सन् २०२४ को पहिलो ६ महिनामा ब्राजिलमा बेचिएका ईभीमध्ये ८९ प्रतिशत चिनियाँ, अघिल्लो महिना मात्रै २० वटा फुटबल मैदान बराबरको कार्गो पानीजहाजमार्फत ७ हजार ३ सय नयाा बीवाईडी ब्राजिल ढुवानी, ब्राजिलमा चीनबाट आयात हुने सवारीको संख्या यस वर्ष ४० प्रतिशतले बढ्ने अनुमान
काठमाडौँ — चीनको प्रमुख विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले ब्राजिलमा सस्तो मूल्यका विद्युतीय कार धमाधम निर्यात गरिरहेको छ । अघिल्लो महिना मात्रै २० वटा फुटबल मैदान बराबरको विशाल कार्गो पानीजहाजमार्फत ७ हजार ३ सय नयाँ बीवाईडी ब्राजिलको इटाजाइ बन्दरगाहमा ढुवानी गरिएको थियो । यो पछिल्लो एक वर्षमा ब्राजिलतर्फ गएको चौथो ठूलो चिनियाँ कार्गो पानीजहाज थियो ।
चिनियाँ कारको यस्तो ओइरोले स्थानीय उद्योग धराशायी बनेको र रोजगारी प्रभावित हुने भन्दै ब्राजिलका अटो व्यवसायीले चिन्ता व्यक्त गरेको रोयटर्सले जनाएको छ । विभिन्न देशमा आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा बीवाईडीले हाल उल्लेख्य मात्रामा कार्गो पानीजहाज परिचालन गरिरहेको छ । अहिले ब्राजिललाई मुख्य गन्तव्य बनाउँदै बीवाईडीले हालसम्म करिब २२ हजार कार निर्यात गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । बीवाईडीसँगै ब्राजिलमा अन्य चिनियाँ ब्रान्डले पनि उपस्थिति बढाएका छन् । ब्राजिलमा चीनबाट आयात हुने सवारीसाधनको संख्या यस वर्ष ४० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
ब्लुमबर्गका अनुसार चीनमा यस वर्षको पहिलो ६ महिनामा बिक्री भएका १० मध्ये ९ वटा गाडी विद्युतीय थिए । सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने प्रारम्भिक चरणमै रहेको भए पनि ब्राजिलमा यो क्रम तीव्र गतिमा अघि बढेको देखिन्छ । त्यहाँ सन् २०२४ को पहिलो ६ महिनामै ५५ हजार युनिट यात्रुवाहक ईभी बिक्री भएका थिए । ईभीको बजार बढिरहँदा ब्राजिलमा चिनियाँ गाडीको ओइरो लागेको हो । युरोपेली संघ र संयुक्त राज्य अमेरिकामा जस्तो यस दक्षिण अमेरिकी देशमा चिनियाँ ब्रान्ड र उत्पादनलाई नीतिगत अवरोध छैन ।
चिनियाँ ईभी कम्पनीहरूले ब्राजिल जस्तै उदीयमान, कम प्रतिस्पर्धा र माग उच्च भएका बजारमा विशेष ध्यान दिँदै निर्यात बढाएका छन् । सन् २०२४ को पहिलो ६ महिनामा ब्राजिलमा बेचिएका ईभीमध्ये ८९ प्रतिशत चिनियाँ कम्पनीका थिए भने सन् २०२३ मा यो संख्या २४ प्रतिशत मात्रै थियो । बीवाईडीले सन् २०१५ देखि नै ब्राजिलमा आफ्ना ईभी र प्लग–इन हाइब्रिड भेहिकल बेच्न थालेको थियो । सन् २०२३ र २०२४ को तुलनामा यस कम्पनीका गाडीको बिक्री ३२७ प्रतिशतले वृद्धि भएको ब्राजिलका पत्रकार गाब्रियल डारोसले ‘रेस्ट अफ वर्ल्ड’ मा लेखेका छन् । उनका अनुसार ईभी आयातमा ब्राजिलले लागू गरेको शून्य कर नीतिका कारण यो वृद्धि सम्भव भएको हो ।
तर यस्तो अवस्था सधैं नरहने पत्रकार डारोसले प्रस्ट्याएका छन् । किनभने ब्राजिलले हाल ईभी आयातमा निरन्तर बढ्ने कर नीति लागू गरेको छ । यसअनुरूप सन् २०२४ मा १० प्रतिशत हुँदै सन् २०२६ सम्ममा ईभी आयात गर्दा ब्राजिलमा ३५ प्रतिशत भन्सार कर तिर्नुपर्नेछ । हाल १८ प्रतिशत कर लाग्नेमा अर्को महिना यो बढेर २५ प्रतिशत पुग्दै छ । यस्तो कर कानुन लागू गर्न ब्राजिलका प्रभावशाली अटो निर्माताहरूको ‘लबिइङ’ ले काम गरेको डारोसको विश्लेषण छ ।
रोयटर्सका अनुसार चिनियाँ ईभी निर्माता कम्पनीले ब्राजिलकै कलकारखानामा लगानी गर्नुको साटो अस्थायी रूपमा घटाइएको करको फाइदा उठाएर धमाधम कार बेचिरहेको ब्राजिलका उद्योगी र मजदुर संगठनहरूको आरोप छ । यस्तो प्रवृत्तिले रोजगारी सिर्जनामा भूमिका नखेलेको उनीहरूको गुनासो छ । इलेक्ट्रिक कार आयातमा क्रमैसँग कर वृद्धि गर्नुभन्दा १८ प्रतिशत रहेको आयात कर एकैसाथ बढाएर ३५ प्रतिशत पुर्याउन स्थानीय उद्योगीले सरकारलाई दबाब दिइरहेको रोयटर्सले जनाएको छ ।
‘विभिन्न देशले चिनियाँ कारको आयातमा रोक लगाइरहेका बेला ब्राजिलले ढोका खुला राख्यो, चीनले त्यसको फाइदा उठाएको छ,’ इन्डस्ट्रियल ब्राजिलका अध्यक्ष एवं मर्सिडिज–बेन्जका प्रतिनिधि आरोएल्डो दा सिल्भाले भनेका छन् । यस विषयमा बीवाईडीले भने कुनै प्रतिक्रिया नदिएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आयातमा सहजीकरणसँगै विद्युतीय सवारी प्रोत्साहनका लागि ब्राजिल सरकारले स्थानीय उद्योग र उत्पादनलाई पनि सघाउने गरी कार्यक्रम लागू गर्दै आएको ब्लुमबर्गको समाचार ‘डिड यु स्पट अ न्यु ईभी इन ब्राजिल ? इट्स प्रब्ली चाइनिज’मा उल्लेख छ ।
गत जुनमा ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले देशको नयाँ ट्रान्सपोर्ट डिकार्बोनाइजेसन नीति ‘ग्रिन मोबिलिटी एन्ड इन्नोभेसन प्रोग्राम’ लाई कानुनी मान्यता दिएका थिए । यस कार्यक्रममार्फत ब्राजिलले हाइब्रिड र ईभीलगायत कम धूवाँ फाल्ने गाडीको निर्माण र खरिदमा कर छुट दिने व्यवस्था लागू गरेको छ । यो नीतिपछि बीवाईडी र ग्रेटवाल मोटरजस्ता चिनियाँ कम्पनीले ब्राजिलमै कारखाना खोली विद्युतीय गाडी उत्पादन गर्ने योजना बनाएका छन् । तथापि उनीहरूले हालसम्म कुनै पहल नगरेको स्थानीय उद्योगीहरूको भनाइ छ ।
विश्वमा ठूला गाडी निर्माण हुने देशमध्ये ब्राजिल आठौंमा पर्छ । अब त्यहाँ चिनियाँ कम्पनीले विद्युतीय गाडी उत्पादन गर्न थाले यो देश ल्याटिन अमेरिकी भेगमा ईभीको केन्द्र बन्ने विज्ञहरूले औंल्याएका छन् । चिनियाँ कम्पनीहरूको अग्रसरतामा ब्राजिल निकट भविष्यमै ल्याटिन अमेरिकाका लागि विद्युतीय गाडी निर्यातको एक प्रमुख केन्द्र वा निर्यात हबका रूपमा उदाउन सक्ने उनीहरूको आकलन छ ।
चीनमा हाल उल्लेख्य मात्रामा कार उत्पादन भइरहेको छ । यसले गर्दा निर्यातमा पनि तीव्र वृद्धि देखिन्छ । सन् २०२३ मै जापानलाई उछिनेर चीन विश्वकै सबैभन्दा धेरै सवारी निर्यातकर्ता बनेको थियो । चिनियाँ गाडीहरू युरोप, दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकी बजारमा फैलिरहेका छन् । विश्वकै आठौं ठूलो कार मार्केट भएकाले चिनियाँ ब्रान्डका लागि ब्राजिल महत्त्वपूर्ण छ । त्यहाँ भक्सवागन, जनरल मोटर्स, जिप जस्ता कम्पनीले कार उत्पादन गरिरहेका छन् ।
घरेलु बजारमा चर्को प्रतिस्पर्धाका कारण बीवाईडीले हाल आफ्नो सस्तो ‘सिगल’ कारको मूल्य १० हजार डलरभन्दा तल झार्नुपरेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि चिनियाँ ब्रान्डमाथि कर बढेको छ । युरोपले ४५.३ र अमेरिकाले १०० प्रतिशतभन्दा बढी भन्सार कर लगाउनुका साथै चिनियाँ सफ्टवेयरमा प्रतिबन्ध लगाएको छ । ब्राजिलले भने सन् २०१५ मा विद्युतीय गाडीको प्रयोग बढाउन आयात कर छुट दिएको थियो । अब त्यो कर प्रत्येक ६ महिनामा बढ्दै सन् २०२६ मा ३५ प्रतिशत पुग्ने तालिका बनाएको छ । त्यो अवस्थामा बीवाईडी र अन्य चिनियाँ ईभी निर्माताहरूको ब्राजिलमा कस्तो बजार रणनीति हुन्छ, यसबारे कुनै जानकारी बाहिरिएको छैन । (एजेन्सीको सहयोगमा)
