‘बजेटमा टेक एन्ड पे पीपीए आउनु दुर्भाग्यपूर्ण’

असार ९, २०८२

कान्तिपुर संवाददाता

”Unfortunate to have Tech and Pay PPA in the budget”

काठमाडौँ — आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही (रन अफ द रिभर) जलविद्युत् आयोजनालाई लिऊ र तिर (टेक एन्ड पे) ढाँचामा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने प्रावधान दुर्भाग्यपूर्ण रहेको सांसद तथा विज्ञहरूले बताएका छन् ।

सोमबार नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनीहरूले ऊर्जा क्षेत्रलाई बचाउन बजेटमा आएको उक्त प्रावधान तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरे ।

संसदको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले बजेट पक्षपातपूर्ण रहेको र ऊर्जा क्षेत्रलाई बचाउन न्यायोचित निर्णय गर्न आवश्यक पहल गरिने बताए । 'स्वदेशी लगानीकर्ता र ६० लाखभन्दा धेरै सर्वसाधारण नेपालीको सेयर लगानी रहेको क्षेत्र भएकाले सबैको हित हुने गरी आवाज उठाइनेछ,' उनले भने।

सांसद उर्मिला माझीले बजेट ल्याउने सरकारका कसैलाई पनि ‘टेक एन्ड पे’को बारेमा जानकारी नहुनु लज्जास्पद भएको बताइन् । अर्की सांसद बिना लामाले यस विषयमा सरोकारवालालाई पूर्वाधार समितिमा डाकेर छलफल गर्ने र सच्याउन माग गर्ने बताइन् । सांसद निशा डाँगीले सरकारले ल्याएको 'टेक एन्ड पे' नीति असफल हुने दाबी गरिन् । सांसद दिनेशकुमार यादवले उक्त प्रावधान तत्काल फिर्ता लिन संसदमा आवाज उठाइरहेको बताए । सांसद महेश बस्नेत, सुशिला श्रेष्ठ र शिव नेपालीले पनि प्रभावकारी रूपमा उठान गरी सच्याउने काम गरिने जनाए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रमा नै प्रहार गरेको बताए । नीतिगत पूर्वाधारको अभाव खेपिरहेको ऊर्जा क्षेत्रमा सरकार संवेदनशील नभएको उनको भनाइ थियो । आगामी बजेटको बुँदा नसच्याइए कुनै पनि जलविद्युत् आयोजना निर्माण हुन नसक्ने संकट सिर्जना भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए । 'ऊर्जा क्षेत्रलाई चारैतिरबाट घेर्ने काम भएको छ, साँच्चिकै अप्ठ्यारोमा परेका छौं, सबैको सहयोग अपेक्षा गरेका छौं,' उनले भने।

कार्यक्रममा प्रस्तुति दिँदै इप्पानका उपमहासचिव प्रकाश दुलालले ‘टेक एन्ड पे’ नसच्याइए ऊर्जा क्षेत्र गम्भीर संकटमा पर्ने बताए । 'यस व्यवस्थाले १७ हजार ११७ मेगावाटका आयोजना पीपीए गर्न असम्भव हुन्छ,' उनले भने । इप्पानको आन्तरिक अध्ययन अनुसार, हालसम्म लगानी भइसकेको १ खर्ब ९ अर्ब रुपैयाँ डुब्नेछ, र भविष्यमा हुने ३३ खर्ब १४ अर्ब लगानी पनि नहुने खतरा छ । सरकारले आयोजना निर्माणको क्रममा प्राप्त गर्न सक्ने ३ खर्ब २७ अर्ब ६२ करोड र निर्माणपछिको ३१ खर्ब आम्दानी पनि गुमाउनु पर्ने उल्लेख छ ।

बैंकहरूले ‘टेक एन्ड पे’ मा आधारित पीपीए भएका आयोजनामा लगानी नगर्ने भएकाले उनीहरूको लगानीको क्षेत्र साँघुरिनेछ । यसले जलविद्युत् क्षेत्रमा सुरक्षित लगानीको वातावरण खल्बलिनेछ । एक मेगावाट आयोजनामा २–३ वर्षसम्म १०० जनाले रोजगारी पाउँछन् भने निर्माणपछि १० जनाले दीर्घकालीन रोजगारी पाउँछन् । ‘टेक एन्ड पे’ ले आयोजना निर्माण रोकिने हुँदा ठूलो संख्यामा रोजगारी गुम्ने र बेरोजगारी बढ्ने सम्भावना छ ।

सरकारले १० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने र भारतमा १०,००० मेगावाट निर्यात गर्ने महत्त्वाक्षी लक्ष्य पनि यसले प्रभावित पार्ने सम्भावना रहेको प्रवर्द्धकहरू बताउँछन् । प्रस्तुतिमाथि टिप्पणी गर्दै चार्टर्ड एकाउन्टेन्ट नारायण पौडेलले ‘टेक एन्ड पे’लाई ‘टेक अर पे’ बनाउनैपर्ने बताए । 'यस्तो संवेदनशील विषय कसले, किन, के उद्देश्यका लागि ल्यायो भन्ने प्रश्नको उत्तर पाउन सकिएको छैन,' उनले भने । अर्का चार्टर्ड एकाउन्टेन्ट घनश्याम पौडेलले ऊर्जा क्षेत्रलाई व्यवसायिक होइन, निर्वाहमुखी बनाउने दिशामा सरकारले अघि बढेको बताए । 'खपत वृद्धि गर्न नसकेको भन्दै उत्पादन नै बन्द गर्ने नीति दीर्घकालीन रूपमा घातक हुन्छ,' उनको भनाइ थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले नै निर्माण व्यवसायीलाई पर्याप्त विद्युत् नपाइरहेको अवस्थामा बजेटको यो प्रावधानले थप अफ्ठ्यारो ल्याउने बताए । सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापाले ऊर्जा उत्पादकलाई कमजोर बनाउँदा सिमेन्ट उद्योग पनि प्रभावित हुने बताए । 'यसलाई तत्काल सच्याउनुपर्छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully