काठमाडौँ — राजस्व अनुसन्धान विभागले १० महिनामा राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा १० अर्बभन्दा बढीको मागदाबीसहित ३ सय २१ जनाविरुद्ध उच्च तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । यस अवधिमा विदेशी मुद्रा अपचलन र राजस्व चुहावटमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको हो ।
उनीहरूविरुद्ध चुहावट भएको राजस्व असुलउपर गरी बिगोअनुसार ५ वर्षसम्म जेल सजायसमेत माग गरिएको छ ।
राजस्व चुहावट हुनेमा चीनबाट चोरी पैठारी गरिएको विद्युतीय चुरोट (भेप), सुन, जुत्ता र मदिराको बिर्कोलगायत सामग्री सबैभन्दा धेरै देखिएका छन् । भारतबाट तराईको खुला बोर्डरको फाइदा उठाएर सबैभन्दा धेरै कपडा (साडी, कुर्ता–सुरुवाल तथा सर्टिङ सुटिङ) चोरी पैठारी गरेर राजस्व छली गरेको भेटिएको छ । नक्कली बिलबीजक जारी गरेको विषय पनि राजस्व चुहावटको क्षेत्र हो ।
नेपाल क्यान मुभ प्रालिको सर्भर अस्ट्रेलियाबाट सञ्चालन गरेर राजस्व छलेको अभियोगमा एक अर्ब ३७ करोड असुलउपर गरी जेल सजायसमेत माग गरी ६ जनाविरुद्ध मुद्दा चलाइएको छ । कुरिअर सेवा सञ्चालन गर्ने उद्देश्य राखेर खोलिएको कम्पनीका लगानीकर्ताले अस्ट्रेलियामा बसेर नेपालबाट कारोबार सञ्चालन गर्दै आएको भेटिएको थियो ।
१० महिनामा दोस्रो ठूलो राजस्व चुहावटको मुद्दा सुन–चाँदीको चोरी पैठारी छ । त्यसमा राजस्व छली गरेको अभियोगमा १ अर्ब ३४ करोडको मागदाबीसहितको मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा प्रतिवादी भने ४७ जना छन् ।
यस अवधिमा राजस्व चुहावटतर्फ करिब सवा पाँच अर्बको मागदाबीसहित ४८ वटा मुद्दा दर्ता गरिएको छ । चालु वर्षको साउनदेखि जेठ मसान्तसम्म राजस्व चुहावटतर्फ १ सय ६० जनाविरुद्ध मुद्दा दायर गरेर उनीहरूबाट चुहावट भएको राजस्व असुली गर्नुपर्ने माग गरिएको छ ।
उनीहरूलाई कानुनअनुसार ५ वर्षसम्म जेल सजाय माग दाबी गरिएको छ । विभागले गत शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार राजस्व चुहावटसँग सम्बन्धित २ अर्ब ५९ करोड बिगो तथा शतप्रतिशत जरिवानासमेत ५ अर्ब १९ करोड मागदाबीसहित उच्च अदालतमा अभियोजन गरिएको छ ।
यस अवधिमा विभागले विभिन्न फर्म तथा कम्पनीबाट राजस्व चुहावट भएको ठहर गरी १ अर्ब १६ करोड धरौटी माग गरेको छ । घिमिरेका अनुसार राजस्व चुहावटको धरौटी रकममध्ये ५५ करोड १८ लाख आन्तरिक राजस्व विभाग र भन्सार विभागमा असुलीका लागि पठाइएको छ ।
विदेशी मुद्रा अपचलनतर्फ १ सय ६१ जनाविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । १ सय १७ वटा मुद्दामा बिगो र जरिवानासमेत ५ अर्बभन्दा बढी मागदाबी गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । विदेशी मुद्रा अपचलनमा गत चैतको पहिलो साता काठमाडौंको टोखाबाट बरामद भएको २५ करोड १९ लाख २४ हजार बराबरको युरो तथा अमेरिकी डलर सबैभन्दा ठूलो रकम हो । उक्त घटनामा चालक थुनामा छन् भने मुख्य अभियुक्त भनिएका सिन्धुपाल्चोकका नारायण पौडेल फरार रहेको विभागले जनाएको छ ।
