आबुधावी, यूएई — नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो अभियानमा जोडिएर हातेमाले गर्न खाडीमा कार्यरत श्रमिकलाई आग्रह गरेका छन् ।
बहराइनमा उज्यालो अभियानको यात्रा सुरु गरेको घोषणा गरेर यूएई पुगेका घिसिङले नेपालमा निराशा बढेको भन्दै त्यसलाई आशामा बदल्न उज्यालो अभियानमा जोड्न आग्रह गरेका हुन् । ‘नेपालमा विकास हुन्छ । देशको अर्थतन्त्र अगाडि बढ्छ । देश बन्छ । नेपाल ठूलो अवसर भएको देश हो । उर्जाबाट अगाडि बढ्न सकिन्छ । तपाईं/हामी मिलेर देश बनाउने हो । फेसबुक वा टिकटकमा विरोध गरेर मात्रै हुँदैन । सबै प्रतिबद्धता भएर लाग्नुपर्छ,’ यूएईको दुबई र आवुधावीमा आयोजित अलगअलग कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले भने,‘देश बन्छ भन्ने तपाईंहरुको प्रतिबद्धतामा ऐक्यबद्धता जनाउन आएको हो । म हातमा हात मिलाएर तपाईंहरुसँग अगाडि बढ्न तयार छु ।’
उनले उर्जा क्षेत्रमा विकास गरेर देशलाई आर्थिक समृद्धिमा लैजान सक्ने बताए । ‘अहिले नै नेपाल फर्कीहाल्नुपर्छ भन्ने होइन । यहाँबाट पठाएको हरेक व्यक्तिको रेमिट्यान्सको १० प्रतिशतलाई एक हजार ६३ मेगावाटजस्तो अपर अरुण जलविद्युत् परियोजनामा लगानी गर्ने नीति ल्याउनुपर्छ । यसले जलविद्युत् क्षेत्रलाई लगानी गरेर २० वर्षभित्र नै मुलुकलाई आर्थिक समृद्धिमा लैजान सकिन्छ,’ उनले भने, ‘लगानी बढाउन हामीसँग भिजन छ । यो एउटा कर्मचारीबाट हुँदैन । राज्य संयन्त्रबाट हुनुपर्छ । त्यसका लागि विश्वास जित्ने नेताबाट हुन्छ ।’
उनले उज्यालो नेपाल अभियानलाई अगाडि बढाउने मूलश्रोत नै श्रमिक भएको बताए । ‘मेरो सबैभन्दा ठूलो शक्तिको स्रोत तपाईहरु हो । देश विदेशबाट जुन सम्मान र अभिनन्दन पाइरहेको छु, मेरो पक्षमा बोलिरहेको छ । यो नै मेरो ठूलो आत्मविश्वासको स्रोत हो,’ उनले भने, ‘सरकारले ममाथि के गरेको छ, त्यसलाई मैले हेरेको छैन ।’
घिसिङले विभिन्न समयमा आफूले मुलुकको ऊर्जा क्षेत्रमा लिएको नेतृत्व र उपलब्धिको उच्च मूल्यांकन हुनुको साटो, राज्यबाट अपमानजनक व्यवहार भोग्नु परेको बताएका छन् । ‘मैले जुन बेला देशको लागि केही काम गर्छु, केही सफलता ल्याउँछु, त्यही बेला मलाई अन्यायपूर्वक र अपमानपूर्वक बर्खास्त गरिन्छ । यो एक पटक होइन, दुई पटक होइन, धेरै पटक भयो,’ उनले भने ।
राज्य संयन्त्रबाट निराशा फैलाउने व्यवहार गर्दै आए पनि उनले आफूसँग रहेको आशा र आत्मविश्वासको दीप मर्न नदिएको बताए । ‘म निरन्तर आशा र आत्मविश्वास जगाउने काम गरिरहेको छु । तर शासन संयन्त्र निराशा दिने काम गरिरहेको हुन्छ,' उनले भने, 'मैले लोडसेडिङ अन्त्य गरेँ । देशभर ९९.९ प्रतिशत विद्युतीकरण भयो । कहिले नाफामा आउँदैन भन्ने विद्युत् प्राधिकरणलाई नाफामा ल्याएँ । भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरें । तथ्यहीन सूचनाका भरमा विद्युत् जस्तो आशालाग्दो क्षेत्रलाई नै निराशा बनाउने प्रयास भइरहेको छ ।’
घिसिङले विदेशमा बस्ने नेपालीले नेपालको अर्थतन्त्र सम्हालिरहेको भन्दै नेपालको समृद्धिको ढोका रेमिट्यान्स, उर्जा र जनताको सहभागितामार्फत मात्र खुल्ने बताए । ‘अहिले वर्षमा झन्डै १४ खर्ब रेमिट्यान्स आउन थालेको छ । जुन जीडीपीको एक चौथाई हो । खाडीबाट मात्रै सात खर्बभन्दा बढी रेमिट्यान्स आइरहेको छ । तर, यस्ता श्रमिकलाई अपमान गरिन्छ । त्यसरी विकास हुँदैन,’ उनले भने ।
