सुनको मूल्य सातामै ५ हजार ८ सय रुपैयाँले घट्यो

असार १५, २०८२

कान्तिपुर संवाददाता

The price of gold decreased by 5 thousand 800 rupees in a week

काठमाडौँ — सातामा सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले घटेको छ । गत आइतबार प्रतितोला १ लाख ९५ हजार २ सय रहेको सुनको मूल्य शुक्रबार आइपुग्दा तोलामा १ लाख ८९ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्यले बताए ।

आइतबारको तुलनामा तोलामा ५ हजार ८ सय रुपैयाँले सुनको मूल्य घटेको उनको भनाइ छ । 

नेपालमा मात्र नभई विश्वबजारमा समेत सुनको मूल्य घटेको छ । गत बिहीबार मात्रै अमेरिकामा सुनको मूल्य २ प्रतिशतले घटेको रोयर्टसले जनाएको छ । अमेरिका–चीन व्यापार सम्झौतापछि जोखिम घट्ने संकेत देखिएसँगै सुनको मूल्य घटेको विश्लेषकहरूले बताएका छन् ।

अमेरिका–चीन व्यापार युद्ध बढ्ने संकेतपछि सुरक्षित मानिने सुनमा लगानीकर्ताको आकर्षण बढेको थियो । त्यसकारण विश्वव्यापी रूपमा सुनको मूल्य बढे पनि अमेरिका–चीन व्यापार सम्झौतापछि जोखिम घट्ने संकेत देखिएसँगै सुनको मूल्य गत बिहीबार सुनको मूल्य २ प्रतिशतले घटेको रोयटर्समा उल्लेख छ । 

स्थानीय समयअनुसार २ बजे स्पट सुनको मूल्य १‍.५ प्रतिशतले घटेर ३ हजार २७७‍‍.१७ डलर कायम भएको छ । बिहीबार यूएस गोल्ड फ्युचर्स १‍.८ प्रतिशतले घटेर ३ हजार २ सय ८७ दशमलव ६ डलरमा कायम भएको छ । भूराजनीतिमा आएको मन्दी, चीनसँगको वार्ता र पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रमले लगानीकर्ताहरूलाई नाफा कमाउने अवसर सिर्जना गरेको आरजेओ फ्युचर्सका वरिष्ठ रणनीतिकार डेनियल पाभलियनले बताए । 

अमेरिकामा दुर्लभ खनिज तत्त्वको ढुवानीबारे बिहीबार अमेरिका र चीनबीच भएको सम्झौतालाई बजारले सकारात्मक रूपमा लिएको जनाएका छन् । मध्यपूर्वमा सुरु भएको इरान–इजरायलबीचको युद्धविराम सम्झौता अझै कायम छ । 

स्थिर भूराजनीति र आर्थिक वातावरणले सुरक्षित मानिने सुनको आकर्षणलाई कम गर्ने भएकाले लगानीकर्तालाई जोखिमपूर्ण सम्पत्तितर्फ धकेल्ने विश्लेषक बताउँछन् । स्पट चाँदी १.४ प्रतिशत र प्लाटिनम ५.३ प्रतिशतले घटेको छ । तर यो साता चाँदी र प्लाटिनमको मूल्य बढ्ने क्रममा थियो ।

चाँदीको मूल्य भने सातामा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । गत आइतबार प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कायम भएको छ । सोमबार प्रतितोला चाँदी २ हजार १ सय ७० र बिहीबार प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघको तथ्यांक छ ।

कान्तिपुर

Link copied successfully