काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिको रिले अनशन जारी रहेको छ। रत्नपार्कमा २१ दिनदेखि नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिको रिले अनशन जारी रहेको हो।
उनीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै आएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने बताएको छ। समितिले यसले व्यवसायीहरूलाई धेरै मर्का पर्ने बताएको छ।
उनीहरूले कानुनबमोजिम नगदसरह सम्पत्तिको व्यवस्था कार्यान्वयन गर्न, हिरा, जुहारत, पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्रणाली खारेज गरी २५, ५० र १०० ग्रामका सुनका टुक्राहरू प्यान नम्बर र कर चुक्तीकै आधारमा गहना उत्पादक तथा कालिगड र आम व्यवसायीहरूले आफ्नै क्षेत्रमा सहज रूपमा खरिद गर्ने व्यवस्था गर्न माग गरेका छन्।
उपभोक्ता, कर्मचारी, कालिगड तथा व्यवसायीमैत्री ऐन–कानुन निर्माण गर्न माग गरेका छन्।
