साढे तीन महिनापछि २७ सयमाथि नेप्से, साढे ९ अर्ब रुपैयाँको कारोबार

गत वैशाख ७ मा २७ सय ६ दशमलव ०४ बिन्दुमा बन्द भएको थियो, त्यसयता नेप्से २५ सय बिन्दुमा समेत ओर्लिएको थियो 

असार २०, २०८२

कान्तिपुर संवाददाता

After three and a half months, NEPSE over 2700, turnover of 9.5 billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ९.१४ अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से वृद्धिले निरन्तरता पाएको हो । यस दिन शून्य दशमलव ३३ प्रतिशतले बढेर २७ सय ३ दशमलव ८६ बिन्दुमा उक्लिएको छ । 

पछिल्ला चार कारोबार दिनयता नेप्से निरन्तर बढ्दा २७ सय बिन्दुमा उक्लिएको छ । नेप्सेका अनुसार साढे तीन महिनापछि नेप्से परिसूचक २७ सय बिन्दु माथि उक्लिएको हो । गत वैशाख ७ मा २७ सय ६ दशमलव ०४ बिन्दुमा बन्द भएको थियो । त्यसयता नेप्से २५ सय बिन्दुमा समेत ओर्लिएको थियो ।

बिहीबार कुल १ सय २२ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय २५ कम्पनीको मूल्य घट्यो । कुल ९६ हजार ४ सय ११ पटकको कारोबारबाट २ करोड ४९ लाख ७६ हजार ३ सय ६६ कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन बुधबारको तुलनामा घटेको हो । नेप्सेका अनुसार बुधबार ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

कुल ५ उपसमूह घट्यो भने ८ उपसमूह बढ्यो । व्यापार ५४.४६, जलविद्युत् २१.४९, होटल तथा पर्यटन ५.१९ र लगानी शून्य दशमलव ८७ अंकले घट्यो । बढ्ने उपसमूहमा सबैभन्दा बढी जीवन बिमा ३४५.८८ अंक र निर्जीवन बिमा २७९.१९ अंकले बढेको छ । 

नेपाल फाइनान्स कम्पनीको ९.९८, खानीखोला हाइड्रोपावरको ७.१७, समृद्धि फाइनान्स कम्पनीको ७.०८, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ६.७८ र सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशतले सेयर मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लाग्यो । गुराँस लघुवित्त ९.९५, धौलागिरी लघुवित्तको ५.५५, पाँचथर पावर कम्पनीको ३.७९, पञ्चकन्या माई हाइड्रोपावरको ३.७७ प्रतिशतले सेयर मूल्य घट्यो । कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधी विद्युत् कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहे । बुटवल पावर कम्पनीको ३१ करोड ६८ लाख, साहस ऊर्जाको २७ करोड २८ लाख, सप्तकोशी विकास बैंकको २६ करोड २८ लाख, राधी विद्युत् कम्पनीको २३ करोड ११ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २२ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से बढेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा १५ अर्ब २३ करोड ३४ लाख रुपैयाँले बढेको छ । गत बुधबार ४४ खर्ब ८९ अर्ब ९५ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४५ खर्ब ५ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully