पहिरोले क्षतिग्रस्त बनाएका बालुवा थिग्य्राउने दुवै पोखरी आंशिक मर्मत सकिएसँगै आयोजनाबाट ४५६ मेगावाट बिजुली उत्पादन
दोलखा — स्वदेशी लगानीको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले चौबिसै घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेको छ । पहिरोले क्षतिग्रस्त बनाएका बालुवा थिग्य्राउने दुवै पोखरी (डिस्यान्डर) आंशिक मर्मत सकिएसँगै चौबिसै घण्टा पूर्ण क्षमतामा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन थालेको हो ।
गत वर्ष असोज ११ मा पहिरोले जलविद्युत् केन्द्रका दुवै डिस्यान्डरसहित विद्युत् सञ्चालन नियन्त्रण कक्ष र भूमिगत नहर (कल्भर्ट) पुरेको थियो । यसले ती संरचनामा ठूलो क्षति पुगेको थियो, जसका कारण गत वर्ष ३ महिना विद्युत् उत्पादन बन्द भएको थियो ।
गत पुसमा बालुवा थिग्य्राउने दुवै पोखरीमध्ये बायाँतर्फको डिस्यान्डर मर्मत गरेर बाँधका सबै ढोका खोलेर नदीमा आधारित भएर केन्द्रले विद्युत् उत्पादन गर्दै आएको थियो । दायाँतर्फको डिस्यान्डर आंशिक मर्मत भएपछि केन्द्रले बाँधस्थलमा पानी भरेर जलविद्युत् केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले जनाए । बिहीबार अपराह्नदेखि माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले चौबिसै घण्टा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको उनले बताए ।
‘तामाकोशी जलविद्युत् केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएका छौं,’ रञ्जितले भने, ‘पहिलाकै अवस्थामा ल्याउने गरी पुनर्निर्माण सकिएको छैन । तर यो बर्खाका तीन महिना केन्द्रको घाटा कम गर्न दुवै डिस्यान्डर आंशिक रूपमा सञ्चालनमा ल्याएर चलाएका छौं ।’ पूर्ण रूपमा दुवै डिस्यान्डरको पुनर्निर्माण सकिन अझै ४५ दिन लाग्ने उनले जनाए ।
‘डेढ महिना कुरेर पूर्ण रूपमा सञ्चालनमा ल्याउँदा तामाकोशी कम्पनीलाई घाटाको भार थप बढ्ने भएकाले हाललाई आंशिक रूपमा तयार गरेर पूर्ण क्षमतामा उत्पादन गरिएको हो,’ उनले भने, ‘लेदोले क्षति गरेको भूमिगत नहर मर्मत सकिएको छ । बाँधमा पानी भरेर असोजसम्म चौबिसै घण्टा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।’
बर्खाको मौसम भएकाले बाढीको अवस्थालाई समेत दृष्टिगत गरी केन्द्रले विद्युत् उत्पादन गर्ने रञ्जितले बताए । तामाकोशी जलविद्युत् केन्द्रको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । गएको असोजको अविरल वर्षाले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युसेक पुगेको थियो । तामाकोशीले प्राधिकरणसँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार पानीको बहाव २५० क्युसेक हुनासाथ विद्युत् गृह बन्द गर्नुपर्छ ।
जलविद्युत् केन्द्रको विद्युत् नियन्त्रण कक्ष निर्माण भइरहेको छ । पहिरोले विद्युत् नियन्त्रण कक्षको भवन पूर्ण रूपमा क्षतिग्रस्त बनाउँदा त्यहाँ कार्यरत दुई कर्मचारी र सेनाका दुई जनाको ज्यान गएको थियो । माथिल्लो तामाकोशीले पहिरोले क्षति गरेको सिभिल, इलेक्ट्रो मेकानिकललगायत उपकरण गरी १ अर्ब ८० करोड रुपैयाँको बिमा दाबी गरेको थियो ।
प्रतिदिन ४ करोड रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्ने क्षमता तामाकोशीको छ । यसले देशभर हिउँदको समयमा विद्युत् प्राधिकरणलाई मागअनुसारको विद्युत् उत्पादन गरेर लोड व्यवस्थापन गर्न सहज गर्दै आएको छ । हिउँदमा प्राधिकरणले लोड व्यवस्थापन गर्न ब्याकअपका रूपमा तामाकोशी चलाउँदै आएको छ । अर्धजलाशययुक्त प्रकृति (पीआरओआर) को आयोजना माथिल्लो तामाकोशी वर्षामा पूर्ण क्षमतामा र हिउँदमा ४ घण्टा सञ्चालन गर्ने गरिएको छ ।
हिउँदको समयमा जलविद्युत् केन्द्रको पूर्ण क्षमता ६ घण्टा पुर्याउन अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले रोल्वालिङ खोलाको पानी डाइभर्सन गर्ने नयाँ आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट थप २२ मेगावाट विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादनपछि सोही आयोजनाको पानी तामाकोशी जलविद्युत् केन्द्रको बाँधस्थलमा झारिनेछ ।
