तीन महिनापछि आइतबार २६ सयभन्दा मुनि झरेको नेप्से सोमबार पुनः सोही बिन्दुमा पुगेर बन्द भएको छ
काठमाडौँ — अघिल्ला चार कारोबार दिन लगातार घटको नेप्से सोमबार झन्डै ५ अंकले बढ्यो । नेप्से बढ्दा पनि १ सय २४ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।
तीमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घट्यो । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेपछि नियन्त्रणका लागि नेप्सेले सर्किट ब्रेकर लगाएको थियो । यद्यपि सोमबार मात्र यो कम्पनीको सेयर मूल्य २ सय ३८ रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतिसेयर २ हजार ३ सय ८२ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य सोमबार २ हजार १ सय ४४ रुपैयाँमा ओर्लिएको हो । यो कम्पनीको सेयर मूल्य किन यति धेरैले घट्यो भन्ने निश्चित कारण भने छैन । तर पछिल्ला दिनमा यो कम्पनीको सेयर बिक्रीको चाप परिरहेको ब्रोकरहरू बताउँछन् । केही लगानीकर्ताले नाफा सुरक्षण (प्रोफिट बुक) गर्न चाहेकाले यो कम्पनीको सेयर मूल्य घटेको बताइएको छ । गुराँस लघुवित्तपछि धेरै सेयर मूल्य घट्ने कम्पनीहरूमा पियोर इनर्जी, दोर्दी खोला, सप्तकोशी विकास बैंक, बोटलर्स नेपाल (बालाजु) लगायत छन् । यी कम्पनीको सेयरको घट्ने दर भने कम छ ।
सोमबार दोस्रो बजारमा कारोबारमा आएका मध्ये १२३ कम्पनीको सेयर मूल्य बढ्यो र एउटा कम्पनीको स्थिर रह्यो । तीमध्ये सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । यो कम्पनीको सेयर मूल्य ३४ रुपैयाँ (९.९८ प्रतिशत) ले बढेको छ । यो कम्पनीले १ः०.६५ अनुपातका दरले हकप्रद सेयर वितरण गर्दै छ । त्यसका लागि आइतबार मात्र ‘बुक क्लोज’ को अन्तिम मिति सकिएको छ । सोमबार सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद सेयर पाउँदैनन् । यद्यपि, हकप्रद सेयर पाइने आशाले यो कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढेको जानकार बताउँछन् । जोशीसँगै पञ्चकन्या माई हाइड्रोपावर, वरुण हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधी विद्युत्लगायत कम्पनीको सेयर मूल्य पनि बढेको नेप्सेले जनाएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४.७८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१८ बिन्दुले सकारात्मक बनेपछि समग्र नेप्से २ हजार ६ सय ७६ अंकमा उक्लेर बन्द भएको छ । अघिल्ला चार कारोबार दिन लगातार घटिरहेको नेप्सेमा सोमबार करिब पाँच अंकको सुधार देखिएको छ । गत मंगलबारयता आइतबारसम्म नेप्से लगातार घटेको थियो । सोमबार नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको छ । नेप्से बढ्दा पनि धेरै कारोबार हुन नसक्नुलाई बजारको वृद्धिलाई कारोबारले समर्थन नगरेको अवस्थाका रूपमा विश्लेषण गरिन्छ ।
आइतबार करिब ३३ अंकले घटेपछि समग्र नेप्से २६ सयभन्दा मुनि झरेको थियो । यो पछिल्लो तीन महिनायताकै न्यून हो । यद्यपि सोमबार नेप्से करिब पाँच अंकले बढेर फेरि २६ सय बिन्दुमा उक्लेर बन्द भएको छ ।
‘बजारको प्रवृत्ति हेर्दा अहिले सेयर बजारले २६ सय बिन्दुलाई परीक्षण गरेको देखिन्छ । किनकि पटक–पटक तल जान खोज्छ, पुनः माथि आइहाल्छ,’ एक धितोपत्र ब्रोकरले भने, ‘अहिले बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले केही दिन नेप्से उच्च अंकको सुधार वा गिरावटको सम्भावना देखिँदैन ।’ खासगरी आगामी मौद्रिक नीति जारी नहुँदासम्म सेयर बजारले स्पष्ट दिशा समाउने सम्भावना नदेखिने ती ब्रोकरको भनाइ छ । ‘पूर्वगभर्नरहरूको तुलनामा नवनियुक्त गभर्नर विश्वनाथ पौडेल सेयर बजारप्रति उदार देखिनुभएको छ,’ ती अधिकारीले भने, ‘आफ्नो पहिलो मौद्रिक नीतिमा सेयर बजारप्रति कस्तो नीति अवलम्बन गर्नु हुन्छ, त्यसका आधारमा सेयर बजारको दिशा निर्धारण हुन्छ ।’ सोमबार ७० हजार ८ सय ३१ पटकको सेयर कारोबारमा १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ४७ करोड १९ लाख बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार ९ अर्ब १४ करोड ५८ लाखरुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, जीवन बिमा, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष, निर्जीवन बिमा र अन्यको परिसूचक घटे । बाँकी सात उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।
