नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त : सांसद साउद

असार १८, २०८२

कान्तिपुर संवाददाता

Tourism in Nepal is diverse and has potential: MP Saud

काठमाडौँ — नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त रहेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकतामा राखेर प्रचार–प्रसार गर्न सरकारसँग आग्रह गरेका हुन् । 

समिति सदस्य साउदले नेपालको अपार प्राकृतिक र सांस्कृतिक सम्भावनाहरू अझै पनि व्यवस्थित ढंगमा परिचालन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । ‘भौगोलिक रुपमा नेपाल अत्यन्तै सुन्दर र विविधतायुक्त देश हो । यहाँको विशिष्ट पहिचानलाई सुत्रबद्ध गरेर काम गर्न आवश्यक छ,’ उनले भने, ‘हामीसँग पर्यटनमा विविधिकरणका लागि प्रशस्त सम्भावना छन् । तर अझैँ पनि चुनौतीहरूसँग जुध्न सकिएको छैन ।’

नेपालको पर्यटन प्रवर्द्धनमा अझ धेरै नीतिगत स्पष्टता र क्रियाशीलता आवश्यक रहेको सांसद साउदको भनाइ थियो । उनका अनुसार हाल नेपालले आफ्नो लक्ष्यअनुसार पर्यटक संख्या बढाउन सकेको छैन । 

‘२० लाख पर्यटक पुर्‍याउने हाम्रो लक्ष्य हो, तर त्यो पूरा गर्न सकेका छैनौँ,’ साउदले भने, ‘जति हुनुपर्ने हो, त्यति पर्यटक ल्याउनका लागि हामीले थप काम गर्न आवश्यक छ ।’ 

साउदले काठमाडौं उपत्यकाभित्र मात्रै ४० वटा ट्रेकिङ रुटहरू रहेको उल्लेख गर्दै तीमध्ये धेरै अझै ओझेलमा रहेको बताए । ‘यस्ता पदमार्गहरू र गन्तव्यहरू पहिचान गरी प्रवर्द्धन गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटन मन्त्रालयले यी गन्तव्यहरूको सम्पूर्ण सम्भावनामा काम गर्नुपर्ने बेला आएको छ ।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले विश्वका दुई ठूला अर्थतन्त्र र जनसंख्या देश भारत र चीनबाट पर्यटक आकर्षित गर्नका लागि विशेष योजना आवश्यक रहेकोमा जोड दिए । 

‘त्यो जनसंख्याको लाभ लिन हामी चुकेका छौँ । धार्मिक तथा सांस्कृतिक विविधता नेपालको पर्यटनमा अर्को महत्वपूर्ण पक्ष हो,’ उनले भने, ‘हामीसँग बौद्ध र हिन्दु धर्मका सांस्कृतिक सम्पदा छन् । यसलाई सही ढंगले प्रस्तुत गर्न सके हामीले ठूलो संख्यामा पर्यटक ल्याउन सक्छौँ ।’ 

उनले सडक र हवाई यातायातका अवरोधले पर्यटकलाई असहज बनाउने भएकाले त्यसलाई सुधार गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिए । ‘कतिपय चुनौतीहरू हाम्रो पूर्वाधारले सिर्जना गरेका छन्,’ साउदले भने, ‘त्यसमा सुधार नगरी पर्यटकको अनुभव राम्रो बनाउँन सकिन्नँ।’

कान्तिपुर संवाददाता

Link copied successfully