भैरहवा : सहर कि पार्किङ स्थल !

बेलहिया सीमा नाकामा अहिले सर्वसाधारणभन्दा भद्रगोल पार्किङ गरिएका गाडी धेरै देखिन्छन् । प्रत्येक दिन दसगजादेखि उत्तर डण्डाखोला पुलसम्म अटोरिक्सा, बस, मोटरसाइकल र मालवाहक गाडीको सडकमा लाम हुन्छ ।

असार २३, २०८२

दीपेन्द्र बडुवाल

Bhairahawa: The parking lot of the city!

भैरहवा — अन्तर्राष्ट्रिय हवाई र स्थल नाकाबाट जोडिएको रुपन्देहीको भैरहवालाई बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा प्रचार गरिन्छ । बेलहिया सीमा नाकाको व्यस्तता र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै भैरहवा ‘हस्पिटालिटी हब’मा परिणत भएको छ । 

हुलाकी राजमार्गअन्तर्गत रुपन्देहीको भैरहवादेखि पश्चिम नवलपरासीको भुमईसम्म नयाँ औद्योगिक करिडोर विकास भएको छ । पर्यटन र कर्पोरेट चहलपहलको केन्द्र बनेको भैरहवा आइपुग्ने जो–कोही यो सहर हो कि पार्किङस्थल द्विविधामा पर्ने गरेका छन् । अव्यवस्थित पार्किङले सहरका कुनै कुना खाली देखिँदैनन् । जहाँ पायो त्यहीँ मोटरसाइकल, गाडीदेखि मालवाहक सवारीका साधन राखिएको देखिन्छ 

बेलहिया सीमा नाकामा अहिले सर्वसाधारणभन्दा भद्रगोल पार्किङ गरिएका गाडी धेरै देखिन्छन् । प्रत्येक दिन दसगजादेखि उत्तर डण्डाखोला पुलसम्म अटोरिक्सा, बस, मोटरसाइकल र मालवाहक गाडीको सडकमा लाम हुन्छ । बेलहियाको पश्चिमपट्टि एकीकृत जाँच चौकी (आईसीपी) निर्माणाधीन छ । जसले गर्दा भारतबाट सामान बोकेर मुलुक प्रवेश गरेका र यहाँबाट बाहिरिने मालवाहक ट्रक मुख्य सडकमै पार्किङ गरिन्छ ।

बेलहिया नाकामा रहेको बसपार्क व्यवस्थित नभएको कारण अधिकांश बसले मुख्य सडकसँगै सर्भिस लेन ओगट्दा सर्वसाधारणलाई ओहोरदोहोरमै समस्या हुने गरेको छ । नाकामा रहेको मुख्यद्वारआसपास खुला स्थान नभएकाले सडकक्षेत्रमै गाडी राख्नुपर्ने बाध्यता छ । ‘पार्किङ व्यवस्थापन गर्न ट्राफिकसँगै नेपाल प्रहरी दिनरात खटिएका छौँ,’ इलाका प्रहरी बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेले भने, ‘पहिलाभन्दा व्यवस्थित तुल्याएका छौँ, समस्या हल हुँदैछ ।’

Bhairahawa: The parking lot of the city!भैरहवाको मुलुक बजारमै पार्किङको ठूलो समस्या देखिएको छ । मुख्य किनमेल स्थलका रूपमा रहेका बुद्धचोक, बर्मेली टोल, आवारोड, बैंकरोड र गल्लामण्डीमा अहिले भद्रगोल पार्किङका कारण सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भइरहेको छ । बर्मेली टोलदेखि मिउडियासम्म बजारको मूल सडकको पश्चिम किनारलाई पार्किङस्थल तोकिएको छ ।

एकापट्टि पार्किङस्थल तोकिएपछि मोटरसाइकल र गाडीको चापका कारण मूल सडकमै गाडी राख्ने गरिएको छ । सडकमा नअटेका मोटरसाइकल फुटपाथमा पार्किङ गरिन्छ । उक्त खण्डमा धेरै व्यापारिक प्रतिष्ठान र बैंक रहेका छन् । तर, थोरै मात्र भवनमा पार्किङका लागि खुला स्थान राखिएको छ । जसले गर्दा काजकाजी व्यक्तिले सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । मुख्य बजारमा खाली स्थानकै अभाव छ । सडकभन्दा दायाँबायाँ पार्किङस्थल नभएपछि सबैले सडकमै कोचाकोच गाडी राख्ने गरेका छन् ।

भैरहवामा धेरै सर्वसाधारणको जमघट हुने ठूला होटल, रेस्टुरेन्टमा पर्याप्त पार्किङस्थल छैनन् । धेरै रेस्टुरेन्टको पार्किङस्थल भनेकै सडक हुन् । पछिल्लो पटक विकास भएको भैरहवा–लुम्बिनी सडकखण्डअन्तर्गत बुद्धचोकदेखि पश्चिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा समेत पार्किङस्थल अभाव छ । उक्त खण्डमा धेरै ग्यारेज रहेका छन् । ती ग्यारेजले सर्भिस लेनमा बिग्रिएका बस, ट्रक राखेर मर्मत र रंगरोगनको काम गर्दा आवागमन असहज बनेको छ । जिल्लाका सरकारी कार्यालयले समेत सेवाग्राहीका सवारीका साधनलाई सडकमै पार्किङ गराउँछन् । ‘भैरहवामा सबैभन्दा ठूलो समस्या भनेकै पार्किङको भयो,’ सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिव कृष्णप्रसाद घिमिरेले भने, ‘अब पहिले पार्किङ बनाएपछि मात्रै घर निर्माण गर्न दिनुपर्छ ।’

Bhairahawa: The parking lot of the city!भैरहवा पुरानो बजार भएकाले सहरमा पार्किङस्थलको अभाव खट्किएको उनले बताए । अझै पनि टाढा गाडी राखेर किनमेल गर्न पसल जाने बानी नबसेकाले पनि समस्या देखिएको उनले बताए । ‘नयाँ भवनमा नगरपालिका कार्यालय सरेपछि पुरानो ठाउँमा पार्किङ व्यवस्थापन गरियो भने सहज हुन्छ,’ उनले भने, ‘हैन भने बजारको केन्द्रमा खाली जमिन छैन ।’

सिद्धार्थनगरमा आवासीय र व्यावसायिक क्षेत्र सँगसँगै छन् । देवकोटा चोकबाट बैंकरोड, गल्लामण्डी हुँदै विमानस्थलसम्म बजार विकास भएको छ । तर, त्यहाँ पार्किङका लागि जग्गा सार्वजनिक रूपमा उपलब्ध छैन । गत निर्वाचनमा सहरलाई ‘ब्युटिफुल’ बनाउने घोषणा गरेका जनप्रतिनिधिले समेत पार्किङ व्यवस्थापन गर्न सकेका छैनन् । तीन वर्षअघि सहरमा पार्किङ क्षेत्र घोषणाका लागि पहल गरिएको थियो । त्यसबेला व्यापारीले आगामी दिनमा हाम्रो ‘भोट’ चाहिँदैन भनेर धम्काएपछि जनप्रतिनिधिले पार्किङ व्यवस्थापनका लागि पहल गर्न छाडेका छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले व्यापारिक भवनमा अनिवार्य पार्किङस्थल नछुट्याएसम्म समस्या हल गर्न नसकिने बताइन् । तत्कालका लागि बजार क्षेत्रमा भाडामा जग्गा खोजेरै भए पनि पार्किङ व्यवस्थापन गरिनुपर्ने उनको भनाइ छ । पार्किङ व्यवस्थापनका लागि मुख्य बजार क्षेत्रमा सडकको एउटा किनारमा गाडी राख्नुपर्ने नियम बनाएपछि स्थान अपुग हुँदा भद्रगोल देखिने गरेको उनले बताइन् । उनका अनुसार मूल सडकमा नभए पनि सर्भिस लेनमा अटोरिक्साका कारण पार्किङ समस्या देखिएको हो ।

Bhairahawa: The parking lot of the city!नगरभित्र दर्ता अटोरिक्साको सङ्ख्या ६ सय हाराहारी छ । ‘अन्य पालिकाबाट सिद्धार्थनगरमा दर्ता नभएका अटोरिक्सा आउँछन्,’ उनले भनिन्, ‘सडक किनारमा व्यवसाय गर्नेहरूका आफ्नै गाडी राख्ने ठाउँ पनि छैनन् ।’ बजार क्षेत्रमा एकापट्टि मात्रै गाडी पार्किङ गरे पनि नअटाएपछि मूल सडकमै रोक्दा भद्रगोल भइरहेको उनले बताइन् । ‘सहरमा पार्किङ स्थल नै भएन,’ उनले भनिन्, ‘यही अवस्था रहे केही वर्षभित्र भैरहवामा पार्किङको समस्या झन् विकराल हुने देखिन्छ ।’

सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले २०७९ सालमा ६ महिनाभित्र पार्किङस्थल व्यवस्थापनका लागि स्थानीय गौरव श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको जनाए । उनका अनुसार उक्त समितिले पार्किङका लागि नगरका १२ स्थल छानोट गरेको थियो । समितिले बुद्धचोक, देवकोटा चोक, सिद्धार्थ फाइनान्स पछाडि, गल्लामण्डी लगायत स्थानमा खुला स्थान पत्ता लगाएर पार्किङ गर्न सकिने सुझाव दिएको थियो । ‘नगरपालिका र निजी क्षेत्रको सहकार्यमा पार्किङ व्यवस्थापन गर्न खोजेका हौँ,’ उनले भने, ‘तर, बैंकरोडका व्यापारीले विरोध गरेर घेरा हालेपछि त्यो कार्य अगाडि बढ्न सकेन ।’

Bhairahawa: The parking lot of the city!स्थानीय व्यापारीले मोटरसाइकल र गाडीमा आउने ग्राहक घट्ने जनाएर विरोध गरेका थिए । त्यसयता पार्किङ व्यवस्थापनका लागि पहल भएको छैन । नगरपालिकाले नयाँ भवनमा कार्यालय सारेपछि पुरानो ठाउँमा बहुतले पार्किङ भवन निर्माणका लागि सहरी विकास मन्त्रालयमा प्रस्ताव पठाइएको जनाएको छ । साथै नयाँ घर निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्नेहरूलाई नक्सा पासमा सहुलियत दिने गरी छलफल भइरहेको उनले जानकारी दिए ।

दीपेन्द्र

Link copied successfully