नागढुंगा-मुग्लिन ९४.६६ किमि सडकमा दर्जनभन्दा बढी स्थानमा ठूला पहिरोको जोखिम, अघिल्लो बर्खाले यहाँ करिब ५ सय साना-ठूला पहिरो खसेका थिए
काठमाडौँ — भत्किएर आवतजावतमै मुस्किल भएको र सयौं स्थानमा पहिरोको जोखिम रहेको राजधानी भित्रने मुख्य मार्ग नागढुंगा–मुग्लिन सडकमा बर्खा लागेपछि स्तरोन्नतिका काम हुन थालेका छन् ।
नागढुंगादेखि मुग्लिनसम्म ९४.६६ किमि खण्डमा गत वर्षको बर्खामा करिब ५ सय स्थानमा साना–ठूला पहिरो खसेर कयौंले ज्यान गुमाएका थिए । कतिपय सवारीसाधन नै पहिरोमा पुरिएका थिए । तर सरकारले ठेकेदारहरूलाई दबाब दिएर समयमै काम सम्पन्न नगराएकाले वर्ष फेरिएर अर्को बर्खा लाग्दासम्म पनि पहिरोको जोखिम उस्तै छ, बिग्रिएका सडकको हालत त्यस्तै छ ।
सडक विभागको तथ्यांकअनुसार यो खण्ड भएर दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । यो सडक राजधानीको ‘लाइफलाइन’ नै हो । व्यक्तिको आवतजावत मात्र होइन, राजधानीका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुसमेत यही मार्ग भएर भित्रिन्छ । दूध, तरकारी, खाद्यान्न, लत्ताकपडादेखि औषधि र उपचारका सामग्रीसमेत यही सडक भएर आउने हुँदा अवरुद्ध भएमा राजधानीवासीको दैनिक जीवनयापनसमेत प्रभावित बन्नेछ ।
नागढुंगा चेकपोस्टबाट २.७ किमि दूरीमा रहेको झ्याप्ले खोलामा माथिबाट पहिरो खस्दा गत असोजमा रोकिराखेका दुईवटा माइक्रो र एउटा यात्रु बस पुरिएका थिए । अनुमान नै नगरिएको ठाउँबाट पहिरो खस्दा माइक्रो र बसमा सवार ३५ जनाको ज्यान गएको थियो । अहिले पनि ठूलो पानी पर्दा यो खण्डमा यात्रु र चालक डराउँछन् । यति मात्र होइन, नागढुंगादेखि मुग्लिनसम्म दर्जन बढी स्थानमा ठूला पहिरोको जोखिम कायमै रहेको सडक विभागका अधिकारीहरू नै बताउँछन् ।
‘बर्खा सुरु हुँदै गर्दा गत असोजको जस्तो पानी परेमा पुराना पहिरो गएका स्थानमा फेरि जान सक्ने जोखिम छ,’ नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझा भन्छन्, ‘त्यसैलाई ध्यानमा राखेर अहिले नागढुंगादेखि मुग्लिनसम्मको खण्डलाई तीनवटा प्याकेजमा विभाजन गरेर स्तरोन्नतिका काम भइरहेका छन् ।’
नागढुंगा–नौबिसे खण्डमा कामको प्रगति राम्रो भए पनि नौबिसे–मलेखु र मलेखु–मुग्लिन खण्डको प्रगति न्यून छ । अझै सबैभन्दा पहिरोको जोखिम रहेको मलेखु–मुग्लिन खण्डको प्रगति एकदमै कम छ ।
स्तरोन्नति थालिएको पहिलो खण्ड हो, नागढुंगा–नौबिसे । यस खण्डको दूरी १२.२६ किमि छ । अहिलेसम्म १२.१ किमिमा पहिलो तहको कालोपत्र भएको छ । झ्याप्ले खोलाको सय मिटर खण्डमा कालोपत्रको कामै हुन सकेको छैन । ‘त्यहाँ विशेष प्रकृतिको स्लोब स्टेबलाइजेसन (पहिरो नियन्त्रण) को काम भइरहेको छ, जसको आधा काम सकिइसकेको छ,’ ओझा भन्छन्, ‘यसको काम सकिएपछि कालोपत्र थाल्छौं ।’ उनका अनुसार यो खण्ड पहिरोको जोखिम क्षेत्रभित्र पर्छ । अहिले यस खण्डमा दुईतर्फी नै पहिलो तहको कालोपत्रको काम सकिएको छ । उक्त खण्डको समग्र भौतिक प्रगति ८४ प्रतिशत रहेको उनले सुनाए ।
स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएका हुन् । २९ चैत २०७८ मा भएको यस प्याकेजको निर्माण ठेक्का सम्झौताअनुसार २७ जेठ २०८१ भित्र काम नसकिएपछि माघ २०८१ सम्मका लागि म्याद थपिएको थियो, तर लक्ष्यअनुसार काम हुन सकेन । फेरि थपिएको म्याद १० साउन २०८२ सम्मका लागि छ । तर साउनसम्म काम सकिने अवस्था छैन ।
यस्तै खानी खोलामा पैदलयात्रीका लागि अपांगमैत्री अकासे पुल बनाउन लागिएको ओझा बताउँछन् । ‘उक्त ठाउँमा ९ वटामध्ये ८ वटा घर भत्काइसकिएको छ,’ उनी भन्छन्, ‘ह्विलचियर गुडाएर तलमाथि गर्न मिल्ने अपांगमैत्री पुल बनाउन लागिएको हो ।’ तर अकासे पुल बनाउन लाग्ने समय थप गरिने उनको भनाइ छ । ‘समयमै घर भत्काउन नसकिएकाले उक्त अवधिको समय निर्माण व्यवसायीलाई दिइन लागिएको हो,’ उनी भन्छन् ।
दोस्रो प्याकेजमा पर्छ, नौबिसे–मलेखु खण्ड । यसको दूरी ४३.५४ किमि छ । ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले यसको ठेक्का लिएका हुन् । १४ वैशाख २०७९ मा ठेक्का सम्झौता भएको यस खण्डको काम जेठ २०८२ भित्र सक्नुपर्ने थियो, उक्त सकिएन । अहिलेसम्म यसको भौतिक प्रगति ४२ प्रतिशत मात्र छ । यस खण्डमा दुवैतर्फी गरेर १३ किमि सडकमा पहिलो तहको कालोपत्र भएको छ । तेस्रो तहसम्म कालोपत्र गर्नुपर्नेमा दोस्रो तहकै काम सुरु भएको छैन ।
‘यस खण्डको म्याद कति थप गर्ने भन्नेबारे सडक विभागमा छलफलका क्रममा छौं,’ ओझा भन्छन्, ‘तर अब थपिएको समयभित्र काम सकिन्छ ।’ नागढुंगादेखि नौबिसेसम्म ४.७ किमि र नौबिसेदेखि मलेखुसम्म १७.५ किमि छुट्टै ‘क्लाइम्बिङ’ लेन बनाइनेछ । तीन लेन भएको ठाउँमा एक लेन ‘क्लाइम्बिङ’ बन्ने र मुग्लिनबाट काठमाडौंतर्फ आउँदा उकालो पर्ने ठाउँमा मालवाहक सवारीका लागि छुट्टै ‘क्लाइम्बिङ’ लेन बनाइएको उनको भनाइ छ । ओझाका अनुसार, यसै खण्डको गलौंदी खोलामा ढलान बिम राखेर पुल निर्माण गर्नुपर्ने भएकोले आइतबार र सोमबार राति साढे १० देखि बिहान ३ बजेसम्म सडक बन्द गरिने भएको छ ।
‘क्लाइम्बिङ लेन बनिसकेको छ, त्यो कुन लेन हो भनेर तेस्रो तहको कालोपत्र सकिएपछि मार्किङ गरेर छुट्याइन्छ,’ उनी भन्छन्, ‘कालोपत्रको काम बर्खापछि हुन्छ, बर्खा अवधिभर कालोपत्र गरिँदैन ।’ गत असोजको बाढीमा साना–ठूला गरेर धेरै ठाउँमा पहिरोको जोखिम निम्तिए पनि अहिले साना पहिरोको डर नभएको उनको दाबी छ । उक्त खण्डको झ्याप्ले खोला, नागढुंगा सुरुङको मुख, फुर्के खोला, १३ किमिको कमेरे भीर, चिरौनी खोला, परेवा भीरमा पहिरोको जोखिम कायमै छ ।
‘जोखिम क्षेत्र पहिचान गरेको ठाउँमा तत्काल उद्धार गर्न मिल्ने गरी उपकरण राख्ने तयारी छ, पहिरो खस्नसाथ पन्छाइहाल्ने संयन्त्र हुनेछ,’ उनले सुनाए, ‘पहिरोको जोखिम रहेको क्षेत्रमा अहिले पनि काम भइरहेको छ ।’ यस खण्डको बजार क्षेत्रमा ४ देखि ६ लेनसम्म सडक विस्तार हुनेछ । प्रायः धेरै ठाउँमा दुई लेन सडक बन्नेछ ।
तेस्रो प्याकेजमा पर्छ, मलेखु–मुग्लिन खण्ड । ३८.८६ किमि दूरीको यो खण्डको प्रगति ३१ प्रतिशत छ । शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएका हुन् । १५ पुस २०७९ मा भएको सम्झौताअनुसार पुस २०८२ भित्र काम सक्नुपर्ने हो । बजार क्षेत्रमा चार लेन सडकमा कालोपत्र गरिएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपाल बताउँछन् । उक्त खण्डमा ८ किमि कालोपत्र गरिएको छ ।
‘बर्खा सुरु भएपछि कालोपत्रको काम कम गर्दै लगेका छौं,’ नेपाल भन्छन्, ‘तर मौसमअनुकूल हुँदा काम गर्न समस्या छैन ।’ नाली बनाउने, रिटेनिङ वाल लगाउने काम चालु रहेको उनले सुनाए । यस खण्डमा कामको गति कम छ । सडक भत्काइएको छ, तर त्यो अनुसार निर्माणको काम गरिएको छैन । धूलो उडेर यहींको त्यहीं पनि देखिँदैन । ठाउँ–ठाउँमा कालोपत्र सडक उप्काइएकाले सवारी आवागमन असहज भएको छ ।
यही खण्डको चार ठाउँ चितवनको बारबाङ र मौवा खोला, धादिङको गौमति र खत्यौडी खोलामा पुल बनाउने काम ३० जेठदेखि राति सडक बन्द गरेर शनिबार सम्पन्न गरिएको छ । ‘भारतबाट क्रेन ल्याएर काम गर्नुपर्ने थियो, समयमै क्रेन नपाउँदा समस्या भयो, त्यसैले चार/पाँच महिनादेखि रोकिएको काम बल्ल सकिएको हो,’ नेपाल भन्छन्, ‘पहिला ढलान गरेर राखिएका हेभी बिमहरू क्रेनको सहायताले राखेर काम सकियो ।’
कृष्णभीरमा गत असोजको पानीले गर्दा सय मिटर सडक भासिएको थियो । तलबाट त्रिशूली नदीले कटान गरिरहेको छ । अहिले उक्त खण्डमा ‘माइक्रो पाइलिङ’ को काम गरिएको छ । ‘माइक्रो पाइलिङ’ को काम सकिएकाले केही दिनभित्रैमा होरिजेन्टल एंकरको काम थाल्छौं,’ नेपाल भन्छन्, ‘पानी छिरेर समस्या भएको विज्ञहरूबाट कुरा आएपछि समस्या आउन नदिन ढलानको काम पनि गरिसकिएको छ ।’
मलेखु–मुग्लिन खण्डको रातमाटे, शीतल बजारनजिक, विशाल बजारनजिक, ज्यामिरेघाट, जवाङ खोला, मौवा खोला, घोप्टेभीर र कृष्णभीरमा ठूलो पहिरोको जोखिम छ ।
‘त्यसैले एक्स्काभेटर, लोडर र ट्रिपर तीन ठाउँ कुरिनटार, हुग्दी खोला र मलेखुमा तैनाथी अवस्थामा राखेका छौं,’ उनी भन्छन्, ‘यी मेसिन पहिरो हटाएर छिटो सडक सुचारु गर्न प्रयोग हुनेछन् ।’
पहिरोको जोखिम क्षेत्र
