चिनियाँ उद्यमीलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको आमन्त्रण
बेइजिङ — नेपाल र चीनका स्वास्थ्य क्षेत्रका विज्ञहरूले आपसी डिजिटल स्वास्थ्य प्रणाली आत्मसात् गर्दै अगाडि बढ्न सुझाएका छन् । प्रविधिको तीव्र विकासको फाइदा र असल छिमेकपनको लाभस्वरूप सहकार्यलाई गहन पार्नुपर्नेमा पनि उनीहरूको जोड छ ।
चीनको ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासले बिहीबार साँझ भर्चुअल र भौतिक तरिकामार्फत आयोजना गरेको ‘स्वास्थ्य सेवाको भविष्य सम्पर्क : नेपाल–चीन डिजिटल स्वास्थ्य सहकार्य’ विषयक कार्यक्रममा उनीहरूले यस्तो धारणा व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश पठाउँदै चिनियाँ उद्यमीहरूलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण गरे । चीनले विगतदेखि नै नेपालको स्वास्थ्य सेवामा टेवा पुर्याउँदै आएको मन्त्री पौडेलको भनाइ छ । कोभिडदेखि नेपालको आयुर्वेदिक स्वास्थ्य क्षेत्रमा चीनले दिएको साथ र समर्थनको उनले प्रशंसासमेत गरे । नेपाल र चीनबीच इतिहासकालदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहेको र यस वर्ष नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव भएको उनले सम्झिए ।
पछिल्लो समय प्रविधिको योगदानले स्वास्थ्य क्षेत्रले फड्को मारेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले बताए । नेपालको दूरदराजमा भौगोलिक विकटताका कारण डिजिटल हेल्थ सिस्टम उपयोगी हुने उनले जनाए । चीनले नेपालका ठूला विपत्तिदेखि लिएर नियमित रूपमा स्वास्थ्य सहायता दिँदै आएको स्मरण गर्दै मन्त्री मगरले चीनको प्रविधिबाट नेपालको स्वास्थ्य क्षेत्र लाभान्वित हुन चाहेको प्रस्ट्याए ।
डिजिटल प्रविधि विलासिता नभएर समावेशी आवश्यकता भएको उनको भनाइ छ । बागमती प्रदेशले स्वास्थ्य स्तरोन्नतिका लागि चीनबाट लिएका प्राविधिक सहयोगबारे समेत उनले उल्लेख गरे । ग्लोबल डिजिटल अग्रणीका रूपमा चीनबाट पछिल्ला उन्नत प्रविधिबाट नेपालको स्वास्थ्य क्षेत्रले फाइदा लिन चाहेको उनले सुनाए ।
नेपालमा सिभिल हस्पिटलदेखि २०१५ भूकम्प वा कोभिड–१९ महामारीलगायतमा चीनको अतुलनीय सहयोगको महावाणिज्यदूत भरत खनालले स्मरण गरे । अबको जमाना प्रविधिमैत्री भएकाले डिजिटल हेल्थ सिस्टमको प्रभावकारिता बढ्दै जाने उनको भनाइ छ । ‘पहुँचयुक्त तथा सुलभ स्वास्थ्य सेवा तब मात्रै सम्भव हुन्छ, जब सबैका लागि डिजिटल हेल्थ केयरको अवधारणा विकास गर्न सकिन्छ,’ उनले भने । नेपाल सरकारले पनि डिजिटल प्रविधिलाई प्राथमिकतामा राखेको र प्रविधिमा फड्को मारेको चीनबाट सहकार्यको अपेक्षा गरिएको उनले जनाए ।
नेपाल चीनबीच स्वास्थ्य स्तरोन्नतिमा सहकार्य गर्न सकिने क्वाङतोङ स्वास्थ्य आयोगका उपमहानिर्देशक तङ लिनफङले औंल्याए । क्वाङतोङ प्रान्तमा भइरहेको डिजिटल विकास र प्रयोगबाट जनजीवन लाभान्वित भएको बारेमा उनले जानकारीसमेत प्रस्तुत गरे ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच गत डिसेम्बरमा भएको भेटवार्ता स्मरण गर्दै ग्वाङजाउ स्वास्थ्य आयोगका उपमहानिर्देशक चौ रुइह्वाले आपसी मित्रता र सहकार्यबारे चर्चा गरे । क्वाङतोङ प्रान्त नै डिजिटल हेल्थ इनोभेसनमा अग्रणी र मुख्य योगदानकर्ता भएकाले नेपालले पनि यसबाट फाइदा लिन सक्ने उनको भनाइ छ ।
चाइनिज एकेडेमी अफ साइन्स, ग्वाङ्झाउ इन्स्टिच्युट अफ बायोमेडिसिन एन्ड हेल्थ, चिनियाँ सन यात्सेन हस्पिटल, साउदर्न मेडिकल युनिभर्सिटी हस्पिटल, क्वाङतोङ फर्मास्युटिकल युनिभर्सिटी, मेडिकल उद्यमी, निजी अस्पताल, चीनमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थी, रोजगारीका सिलसिलामा रहेका नेपालीलगायतका प्रतिनिधि कार्यक्रममा उपस्थित थिए ।
