‘पीपीएमा प्रसारण लाइन निर्माणको सुनिश्चितता चाहन्छौं’

अहिलेको समस्या विद्युत् उत्पादनभन्दा प्रसारणलाइनको रहेकाले प्राधिकरणले त्यसको सुनिश्चितता खोज्ने उनको भनाइ थियो ।

असार ८, २०८२

सीमा तामाङ

'We want assurance of transmission line construction in PPA'

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब हुने विद्युत् खरिद सम्झौता (पीपीए)मा आफूहरूले प्रसारण लाइन निर्माणको सुनिश्चितता चाहेको बताएका छन् । अहिलेको समस्या विद्युत् उत्पादनभन्दा प्रसारणलाइनको रहेकाले प्राधिकरणले त्यसको सुनिश्चितता खोज्ने उनको भनाइ थियो ।

शनिबार पत्रकारहरूसँगको भेटमा शाक्यले निजी क्षेत्र प्रसारण लाइन विस्तारको एजेन्डामा आइदिए सजिलो हुने बताए । ‘यस क्षेत्रको लगानी सुनिश्चितताका लागि पनि प्राधिकरणले प्रसारण लाइन विस्तारमा जोड दिनुपर्नेछ । नेपालभित्रको प्रसारण लाइन विस्तारमा समस्या छ । हामी प्रसारण लाइन बन्ने ग्यारेन्टी हुनुपर्छ भन्नेमा छौं,’ उनले भने, ‘उत्पादन, खपत तथा बिक्रीको सुनिश्चितता भएको अवस्थामा ‘टेक अर पे’ भन्ने शब्द राखिदिएको भए कसैलाई पनि आपत्ति हुने थिएन ।’  

अब प्रसारण लाइनको अर्को विकल्प नभएको उनले बताए । ‘उत्पादन गरेपछि बिजुलीले बजार पाउनै पर्छ । बजार (खपत) पनि छैन । स्टोरेजको व्यवस्था पनि छैन तर विद्युत् उत्पादन मात्रै गर्ने हो भने त्यो समस्या हुन्छ । ती सबैको सन्तुलनका लागि प्रसारण लाइन आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसमा पनि नेपालभित्रकै प्रसारण लाइन र क्रसबोर्डर प्रसारण लाइन । क्रसबोर्डर प्रसारण लाइनमा समस्या छैन । हामीले अहिले प्रसारण लाइनभन्दा क्रस बोर्डर लाइन मात्रै भनेर बुझिरहेका छौं ।’

क्रसबोर्डर लाइनसम्म पुग्नका लागि बलियो प्रसारण लाइन चाहिने भए पनि त्यसका लागि प्राधिकरणले जंगल, जनता र पैसाका समस्या भोगिरहेको उनले बताए । ‘आजका दिनसम्म दुईदेखि तीन सय मेगावाट बिजुली हामीसँग भएर पनि भारतलाई निर्यात गर्न सकिरहेका छैनौं । किनभने भरतपुर–दमौलीमा र काबेलीमा घाँटी सानो छ,’ उनले भने, ‘बाटो नभएकाले हामीले पठाउन सकेका छैनौं   । प्रसारण लाइनको नेटवर्क पनि कमजोर छ ।’

अब यो समस्या समाधानका लागि निजी क्षेत्रसँज सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully