नेप्से परिसूचक ३३.१७ अंकले घट्दा जलविद्युत् उपसमूहमा ७४.२५ अंकको गिरावट

सेयर कारोबारमा जलविद्युत्‌कै वर्चस्व, यो उपसमूहको मात्रै २३ अर्ब १२ करोडको कारोबार 

असार १४, २०८२

सीमा तामाङ

NEPSE index fell by 33.17 points, while hydro power sub-group declined by 74.25 points.

काठमाडौँ — अघिल्ला सातामा जस्तै यस साता पनि सेयर बजारमा जलविद्युत् कम्पनीहरूकै वर्चस्व रह्यो । यो साता सेयर कारोबार मापक नेप्से परिसूचक ३३.१७ अंकले घट्दा जलविद्युत् उपसमूह ७४.२५ अंकले घट्यो । गत साताको बिहीबार ३ हजार ६ सय २६ दशमलव ४७ बिन्दुमा बन्द भएको नेप्से यो बिहीबार ३ हजार ५ सय ५२ दशमलव २२ बिन्दुमा बन्द भएको नेप्सेको तथ्यांक छ । 

यो साता जलविद्युत् उपसमूह घटे पनि सबैभन्दा बढी कारोबार जलविद्युत् कम्पनीकै भएको छ । एनपी स्टक डटकमका अनुसार यो साता जलविद्युत् कम्पनीको मात्रै २३ अर्ब १२ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम र कमाउने अनि गुमाउने कम्पनीको सूचीमा जलविद्युत् कम्पनी नै अघि रहे । मुख्य १० कम्पनीको सूचीमा दुई विकास बैंक छन्, ८ वटा भने जलविद्युत् कम्पनी नै छन् । 

पञ्चकन्या माई हाइड्रोपावरको १७.१६, ग्रिन डेभलपमेन्ट बैंकको ११.१५, सप्तकोशी विकास बैंकको १०.८५, छ्याङ्दी हाइड्रोपावरको १०.१४ र जोशी हाइड्रोपावरको ९.४० प्रतिशतले सेयर मूल्य बढेको छ । पाँचथर पावर कम्पनीको ९.०३, खानीखोला हाइड्रोपावरको ८.१८, वरुण हाइड्रोपावरको ८.१०, तेह्रथुम पावरको ७.७१, मैलुङ खोला जलविद्युत्को ६.४० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

सेयर मूल्य कमाउने कम्पनीमा मात्र नभई गुमाउनेमा समेत जलविद्युत् कम्पनीकै वर्चस्व छ । दोर्दी खोला जलविद्युत्को १५.५१, पियोर इनर्जीको १३.२१, भूगोल इनर्जी डेभलपमेन्टको ९.६४, मध्यभोटेकोशी जलविद्युत्को ८.६०, रसुवागढी हाइड्रोपावरको ७.९८ र विन नेपाल लघुवित्तको ७.६९ प्रतिशतले मूल्य घट्यो ।

युनिभर्सल पावर कम्पनीको ७.२३, हिमालय ऊर्जा विकासको ६.७६, नेपाल इन्स्योरेन्सको ६.६४ र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ६.३९ प्रतिशतले घट्यो । यी कम्पनीका लगानीकर्ताले आफ्नो सेयर गुमाए । यो साता कुल ८ करोड ६३ लाख ६२ हजार ४ सय ६४ कित्ता सेयर किनबेच हुँदा ३५ अर्ब १० करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

पछिल्ला दिनमा नेप्सेले उकालो बाटो समात्न सकेको छैन । यसकारण सेयर लगानीकर्ताका संघसंस्थाले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर पुँजीबजारमा सकारात्मक प्रभाव पार्ने नीतिगत व्यवस्था मौद्रिक नीतिमा गर्न आग्रह गरेका छन् ।

भेटमा लगानीकर्ताले १५ करोडको व्यक्तिगत सेयर कर्जाको सीमा हटाउनुपर्ने, लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउने व्यवस्था परिमार्जन गर्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गर्न पाउने सीमा परिमार्जन गर्नुपर्ने माग गभर्नरसमक्ष राखेका छन् । आगामी मौद्रिक नीतिमा आफूहरूका माग समावेश गर्ने आश्वासन गभर्नर पौडेलबाट पाएको लगानीकर्ता बताउँछन् । 

अर्थतन्त्र राम्रोसँग चलामान नहुँदा लगानीकर्ताहरूमा ‘कन्फिडेन्स’ नबढेकाले सेयर बजार उकाले नलागेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाको भनाइ छ । ‘दुई वर्षअघि अर्थतन्त्रलाई सुरक्षित बनाउने आयातमा प्रतिबन्ध लगाउनेलगायत नीति सरकारले लियो, अर्थतन्त्र ‘सेफ ल्यान्डिङ’ आयो, अहिले ‘सेफ जोन’ बाट अघि बढ्दा र सबै सकारात्मक हुँदासमेत बजारले नीतिगत सहजता खोजिरहेको थियो, तर आउँदै आएन । त्यसले लगानीकर्तामा ‘फ्रस्ट्रेसन’ बढ्यो ।’ सबै सूचक सकारात्मक भए पनि लगानीकर्तामा ‘कन्फिडेन्स’ नआउँदा बजार बढ्न नसकेको उनको भनाइ छ । 

‘एउटा समय लगानीकर्ता फसेपछि अहिले थोरै नाफा भए पनि बुक गर्ने, साँवामै आउँदा पनि बजारबाट निस्किनुपर्छ भन्ने सोचले बजार बढ्न थाल्यो कि सप्लाई बढ्छ । यो भनेको लगानीकर्तामा कन्फिडेन्स नआएको हो,’ उनले भने, ‘सेयर बजार बढ्ने सबै आधार बनिसकेको छ । अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायनमान भइदिए लगानीकर्तामा कन्फिडेन्स आउँथ्यो र सेयर पनि माथि जान्थ्यो ।’

यो साता कारोबारमा आएका ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९५ कम्पनीको मूल्य घटेको छ । कारोबार रकमका आधारमा पनि जलविद्युत् कम्पनी नै अघि रहे । मुख्य १० कम्पनीमा जलविद्युत् नै उच्च रहेको नेप्सेले जनाएको छ ।

बुटवल पावर कम्पनीको २ अर्ब ६० करोड ८८ लाख, राधी विद्युत् कम्पनीको १ अर्ब ८९ करोड ९७ लाख, ङादी ग्रुप पावरको १ अर्ब ४५ करोड ९८ लाख, सानिमा माई हाइड्रोपावरको १ अर्ब ३६ करोड ८ लाखर सिंगटी हाइड्रोपावरको १ अर्ब २३ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।

NEPSE index fell by 33.17 points, while hydro power sub-group declined by 74.25 points.

दोर्दी खोला जलविद्युत्को ९९ करोड ८८ लाख, हिमालयन पावर पार्टनरको ९७ करोड ४९ लाख, युनिभर्सल पावर कम्पनीको ९२ करोड ५९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ८८ करोड २५ लाख र युनियन हाइड्रोपावरको ७९ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यो साता नेप्से १.२६ प्रतिशतले घटेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ५५ अर्ब १ करोड ५५ लाख रुपैयाँले घटेको छ । अघिल्लो बिहीबार ४३ खर्ब ७९ अर्ब ९० करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४३ खर्ब २४ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमि आउनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully