मंगलबार कारोबारमा आएका मध्ये १४२ कम्पनीको सेयर मूल्य घट्यो, १०७ कम्पनीको बढ्यो
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २ हजार ६ सय दशमलव ५३ अंकमा बन्द भयो । अघिल्लो दिनको तुलनामा ०.२२ अंकले ऋणात्मक रहे पनि समग्र नेप्से परिसूचक २६ सय अंकमै बन्द भएकाले यसलाई स्थिर रहेको विश्लेषण गरिएको छ । सोमबार नेप्से २ हजार ६ सय दशमलव ७६ अंकमा बन्द भएको थियो ।
नेप्से स्थिर र कारोबार रकम पनि घट्दा मंगलबार १०७ कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् । उक्त दिन कारोबारमा आएका मध्ये १४२ कम्पनीको सेयर मूल्य घट्दा १०७ कम्पनीको भने बढेको छ । बजार स्थिर रहँदा पनि सबैभन्दा धेरै कमाउने मुख्य पाँच कम्पनीको सूचीमा क्रमशः ओम मेगाश्री फर्मास्युटिकल्स, हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, पियोर इनर्जी र पाँचथर पावर कम्पनी छन् ।
तीमध्ये ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । अघिल्लो दिनको तुलनामा यो कम्पनीको सेयर मूल्य १०२.५० रुपैयाँ (८.०१ प्रतिशत) ले बढेको छ । अघिल्लो दिन १ हजार २ सय ७८ रुपैयाँ रहेको यो कम्पनीको प्रतिसेयर मूल्य मंगलबार बढेर १ हजार ३ सय ८५ पुगेको छ । यो कम्पनीको गत शुक्रबार ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाले लाभांश घोषणा नगरे पनि सर्वसाधारणबाट २ जना सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार हिमालयन पावर पार्टनरको सेयर मूल्य ७.८७, खानीखोला हाइड्रोपावरको ५.९७, पियोर इनर्जीको ५.८४ र पाँचथर पावरको ४.८३ प्रतिशतले बढेको छ । उक्त दिन सबैभन्दा धेरै गुमाउने मुख्य पाँच कम्पनीमा क्रमशः एनआईसी एसिया ऋणपत्र ०८५/८६, दोर्दीखोला जलविद्युत्, थ्रीस्टार हाइड्रोपावर, वरुण हाइड्रोपावर र त्रिशूल जलविद्युत् कम्पनी छन् । एनआईसी एसिया ऋणपत्रका सेयरधनीले ५.१७ प्रतिशतले नोक्सानी बेहोरेका छन् ।
मंगलबार नेप्से २६ सय दशमलव ५३ बिन्दुमा ओर्लिएको छ । उक्त दिन ६२ हजार ७ सय ५५ पटकको सेयर किनबेचबाट ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार कुल १ करोड ३८ लाख १८ हजार ५ सय ५९ कित्ता सेयर किनबेच भयो ।
उत्पादन तथा प्रशोधन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र बैंकिङ उपसमूह बढे भने बाँकी सबै उपसमूह घटे ।
पछिल्ला दिनमा नेप्सेले उकालो बाटो समात्न सकेको छैन । यसकारण सेयर लगानीकर्ताका संघसंस्थाले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने नीतिगत व्यवस्था मौद्रिक नीतिमा गर्न आग्रह गरेका छन् । भेटमा लगानीकर्ताले १५ करोडको व्यक्तिगत सेयर कर्जाको सीमा हटाउनुपर्ने, लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउने व्यवस्था परिमार्जन गर्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गर्न पाउने सीमा परिमार्जन गर्नुपर्ने गरी तीन माग गभर्नरसमक्ष राखेका छन् । आफूहरूको माग आगामी मौद्रिक नीतिमा समावेश गर्ने आश्वासन गभर्नर पौडेलबाट पाएका लगानीकर्ताहरूले बताएका छन् ।
