लुम्बिनीका होटल-रेस्टुराँमा जनशक्तिकै अभाव

सीप सिकाएपछि प्रतिफल दिने बेलामा काम छोड्दा मारमा परेको होटल सञ्चालकको भनाइ

असार १८, २०८२

दीपेन्द्र बडुवाल

Lack of manpower in hotels and restaurants in Lumbini

भैरहवा — होटल–रेस्टुराँमा लामो समय रोजगारी गर्नेको संख्या न्यून हुँदा सधैंजसो कामदार अभाव भइरहेको रूपन्देहीका लगानीकर्ताले बताएका छन् । धेरैले वैदेशिक रोजगारीमा जानुपूर्व तालिमका रूपमा मात्रै काम गर्दै आएका छन् ।

रोजगारीका लागि आवेदन भरेर छनोट भएका कर्मचारीले पनि काम सिकेको केही दिनमा विकल्प रोज्ने गर्दा आफूहरूको लगानी खेर गइरहेको लगानीकर्ताहरूले बताएका हुन् ।

लगानी गरेर सीप सिकाएपछि प्रतिफल दिने बेलामा काम छोड्दा मार पर्ने गरेको रूपन्देहीको रोयल टाइगर रिक्रियसन प्रालिका प्रबन्ध निर्देशक रूपक गौतमले बताए । ‘अहिले हस्पिटालिटी क्षेत्र वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि तालिम केन्द्र बनेका छन्,’ उनले भने, ‘सीप सिकेर एक वर्ष काम गर्ने सम्झौता त गर्छन्, अवधि पूरा नहुँदै छाडेर गइसक्छन् ।’ कम्पनीले सञ्चय कोष, नागरिक लगानी कोष, स्वास्थ्य, जीवन र दुर्घटना बिमा व्यवस्था गरे पनि कामदार टिकाउन सम्भव नभएको उनले बताए । 

कामदारलाई ओहोदा हेरी सरकारले लागू गरेको न्यूनतमदेखि दुई लाखसम्म पारिश्रमिक दिने गरेको उनले जानकारी दिए । रोयल टाइगर रिक्रियसन प्रालिमा सेक्युरिटी गार्ड, हाउसकिपिङ, किचन, चालक, बाउन्सर गरेर ६ सय कर्मचारी आबद्ध छन् । ‘अहिले हरेक साताजसो कर्मचारी खोज्नुपरेको छ,’ उनले भने, ‘२७ देखि ३० प्रतिशत कर्मचारीमात्र टिकेका छन् ।’

लगानीकर्ताका अनुसार रोजगारी खोज्दै आउनेलाई छनोट गर्नासाथ जिम्मेवारीमा खटाउन सकिँदैन । सुरुमा काम सिकाउने गरिएको छ । पारिश्रमिक, आवास, खाना र पोसाक सुविधा दिएर होटलमै काम सिकाउँदा एक जनामाथि एकदेखि डेढ लाख रुपैयाँसम्म लगानी हुने गरेको लुम्बिनी बुद्ध गार्डेन रिसोर्टका सञ्चालक टीका बरालले बताए । ‘काम सिक्ने क्रममा धेरै पटक भाँडा टुटफुट हुन्छन्, खाद्यान्न नोक्सान हुन्छ,’ उनले भने, ‘यो सबै सहेर काम सिकाएको केही समयमा कि विदेश जान्छन् कि काम छाडेर नयाँ ठाउँमा पुग्छन् ।’ 

आफ्नो होटलमा सुरुदेखिका आधा दर्जन कामदार पनि नरहेको उनले बताए । बरालका अनुसार तराई र पहाडका विभिन्न ठाउँबाट अध्ययनका लागि आउने विद्यार्थी काम खोज्दै आउने गरेका छन् । हस्पिटालिटी क्षेत्रमै करियर बनाउँछु भनी होटल म्यानेजमेन्ट विषय अध्ययन गरेर रोजगारीमा लागेका व्यक्तिसमेत लामो अवधि नटिक्ने गरेको उनले बताए । ‘हस्पिटालिटी क्षेत्रको मुटु भनेकै दक्ष कामदार हुन्,’ उनले भने, ‘सेवा गर्न जानेका कामदार भएनन् भने होटल र रेस्टुरेन्टको व्यापार पनि दिगो हुँदैन ।’

पर्यटन क्षेत्रसित आबद्ध संघसंस्थाका अनुसार हस्पिटालिटी क्षेत्रमा जनशक्ति अभाव ठूलो चुनौती बनेको छ । सीप भएका कर्मचारीलाई ठूलो अवसर भए पनि उनीहरू लामो समय नटिक्दा समस्या छ । ‘अब त होटल सञ्चालकले नै हस्पिटालिटी कलेज चलाउनुपर्ने अवस्था आइलाग्यो,’ होटल व्यवसायी महासंघ नेपालका उपमहासचिव राजेश महोत्राले भने, ‘पर्यटन क्षेत्रका संघसंस्था र सरकारी तवरबाट पनि विभिन्न तालिम सञ्चालन भइरहेका छन्, तालिम लिएर काम गर्न पनि आउँछन् । तर, तलब स्केललगायत कारण कर्मचारी लामो समय नटिक्ने समस्या छ ।’

महोत्राले होटल सनस्टार सञ्चालन गरेको १० वर्षमा सुरुवाती ९० प्रतिशत कर्मचारीले काम छाडिसकेको बताए । अहिलेसम्म १० प्रतिशत पनि सुरुवाती कर्मचारी टिकाउन धौधौ भइरहेको उनको भनाइ छ । ‘कामदार नटिक्ने अवस्थालाई सहज रूपमा लिन थालियो,’ उनले भने, ‘अनुभवी कामदार नपाउने भएपछि नयाँ युवालाई भर्ती गरेर काम सिकाउने गरेका छौं ।’ एउटा कामदार तयार गर्न कम्तीमा एक लाख रुपैयाँ लगानी गरिरहेको उनले बताए । 

काम सिकाएको केही समयमा छाडेर जाने हुँदा लगानी खेर गइरहेको उनको भनाइ छ । ‘अहिले पढेकै युवाहरू काम गर्न आउँछन्,’ उनले भने, ‘सुरुमा होटल–रेस्टुरेन्टले खाना र आवास सुविधा दिएर १०–१२ हजार तलब दिन्छन् । अहिलेको अवस्थामा त्यति पारिश्रमिकले घर खर्च धान्न धौ हुने भएकाले अवसर खोज्दै बाहिरिन्छन् ।’

रूपन्देहीको भैरहवा र आसपास तारे होटलसँगै क्यासिनो सञ्चालनमा छन् । होटल तथा रेस्टुरेन्टले दक्ष तुल्याएका कामदार अहिले क्यासिनोले आकर्षित गरिरहेका छन् । एउटै क्यासिनोमा दुई सयदेखि एक हजारसम्म कर्मचारी हुन्छन् । तिनले पारिश्रमिक धेरै दिने भएकाले होटलमा जनशक्ति अभाव भइरहेको लगानीकर्ता बताउँछन् ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार अहिले भैरहवाको बेलहियादेखि लुम्बिनी र उत्तर मंगलापुरसम्म स्तरीय १ सय ५० भन्दा बढी होटल छन् । ती होटलमा मात्रै १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । 

जिल्लाभरका होटल तथा रेस्टुराँमा गरेर ५० हजार हाराहारीले रोजगारी गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । ‘धेरै कमाउन भनेर विदेश जाने प्रचलनले गर्दा कामदार टिकाउनै सकस भइरहेको छ,’ उनले भने ।

होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाहले मुलुकको हस्पिटालिटी क्षेत्रले दक्ष कामदारको अभाव भोगिरहेको बताए । हस्पिटालिटीसम्बन्धी अध्ययन गरेका र सीप सिकेका व्यक्तिलाई विदेशमा अवसर रहेकाले उनीहरू नटिक्ने गरेको उनको भनाइ छ । हानले संघीय राजधानीलगायत मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा सीपमूलक तालिम सञ्चालन गरिरहेको उनले बताए ।  ‘होटल तथा रेस्टुरामा काम गर्दै सिक्ने अवसर प्रदान गरिरहेका छौं,’ उनले भने, ‘पारिश्रमिक दिएरै भए पनि तालिममा सहभागी गराउने लक्ष्यसाथ संघ अगाडि बढेको छ ।’

दीपेन्द्र

Link copied successfully