अरुण-३ को बिजुली खरिद-बिक्री गर्न भारतका दुई कम्पनीबीच सम्झौता

असार १९, २०८२

कान्तिपुर संवाददाता

Agreement between two Indian companies to buy and sell electricity for Arun-3

काठमाडौँ — भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेसन लिमिटेड (यूपीपीसीएल) सँग नेपालको ९०० मेगावाटको अरुण–३ को बिजुली बिक्री गर्ने गरी विद्युत् बिक्री सम्झौता (पीएसए) गरेको छ ।

एसजेभीएनका अध्यक्ष भूपेन्द्र गुप्ता र आयोजना निर्देशक सुशील शर्माको उपस्थितिमा एसजेभीएनका ऊर्जा व्यापार मुख्य महाप्रबन्धक आरके गुप्ता र यूपीपीसीएलका निर्देशक दीपक राइजादाले सम्झौतापत्रमा हस्ताक्षर गरे । बिजुली उत्तरप्रदेशमा खपत हुनेछ ।

सम्झौता एसजेभीएनको स्वच्छ ऊर्जा रूपान्तरणको प्रतिबद्धता र सहरी उपभोक्ताहरूका लागि ऊर्जा पूर्वाधार सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदम भएको एसजेभीएनका अध्यक्ष एवं प्रबन्ध निर्देशक गुप्ताले बताए । एसजेभीएनको सहायक कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) ले संखुवासभामा अरुण–३ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सन् २०२७/२८ मा अरुण–३ आयोजना निर्माण सम्पन्न भई उत्पादन सुरु गर्ने अनुमान छ । यसअघि एसजेभीएनले अरुण–३ को २०० मेगावाट बिजुली भारतकै सरकारी कम्पनी दामोदर भ्याली कर्पोरेसन (डीभीसी) लाई बेच्ने गरी पीएसए गरिसकेको छ । अरुण ३ बाट उत्पादित १९७ मेगावाट बिजुली सरकारलाई दिनुपर्नेछ ।

लगानी बोर्डको ६३ औं बैठकले अरुण–३ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन मिति (सीओडी) को समय थप गर्नलाई परियोजना समीक्षा कार्यदल (पीआरपी) गठन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिसका लागि लगानी बोर्ड कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाइसकेको छ । तर मन्त्रिपरिषद्ले हालसम्म कुनै निर्णय गरिसकेको छैन । 

पीआरपीले अरुण–३ जलविद्युत् आयोजनाले म्याद थप गर्न देखाएका कारणहरूको आयोजनास्थलमै गएर अध्ययन एवं समीक्षा गरी प्रतिवेदन तयार गर्नेछ । प्रसारण लाइन, जग्गा अधिग्रहणलगायतको समस्या देखाउँदै सीओडीको म्याद सन् २०२६ सेप्टेम्बरसम्म थप गर्न निवेदन दिएको बोर्डले जनाएको छ । सन् २०२५ को मार्चसम्म अरुण–३ को निर्माण सकिनुपर्थ्यो । तर काम नसकिएपछि कम्पनीले सीओडीको समय १८ महिना थप गर्न लगानी बोर्डमा निवेदन दिएको हो । 

हालसम्म अरुण–३ को भौतिक प्रगति उत्पादनतर्फ ७४ दशमलव ६ प्रतिशत र प्रसारण लाइनतर्फ ५४.४० प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । आयोजनाको कुल अनुमानित लागत १ सय ४४ अर्ब रुपैयाँ छ । वित्तीय प्रगति उत्पादनतर्फ ७१.२० प्रतिशत र प्रसारण लाइनतर्फ ५७.८० प्रतिशत रहेको लगानी बोर्ड कार्यालयले बताएको छ । 

सन् २००८ मा भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत् निगमले प्रतिस्पर्धाका आधारमा यसको लाइसेन्स लिएको थियो । सन् २०१४ मा पीडीए भएको अरुण–३ को सन् २०१८ मा काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेका थिए ।

पीडीएअनुसार आयोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट निःशुल्क बिजुली पाउनेछ । आयोजनाले उत्पादन सुरु भएको १५ वर्षसम्म ७ प्रतिशत र त्यसपछिका १० वर्ष १२ प्रतिशत इनर्जी रोयल्टी नेपाल सरकारलाई बुझाउनुपर्नेछ । उत्पादन सुरुपछिको १५ वर्षसम्म ४ सय रुपैयाँ प्रतिमेगावाट र त्यसपछिका १० वर्ष प्रतिमेगावाट १८ सय रुपैयाँ रोयल्टी सरकारलाई बुझाउनुपर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ । आयोजनाबाट वार्षिक ऊर्जा उत्पादन ४ अर्ब १ करोड ८० लाख युनिट हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully