पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल भुइँ भागको ढलान (इन्भर्ट) को काम सकिएको छ । मुख्य टनेलकै भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम ८ सय ३४ मिटर सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ ।
इन्भर्टको काम भने १ हजार ८९ मिटर सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले बताए । मुख्य टनेलको १ हजार ८९ मिटरमध्ये इन्भर्टको काम सकिएकाले १ हजार १ सय २६ मिटर लाइनिङको काममा ८ सय ३४ मिटर सकिएको छ । अब लाइनिङको काम २ सय ९२ मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । बाइपास १ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको छ भने बाइपास ३ मा ‘इन्भर्ट’ को काम सुरु भएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयको भनाइ छ ।
सुरुङमार्ग मुख्य टनेलको कामलाई तीव्रता दिएर सक्ने र सवारीसाधन भित्रबाट पठाएर बाहिर सडकमा काम गर्ने आयोजनाको योजना छ । ‘आयोजनाले मुख्य टनेलको भित्री कामलाई तीव्रता दिएको छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘बाहिर भीरपाखा र तल्लो भागमा खोला भएकाले काम गर्न समस्या हुन्छ । त्यसैले पहिले मुख्य टनेलबाट सवारीसाधन गुडाउने अवस्था पुर्याउने योजना आयोजनाको छ ।’
बाइपास एकअन्तर्गत १ सय ५१, बाइपास दुई १ सय ६१ र बाइपास तीन १ सय ३० मिटर छ । बाइपास १ को इन्भर्टको काम १ सय ४५ मिटर भइसकेको छ । लाइनिङको काम पनि १ सय २४ मिटर भइसकेको छ । त्यस्तै बाइपास तीनको पनि इन्भर्टको काम १ सय २५ मिटर भइसकेको आयोजना कार्यालयका प्रमुख अधिकारीले बताए । लाइनिङको काम पनि ३० मिटर भइसकेको छ । बाइपास दुईको इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन ।
सुरुङमार्गमा सबैभन्दा तलको भाग जहाँ पानी बग्ने वा ढल बग्ने व्यवस्था गरिएको हुन्छ, त्यसलाई इन्भर्ट भनिन्छ । विशेषगरी ढल निकास प्रणाली सुरुङमा महत्त्वपूर्ण हुन्छ । सुरुङभित्र पाइप वा नाली राखिन्छ, त्यसलाई इन्भर्ट एलिभेसन भनिन्छ । तल्लो भागलाई इन्भर्ट लेभल वा इन्भर्ट एलिभेसन पनि भनिने प्राविधिकले जनाएका छन् । सुरुङमार्गमा लाइनिङले बलियो बनाउँछ, पानी चुहावट रोक्छ र दीर्घकालसम्म सुरक्षित बनाउँछ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको समग्र भौतिक प्रगति ५६.०३ प्रतिशत पुगेको आयोजना प्रमुख अधिकारीले बताए । त्यस्तै वित्तीय प्रगति पनि ५०.२४ प्रतिशत पुगेको छ ।
आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको हुनेछ । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ । लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर हुने आयोजना कार्यालयको भनाइ छ । यसमध्ये उत्तरतर्फ मुख्य सुरुङमा लाइनिङको काम उत्तरतर्फ ३ सय ८८ मिटर र दक्षिणतर्फ ४ सय ४६ मिटर सकिएको छ । स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३ सयमध्ये १ हजार ४ सय ९५, उत्तरतर्फ १ हजार १ सयमध्ये ४ सय ९५, एमआरवन माउन्टेन साइडतर्फ ९ हजार ६ सय २० मध्ये ४ सय ८१, एमआरटु माउन्टेन साइटतर्फ ७ हजार ४ सय ४० मध्ये १ हजार ४ सय १४ स्वायर मिटर काम भएको आयोजनाले बताएको छ ।
समयमै निर्माण व्यवसायीले काम गर्दा पनि सवारी गुडाउन अझै ६ महिना लाग्ने अनुमान गरिएको आयोजनाको भनाइ छ । सुरुङमार्गमा आगामी दिनमा विद्युतीकरणको काम हुनेछ । सुरक्षा र सञ्चारका उपकरण जोडिनेछ । बाहिरतर्फ अहिलेको सडक भत्काएर गर्नुपर्ने भएकाले यातायात मुख्य सुरुङबाट सञ्चालन गर्नुपर्ने आयोजना प्रमुख अधिकारीले जनाए ।
सरुङ आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा आयोजना बनाउने ठेक्का सम्झौता गरेको छ । ठेक्का सर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र
अर्थात् २०८३ चैत ८ मा निर्माण सक्नुपर्छ । सुरुङमार्ग सम्पन्न हुँदा लुम्बिनी र गण्डकीका पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङ, मुस्ताङलगायत क्षेत्रको यात्रा सहज हुनेछ ।
