नेपाल आयल निगमले तयारी सकेको छ, तर क्यानले रुख काटेन, चार किल्ला छुट्याएन, जग्गाको सम्झौता पनि गरेन : प्रदीपकुमार यादव-प्रमुख, हवाई इन्धन डिपो, सिनामंगल
काठमाडौँ — अति संवेदनशील मानिएको सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरणको काममा नागरिक उड्डयन प्राधिकरण (क्यान) बाटै ढिलाइ भएको छ । २८ असार २०८१ को मन्त्रिपरिषद् बैठकले डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि क्यानले जग्गाको चार किल्ला छुट्याएको छैन ।
नेपाल आयल निगम र क्यानबीच प्रस्तावित जग्गाको स्वामित्व एवं हस्तान्तरणको मोडालिटी अझै पनि टुंगो लागेको छैन ।
तोकिएको साइट क्लियर नहुँदा स्थानान्तरण प्रक्रिया प्रभावित बनेको आयल निगम हवाई इन्धन डिपो सिनामंगलले जनाएको छ । ‘सरकारको आदेशसँगै निगमले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को कामलाई तीव्रता दिएको छ । तर डिपो स्थानान्तरण गर्नुपर्ने जग्गामा नेपाली सेनाका भवन पनि हटाइएको छैन,’ निगमका हवाई इन्धन डिपो हस्तान्तरण तथा निर्माण आयोजनाका कोअर्डिनेटर इन्जिनियर मानबहादुर सिंहले भने, ‘पुल्चोक इन्जिनियरिङ कलेजले डीपीआरको काम करिब ९० प्रतिशत सकेर पहिलो चरणको ड्राफ्ट बुझाइसकेको छ ।’ करिब १५ रोपनी जग्गा आर्मी र जंगलमा परेको उनले बताए ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि २८ साउन २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले डिपो स्थानान्तरण गर्न निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कार्यकारी निर्देशक चण्डिका भट्टसहितको टोलीले जग्गा निरीक्षणसमेत गरेका थिए । निरीक्षणका क्रममा मन्त्री भण्डारीले पनि डिपो तत्काल स्थानान्तरण गर्न निर्देशन दिएका थिए ।
सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिएको विमानस्थलस्थित डिपोलाई दीर्घकालीन रूपमा प्रयोग गर्न मिल्ने गरी सार्नुपर्ने सांसदले समेत माग गर्दै आएका छन् । गत भदौमा भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा धेरैजसो सांसदले तत्काल डिपो सार्न आवाज उठाएका थिए । निगमले पनि स्थानान्तरणमा चासो दिएको थियो । डिपो स्थानान्तरण गर्न क्यान पनि उत्साहित थियो । स्थानान्तरण गर्न क्यानले निगमलाई करिब १० पटक पत्रसमेत पठाएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा सिफारिस परिपालना गर्नुपर्ने राज्यको दायित्व रहेको भन्दै क्यानले निगमलाई पत्र पठाएको थियो । सोही मापदण्डअनुसार गुरुयोजना तयार पारी पूर्वाधार विस्तारको काम गरेको क्यानको दाबी थियो । तर पछिल्लो समय आलटाल गरेको सिनामंगल कार्यालय प्रमुख प्रदीप यादव बताउँछन् ।
‘पुल्चोक इन्जिनियर कलेजले असार २७ मा डीपीआर रिपोर्ट बुझाउँदै छ । डिजाइन र लागतसहितको विस्तृत प्रतिवेदन आउँदै छ । साउन २०८२ बाटै टेन्डर प्रक्रिया गरेर काम अगाडि बढाउने निगमको तयारी छ,’ यादवले भने, ‘दुई वर्षमा डिपो तयार गरेर जहाजमा तेल भर्न सकिन्छ । तर यस विषयमा क्यानले बेवास्ता गर्दै आएको छ । क्यानको लापरबाहीले प्रोजेक्ट थप ५/७ वर्ष पछि धकेलिने चिन्ता बढेको छ ।’
निगमका अनुसार क्यानले करिब २ सय रुख काट्नुपर्छ । रुख काट्न मन्त्रिपरिषद्ले २०७७ सालमै अनुमति दिइसकेको छ । तर पनि काममा क्यानले ढिलाइ गरिरहेको निगमको आरोप छ ।
क्यानले हवाई इन्धन डिपो स्थानान्तरण गर्न विमानस्थलको उत्तर–पश्चिमतर्फ ‘अन्तर्राष्ट्रिय एयरक्राफ्ट पार्किङ एप्रोन’ को पश्चिमतर्फ रनवेको केन्द्र रेखादेखि ५ सय मिटरभन्दा टाढा हुने गरी स्थान तोकेको छ । जग्गाको मूल्यका विषयमा विमानस्थलभित्र रहेका सबै स्थानका जग्गा समान रहेको, विगतमा उक्त जग्गा डिपोका लागि नै अधिग्रहण गरिएको र आईकाओ मापदण्डका कारण पनि स्थानान्तरण गर्नु आवश्यक रहेको बताइएको थियो ।
‘हवाई इन्धन डिपोलाई धावनमार्गदेखि पर्याप्त दूरीमा राख्नुपर्ने दृष्टिबाट विमानस्थलमा त्यसको विकल्प देखिँदैन । अन्तर्राष्ट्रिय जहाजको पार्किङसमेत सोही स्थानबाट नजिक हुने हुँदा रिफिलिङ कार्य पनि सोही स्थानबाट सहज हुनेछ,’ क्यानले निगमलाई पठाएको पत्रमा भनिएको थियो, ‘हालको डिपो भत्काउने र नयाँ स्थानमा निर्माण गर्ने सम्पूर्ण कार्य निगमकै कार्यक्षेत्र र जिम्मेवारीभित्र पर्ने विषय हो ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशक दीपेन्द्र श्रेष्ठले भने डिपो स्थानान्तरण अवधिभर भाडा छुटका सन्दर्भमा अनुमतिका लागि प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रहेकाले केही ढिलाइ भएको दाबी गरे । ‘यस विषयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हेरेको छ । प्रस्ताव मन्त्रालयमा पुगिसकेको छ,’ श्रेष्ठले भने, ‘रुख काट्न समस्या छैन । आर्मी भवन र गल्फकोर्ट सार्न पनि सहमति भइसकेको छ ।’
यति बेला हालको डिपो धावनमार्गको केन्द्ररेखादेखि १५० मिटर मात्रको दूरीमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुसार डिपोको अधिकांश क्षेत्र ट्याक्सी वे तथा रेनवे लाइनभित्र पर्न जाने उल्लेख छ । अहिले ‘समानान्तर ट्याक्सी वे’ को केन्द्र रेखादेखि रनवेको केन्द्र रेखासम्मको दूरी ११० मिटर मात्रै छ । मापदण्डअनुसार १७२.२ मिटर हुने गरी गुरुयोजना अद्यावधिक गरिएको छ ।
प्रस्तावित डिपो निर्माण साइटमा देखिएका समस्या
– नागरिक उड्डयन प्राधिकरणले नेपाल आयल निगमका लागि तोकिएको जग्गाको चार किल्ला छुट्याउन्
– तोकिएको जग्गाको साइट क्लियर नभएको, जग्गामा रहेका नेपाली सेनाका भवन पनि हटेनन्
– निगम र प्राधिकरणबीच प्रस्तावित जग्गाको स्वामित्व एवं जग्गा हस्तान्तरणको मोडालिटी टुंगिएन
