिट्यान्स कम्पनीमार्फत विदेशबाट मनी ट्रान्सफर कम्पनीद्वारा नगद भुक्तानी गर्न पाउने रकमसरह कम्तीमा एक लाख रुपैयाँसम्म आन्तरिक रूपमा पाउने/पठाउने व्यवस्था गर्नुपर्ने महासंघले सुझाव दिएको छ ।

आवासीय घर कर्जाको सीमा २ करोडबाट ३ करोड रुपैयाँ पुर्‍याउन, बजेटमा उल्लेखित केवाईसीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरी विद्युतीय माध्यमबाट सम्बन्धित निकायले प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने पनि महासंघको सुझावमा उल्लेख छ । 

विदेशमा लगानी गर्ने सन्दर्भमा महासंघले नेपाली व्यवसायी/कम्पनीलाई विदेशमा बिक्री शाखा वा प्रशोधन कारखाना खोल्न अनुमति दिने र कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिने बजेटको घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि/विशिष्ट सेवा प्रदान गरेबापत स्वेट सेयर लिन पाउने व्यवस्थालाई स्पष्ट गरी मौद्रिक नीतिमा समावेश गर्न महासंघले सुझाव दिएको छ ।

यस्तै प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा बैंकहरूको लगानीमा अतिरिक्त पुँजी शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने, यस्ता कोषहरूमा गरिएको लगानीलाई निर्देशित क्षेत्रमा कर्जा प्रवाह गरेसरहको मान्यता दिनुपर्ने महासंघको सुझाव छ । उक्त अवसरमा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले अर्थतन्त्रका विद्यमान चुनौती समाधान गर्दै अर्थतन्त्र चलायमान हुने गरी प्रभावकारी मौद्रिक नीति ल्याउन गभर्नर पौडेललाई सुझाएका थिए ।

कान्तिपुर

Link copied successfully