पाँच वर्षदेखि श्रीराम सुगर मिल सञ्चालनको आशामा किसान

बर्सेनि करोडौं घाटा जनाउँदै मिल व्यवस्थापन पक्षले २०७७ साउन १० देखि मिल बन्द गरेको छ

असार २४, २०८२

शिव पुरी

Farmers hoping to operate Sriram Sugar Mill for five years

रौतहट — लामो समयदेखि बन्द गरुडा नगरपालिका–५ स्थित श्रीराम सुगर मिल सञ्चालन हुनेमा किसान आशावादी छन् । पछिल्लो समय मिल सञ्चालकले बैंक, कर्मचारी, सप्लायर्सको दायित्व व्यवस्थापन गर्न सकेको खण्डमा मिल सञ्चालन गर्न सकिने बताएपछि किसान आशावादी भएका हुन् ।

व्यापारिक घराना गोल्छा समूहको स्वामित्वमा रहेको मिल व्यवस्थापन पक्षले करोडौं घाटामा गएको र बाध्यात्मक परिस्थिति जनाउँदै २०७७ साउन १० देखि मिल बन्द गरेको छ । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, उखु किसानको निरन्तर आन्दोलन र सरकारी तवरबाट समेत मिल सञ्चालनका लागि पहल भएपछि व्यवस्थापन पक्षले दायित्व मिलानको समस्या समाधान भएपछि मात्र मिल सञ्चालनको प्रक्रिया अघि बढाइने बताएको छ ।

‘अहिलेकै अवस्थामा मिल सञ्चालन गर्न सकिँदैन । अब नयाँ प्रविधिमा गएर मात्र सञ्चालन गर्नुपर्छ । त्यसका लागि करोडौं खर्च हुन्छ,’ मिलका प्रतिनिधि रमेश दाहालले भने, ‘तत्कालै सञ्चालन हुने भन्ने केही छैन । तर दायित्वको समस्या हल गर्न सकियो भने निकट भविष्यमा सञ्चालन गरिने योजनामा मालिक छन् । यसका लागि सबै कुरा मिल्नुपर्छ ।’ मिल बन्द भएपछि ऋणको अवस्था देखाउँदै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले डेढ वर्षअघि ४३ करोडमा लिलाम निकालेको थियो ।

मिलको पार्टपुर्जा लिलाम सकारेर अवस्था बुझ्न केन्द्रको कर्जा असुली विभागका प्रबन्धक यज्ञमूर्ति बस्यालसहितको टाेली आएको थियो । टोली श्रीराम सुगर मिल परिसर पुग्नासाथ किसानले घेराबन्दी गरे । बैंकले सामानको अवस्था बुझेर लैजाने तयारी गर्नुपर्ने थियो । तर टोलीले सोचेको जस्तो समय अनुकूल भएन । मिल परिसरमा बैंकको टोली पुगेको थाहा पाउनासाथ किसानको समूह घेर्न पुगे । बैंकको टोलीलाई भित्र छिर्नै दिएन ।

इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर बैंकका प्रतिनिधिहरूलाई तत्कालै उद्धार गरेर कार्यालयमा लग्यो । मिलका सामान कुनै हालतमा लैजान नदिने अडानमा किसान थिए । उनीहरूले बैंकले गरेको लिलाम बदरको माग अघि सारे । बैंकको केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार अहिले लिलाम प्रक्रिया बदर गरेर सकार गर्ने व्यक्तिको रकमसमेत फिर्ता दिइसकेको छ ।

बैंकले लिलाम बदर गरेको र मिल सञ्चालक सकारात्मक देखिएकाले पनि आफूहरू आशावादी भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । ‘अझै पनि हामी मिल सञ्चालकलाई कुन हिसाबले सहयोग गर्नुपर्ने हो, त्यो गर्न तयार छौं,’ उनले भने, ‘मिल सञ्चालन गर्न यहाँका किसानहरू सहयोग गर्न तयार छन् । हामी अब खुसी छौं ।’ मिल बन्द भएपछि जिल्लाका किसान एकजुट छन् । उनीहरूले प्रधानमन्त्री, विभिन्न राजनीतिक दल, सांसद, मन्त्री र जनप्रतिनिधि गुहार्दै आएका छन् । उखु उत्पादक संघ रौतहटको अगुवाइमा जिल्लाभरिका किसानले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर गरुडा मिल सञ्चालनका लागि पहल थाल्न अनुरोध गरेका थिए ।

२०४९ सालमा शिलान्यास भई २०५१ सालबाट मिलले उखु क्रसिङ थालेको हो । मिल स्थापना भएदेखि जिल्लामा १६ हजार उखु किसान रहेको उखु उत्पादक संघले जनाएको छ । गोल्छा समूहको स्वामित्वमा रहेको मिल करोडौंको घाटा र बाध्यात्मक परिस्थिति जनाउँदै व्यवस्थापन पक्षले बन्द गरेपछि किसानहरूले पुनः सञ्चालनका लागि आन्दोलन गर्दै आएका छन् ।

हरेक वर्ष उद्योगले करोडौं घाटा बेहोर्दै आएको र उद्योगमा कार्यरत श्रमिक, कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिनसमेत आर्थिक अभाव रहेको भन्दै व्यवस्थापन पक्षले मिल बन्द गर्नुपरेको बताएको छ । २६ वर्ष निरन्तर सञ्चालनमा रहेको मिल बन्द हुँदा सिजनल, रेगुलर र करार गरी ३ सय २५ जना कर्मचारी, मजदुरको रोजगारी गुमेको उखु उत्पादक संघका अध्यक्ष यादवले सुनाए । उनी मिल बचाउ संघर्ष समितिका संयोजकसमेत हुन् ।

संघको अगुवाइमा केही दिनअघि सदरमुकाम गौरमा हातमा उखुको बोट बोकेर जिल्लाभरिका किसानले जिल्ला प्रशासन पुगेर मिल सञ्चालन र अनधिकृत रूपमा गरिएको टेन्डर रद्दको माग राख्दै ज्ञापन बुझाएका थिए । गरुडास्थित चिनी मिल सञ्चालनका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई पटकपटक भेटेर कुरा राखेको मधेश प्रदेशका सांसद कृष्ण यादवले जनाए । ‘हामी अहिले पनि मिल चल्नुपर्छ भन्नेमा छौं,’ उनले भने, ‘किसानका कारणले बन्द भएको होइन । व्यवस्थापनकै कारणले हो । अब सरकारले पनि चाँडै सञ्चालनमा ल्याउन पहल थाल्नुपर्छ ।’

बारा, पर्सा र रौतहटका किसानको एक सिजनामा ३० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने मिलको लक्ष्य थियो । तर पछिल्लो १० वर्षयता १५/२० भन्दा कम क्रसिङ गर्न थालेपछि घाटा सुरु भएको मिल व्यवस्थापन पक्षको दाबी छ । गत वर्ष मिलको अवस्था बुझ्न संघीय संसद्को श्रम हित उपभोक्ता तथा उद्योग समितिका तत्कालीन सभापति एवम् पूर्वश्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सरिताकुमारी गिरी, उमाशंकर अरगरियालगायतका पदाधिकारी रौतहट आएका थिए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully