पूर्वखोला गाउँपालिकामा खरको छाना भएकालाई करमा पूर्ण छुट

गाउँसभाद्वारा ४८ करोड ८३ लाखको बजेट पारित 

असार २३, २०८२

माधव अर्याल

Full tax exemption for those with thatched roofs in Purvkhola Rural Municipality

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिकाले खरको छाना भएका घरलाई करमा पूर्ण छुट दिने भएको छ । गाउँपालिकाको सम्पन्न १७ औं गाउँसभाले गाउँपालिकाभित्र अझै पनि टिनको छाना नलगाएका परिवारलाई करमा छुट दिने निर्णय गरेको हो । उनीहरुलाई गाउँपालिकाले लिने एकीकृत सम्पत्ति करअन्तर्गत करमा छुट दिन लागेको हो ।

गाउँपालिकामा अझै पनि १ सय ५३ घर खरको छाना भएका परिवार रहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । वडा नम्बर १ सिलुवामा ५१ र २ जल्पामा १ सय २ अझै पनि खरले छाएका घर छन् । गाउँपालिकाको ६ वडा मध्य वडा नम्बर ३ रिङ्नेरह, ४ देवीनगर, ५ बीरकोट र ६ नम्बरको हेक्लाङमा खरका छाना भएका घर छैनन् । 

यो तथ्यांक संघीय आयोजना कार्यान्वयन इकाई भैरहवालाईसमेत पूर्ण विवरण पठाइएको गाउँपालिकाका योजना शाखा अधिकृत विनोद नेपालले बताए । 

गतवर्षको तथ्यांक भएकाले यसवर्ष कतिपयले आफैं टिनको छाना लगाएका छन् । विगतका वर्षमै संघीय सरकारले खरको छानामुक्त गर्ने कार्यक्रम राखेको थियो । पूर्वखोला गाउँपालिकाले विशेष अनुदान अन्तर्गत बजेटसमेत माग गरेको थियो । 

सायद प्राथमिकतामा एक नम्बरमा नहुँदा बजेट नपरेको हुन सक्ने अध्यक्ष थापाले बताए । ठूलो बजेट आवश्यक पर्ने भएकाले गाउँपालिकाले आफैं बजेट विनियोजन गरेको छैन । संघीय सरकारले सामान्यता एक घरलाई ५० हजार अनुदान प्रदान गर्ने मापदण्ड रहेको छ ।

गाउँपालिकाले कम्तीमा ७५ लाख बजेट खर्च हुने भएकाले आफ्नो कार्यक्रममा राखेको छैन । ‘बजेट सीमितताका कारण हाम्रो बजेटबाट अनुदान छुट्याइएन,’ उनले भने, ‘यसमा संघीय वा प्रदेशबाट आउने विशेष अनुदानमा परिन्छ कि भन्ने भएर पनि हो ।’ संघीय सरकारबाट पूर्ण अनुदानमा आउने विशेष अनुदानबाट पालिकाले माग्ने निर्णय भएकाले पनि आफैं बजेट विनियोजन नगरेको हो ।

‘संघीय र प्रदेशको बजेट पाइन्छ भनेर कम प्राथमिकतामा परेको हो,’ उनले भने, ‘आउने दिनमा प्राथमिकतामा राखिने छ ।’

गाउँसभाले पटके व्यवसाय कर पनि हटाएको छ । गाउँपालिकाको सम्पन्न सभाले सूर्तिजन्य पदार्थ व्यवसाय दर्ता/नवीकरण शुल्क १० हजार तोकेको छ । अन्य कर, दस्तुर, शुल्कहरूमा आंशिक परिमार्जन गर्दै अघिल्लो वर्षकै व्यवस्थालाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष थापाले बताए । आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन, न्यायिक अनुगमन, सार्वजनिक लेखा समितिका संयोजकहरूले प्रगति प्रतिवेदन पेस गरेका थिए ।

अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि कूल ४६ करोड ८३ लाख ४४ हजार ९९५ रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ । गत असार ८ गतेदेखि सुरु भएको अधिवेशनमा चार वटा बैठक बसेको प्रवक्ता मेहरसिंह थापाले बताए । अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक, बाल संरक्षण नीति, नीति तथा कार्यक्रम, विनियोजन विधेयक पारित गरिएको छ ।

संघीय समपूरक बजेट अन्तर्गत खल्लुक–भाङ्ज्याङ–बिर्ता सडक स्तरोन्नति योजनाका लागि १ करोड ३५ लाख, प्रदेश समपूरक बजेटअन्तर्गत सेर्काबास–हेकलाङ सडकका लागि ९० लाख, तथा हटिया जनमार्ग मावि सडक स्तरोन्नतिका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् ।

संघीय विशेष बजेटबाट विद्यालय आईसीटी व्यवस्थापनका लागि ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश विशेष बजेटबाट सुन्तला जात फलफूल बगैंचा स्थापना तथा सुदृढीकरणका लागि २ को जल्पा र ५ को बिरकोटमा १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्र सुधारका लागि ७० लाख बजेट विनियोजन गरेको सुचना अधिकारी मोहन ढकालले बताए ।

सभामा व्यवसायिक कृषक, उत्कृष्ट उपभोक्ता समिति तथा उदाहरणीय कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको छ । अधिवेशनमा ५ लाखभन्दा माथिका योजनामध्ये उत्कृष्ट कार्यसम्पादन गरेको तल्लो लेमधेम मोटरबाटो स्तरोन्नति योजना उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार बारघरे र सचिव सुनिता ढेंगालाई पुरस्कृत गरेको छ । 

कार्यक्रम अधिकृत विनोद नेपाल, स्वास्थ्य शाखाका पदमबहादुर थापा दर्लामी, कम्प्युटर अपरेटर मनबहादुर सारु, कृषि शाखाबाट हरिप्रसाद उपाध्याय सिग्देल, वडा सचिव रुमी सरा दिसुवा मगर, र कार्यालय सहयोगी शान्ति आचार्यलाई नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully