आज फेरि राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ झिक्दै

असार १८, २०८२

कान्तिपुर संवाददाता

Today again the National Bank is withdrawing 60 billion rupees

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पैसा (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार ६० अर्ब रुपैयाँ झिक्न लागेको छ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो। लामो समयदेखि बजारमा पैसा धेरै भए पनि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा कम्तीमा दुई पटक पैसा झिक्दै आएको छ। सोही क्रममा आज ६० अर्ब रुपैयाँ राष्ट्र बैंकले झिक्न लागेको हो।

अघिल्ला साताहरूमा प्रायः २१ दिनका लागि बजारबाट पैसा झिकिँदै आएकोमा हाल ६३ दिनका लागि (लामो समय) पैसा झिकिँदै आएको छ। बैंकमा तरलता बढिरहेको र कर्जा माग नबढेकाले लामो समयका लागि तरलता व्यवस्थापन गर्नु परेको राष्ट्र बैंकले जनाएको छ।

यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँको गुणा भागमा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully