एआई क्षेत्रमा ‘ट्रान्सफर मार्केट’को धुमधाम

ओपनएआई, मेटा, गुगल, एक्स, माइक्रोसफ्टलगायत विभिन्न कम्पनीबीच एआई बजारमा को अब्बल बन्ने भन्ने दौड भीषण बन्दै जाँदा चल्तीका एआई वैज्ञानिक, शोधकर्ता, डिजाइनर, इन्जिनियर, क्लाउड आर्किटेक्टहरूलाई मोटो रकम दिएर आफूतिर तान्ने होड फुटबल र अन्य व्यावसायिक खेलको ट्रान्सफर मार्केटजस्तै बन्न पुगेको छ

असार २१, २०८२

सजना बराल

The 'transfer market' boom in the AI ​​sector

काठमाडौँ — अहिले विश्व फुटबल बजारमा ‘ट्रान्सफर मार्केट’ खुला छ । विश्वका विभिन्न व्यावसायिक फुटबल लिगका खेलाडी आफूतिर तान्ने र प्रभावशाली प्रदर्शन गरिरहेका खेलाडी आफ्नो क्लबमा भित्र्याउने होडबाजी नै छ । यसमा इङ्ल्यान्ड, स्पेन, फ्रान्स, जर्मनी, अमेरिकादेखि साउदी अरबका क्लबसमेत सामेल छन् । 

लाखौं, करोडौं अमेरिकी डलर मूल्य र आकर्षक सुविधा तथा तलब दिएर तानातान गर्ने यो चलनको पछिल्लो उदाहरण पोर्चुगलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो पनि हुन् । साउदी अरबको क्लब अल–नासेरबाट गएका केही वर्ष व्यावसायिक फुटबल खेल्दै आएका उनले आगामी दुई वर्ष साउदीमै बस्न झन्डै ४० करोड अमेरिकी डलर मूल्यको नयाँ सम्झौता गरेर विश्वका धेरै जानकारलाई आश्चर्यचकित बनाएका थिए । 

रोनाल्डोले गरेको सम्झौतामा जिब्रो टोकिरहेका कतिपयलाई थाहा नभएको विषय के हुन सक्छ भने फुटबलकै शैलीको ट्रान्सफर मार्केट अहिले एआई बजारमा सरेको छ । ओपनएआई, मेटा, गुगल, एक्स, माइक्रोसफ्ट लगायत विभिन्न कम्पनीबीच एआई बजारमा को अब्बल बन्ने भन्ने दौड भीषण बन्दै जाँदा चल्तीका एआई वैज्ञानिक, शोधकर्ता, डिजाइनर, इन्जिनियर, क्लाउड आर्किटेक्टहरूलाई मोटो रकम दिएर आफूतिर तान्ने होड फुटबल र अन्य व्यावसायिक खेलको ट्रान्सफर मार्केट जस्तै बन्न पुगेको छ । मेटाले दसौं करोड डलर खर्च गरेर आफ्ना प्रभावशाली स्टाफ तान्न खोजेको ओपनएआईका साम अल्ट्म्यानले खुला रूपमै आरोप लगाएका छन् । यसलाई रोक्न ओपनएआईले भने ‘ह्युमन रिसोर्स रिटेन्सन’ मा उल्लेख्य लगानी गरिरहेको जनाएको छ ।

मेटाले सुरुमा अस्वीकार गरे पनि, कम्पनीले वास्तवमै दसौं करोड ‘साइनिङ बोनस’ र तीस करोडसम्मका सुविधा दिएर एआईका महारथीहरू भित्र्याएको खुल्दै गएको छ । यो साता मात्रै मेटाले ओपनएआईका त्रपिट बंसललाई १० करोड डलर (१३ अर्ब रुपैयाँभन्दा बढी) साइनिङ एमाउन्ट दिएर कम्पनीमा भित्र्याएको खबर चर्चामा छ । मेटा मात्रै होइन, सिलिकन भ्यालीमा आकर्षक ‘ट्रान्सफर एमाउन्ट’ सहित एक–अर्काका कर्मचारी तान्ने प्रवृत्ति बढेको देखिन्छ । अल्फाबेट (गुगल), माइक्रोसफ्ट, एप्पल, नेटफ्लिक्स, अमेजन, सेल्सफोर्सलगायत कम्पनीहरूले शक्तिशाली एआई पूर्वाधार विस्तार गर्न दक्ष प्राविधिक जनशक्तिमा उल्लेख्य लगानी गरिरहेका छन् ।

मेटा (फेसबुक) को सुपरइन्टेलिजेन्स इकाइमा आबद्ध हुन मार्क जकरबर्गले भारतीय मूलका बंसललाई १० करोड डलर ‘साइनिङ एमाउन्ट’ दिएको बताइन्छ । बंसलले पनि आफू मेटासँग जोडिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । ‘मेटामा जोडिन पाउँदा उत्साहित छु,’ उनले एक्समा लेखेका छन्, ‘सुपरइन्टेलिजेन्स अब धेरै टाढा छैन ।’ 

भारतको आईआईटी कानपुरमा स्नातक गरेका बंसल सन् २०२२ मा ओपनएआई प्रवेश गरेका थिए । त्यहाँ ‘रिनफोर्समेन्ट लर्निङ र एआई रिजनिङ मोडल’ को विकासमा काम गरेका उनलाई प्रविधिसम्बन्धी समाचार पोर्टल ‘टेकक्रन्च’ले ओपनएआईका प्रभावशाली अनुसन्धानकर्ताका रूपमा वर्णन गरेको छ । उनले न्याचुरल ल्याङवेज प्रोसेसिङ, डिप लर्निङ र मेटा–लर्निङमा विशेष अनुसन्धान गरेका छन् ।

च्याटजीपीटी निर्माता ओपनएआईका प्रमुख अल्टम्यानले बंसलसहित विभिन्न प्रविधि कम्पनीका उच्च तहका कर्मचारी र अनुसन्धानकर्तालाई मेटाले १ सय मिलियन डलर ‘ज्वइनिङ बोनस’ सहित धमाधम 

आफ्नो कम्पनीमा भर्ती गरिरहेको गुनासो गर्दै आएका छन् । एआईमा एकैपटक लामो छलाङ मार्न चाहिरहेको मेटाले केही समयअघि ‘स्केल एआई’ नामक कम्पनीमा १४.३ अर्ब डलर लगानी गर्ने घोषणासहित स्केलका २८ वर्षीय संस्थापक अलेक्जेन्डर वाङलाई ‘सुपरइन्टेलिजेन्स’ इकाइ प्रमुखमा नियुक्त गरेको थियो । 

अल्टम्यानले आफ्ना कर्मचारीहरू मेटाले लगिरहेको आरोप लगाएपछि मेटाले यो मिथ्या खबर भएको प्रतिक्रिया दिएको छ । मेटाका सीटीओ एन्ड्र्यु बोसओर्थले अल्टम्यानका दाबीहरू ‘असत्य’ भएको र उनले बढाइचढाइ गरेको बताएका छन् । बोसओर्थले सबैलाई सयौं डलरको ‘प्याकेज प्रस्ताव’ गरिएको विषयमा सत्यता नभएको तर केही–केहीलाई यस्तो प्रस्ताव दिएको आशय व्यक्त गरेका छन् । 

ओपनएआईले पनि हालै मात्र आईफोन, आईप्याड र म्याकबुकजस्ता उत्पादनको डिजाइन गर्ने ख्यातिप्राप्त डिजाइनर जोनी आइभलाई आफूकहाँ ल्याएको छ । आइभलाई भित्र्याउन ओपनएआईले उनको डिजाइन स्टार्टअप कम्पनी ‘आईओ’ नै किनिदिएको थियो । कुल ६.५ अर्ब अमेरिकी डलरमा ओपनएआईले सो कम्पनी खरिद गरेको हो । अब आइभले ओपनएआईका लागि एआईमा आधारित प्रविधियुक्त नयाँ किसिमका डिभाइस बनाउने कार्यको नेतृत्व गर्नेछन् । ती डिभाइसले भविष्यमा स्मार्टफोनसँग पनि प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । ‘जोनी संसारकै उत्कृष्ट डिजाइनर हुन्,’ अल्टम्यान भन्छन्, ‘अब हामी एआई प्रविधियुक्त डिभाइसको नयाँ पुस्ता बनाउने कोसिसमा लाग्नेछौं ।’

मेटाले भने मान्छेजत्तिकै सिपालु एआई प्रणाली विकास गर्न ‘सुपरइन्टेलिजेन्स ल्याब्स’ स्थापना गरेको छ । यसको प्रमुखमा स्केलएआईका वाङ छन् भने आफ्ना प्रतस्पर्धी ओपनएआई, गुगल, एन्थ्रोपिकजस्ता कम्पनीबाट मेटाले थप उच्च पदका कर्मचारी भित्र्याउने प्रयास जारी राखेको छ । ओपनएआईबाट बंसलसहित होङ्यु रेन, जीआहुई यु, सुचाओ बी, हुइवेन चाङ र जी लिनलाई पनि मेटामा ल्याउन खोजिएको छ । अल्टम्यानले प्रतिस्पर्धी हुन खोज्नु सराहनीय कुरा भए पनि कर्मचारी भित्र्याउन यसरी ठूलो रकम साइनिङ एमाउन्टका रूपमा दिने प्रवृत्ति राम्रो नभएको उल्लेख गरेका छन् । (एजेन्सीको सहयोगमा)

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully