काठमाडौँ — इजरायल-इरान युद्ध सुरु भएको एक साता नाघेको छ । दुवै देशले एक अर्कामाथि मिसाइल आक्रमण शुक्रबार पनि जारी राखेका छन् । यी दुई देशबीचको युद्धको प्रत्यक्ष प्रभाव त्यहाँ रहेका नागरिकमै परेपनि अप्रत्यक्ष प्रभाव भने नेपाली बजारमासमेत पर्ने देखिन्छ ।
किनकी चालु आर्थिक वर्षको पहिलो ११ महिनामा इजरायलबाट १ अर्ब १५ करोड ६३ लाख ८८ हजार रुपैयाँको वस्तु आयात गरेको छ भने इरानबाट यही अवधिमा ६ करोड ७० लाख ६५ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।
५५ सय नेपाली कार्यरत रहेकाे इजरायलमा द्वन्द्वको प्रभाव बढ्दै गएमा त्यहाँ रहेका नेपालीमा त पर्ने छ नै त्यहाँबाट नेपालमा आयात हुने सामानमा पनि पर्ने नै छ । भन्सार विभाग प्राप्त झन्डै ६ वर्षको तथ्यांक केलाउँदा हरेक वर्ष इजरायलबाट हुने आयात बढ्दाे क्रममा देखिन्छ ।चालु आर्थिक वर्षको पहिलो ११ महिनामा इजरायलबाट १ अर्ब १५ करोड ६३ लाख ८८ हजार रुपैयाँको वस्तु आयात भएको छ । जबकी निर्यात भने ५ करोड ४९ लाख १८ हजार रुपैयाँको भएको छ । गत आर्थिक वर्षभर इजरायलबाट १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँको वस्तु आयात भएको थियो । निर्यात भने ४ करोड २२ लाखको भएको थियो ।
इजरायलसँग अर्बौं रुपैयाँको कारोबार भइरहेपनि इरानसँगको वार्षिक व्यापार भने नगन्य रहेको छ । युद्धमा होमिएको इरानमा नेपालीको संख्या पनि नगन्य रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार इरानमा जेलमा रहेका ५ सहित १७ नेपाली मात्रै रहेका छन् । चालु आर्थिक वर्षको ११ महिनामा इरानबाट ६ करोड ७० लाख ६५ हजार रुपैयाँको वस्तु आयात भएको छ ।
इरानमा हाम्राे निर्यात पनि नगन्य नै छ । विभागका अनुसार चालु आर्थिक वर्षका ११ महिनामा इरानमा ८५ लाख ९३ हजार रुपैयाँको सामान मात्रै निर्यात भएको छ । गत आर्थिक वर्षमा इरानबाट २ करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु आयात भएको थियो । उक्त वर्ष इरानमा ४० लाख ८८ हजार रुपैयाँको मात्रै निर्यात भएको थियो ।
इरान र इजरायलबीचको युद्धले वैदेशिक व्यापारमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्ने पूर्ववाणिज्य सहसचिव रवि सैंजुले जनाए ।
‘इरानसँग नेपालमा व्यापार त्यति छैन । तर इजरायलबाट अर्बौं रुपैयाँका विभिन्न वस्तु आयात हुन्छन्, निर्यात भने करोडमा हुन्छ,’ सैंजुले भने, ‘युद्ध चर्किँदै गए अमेरिका र युरोपमा हुने आयात–निर्यातमा पनि समस्या उत्पन्न हुन्छ ।’ इरान र इजरायलसँग धेरै व्यापार नभए पनि अन्य देशसँगको व्यापारलाई समेत त्यसले प्रभाव पर्ने उनले बताए । भने, ‘सबैभन्दा असर कच्चा तेल र त्यसबाट हुने मूल्यवृद्धि नै हो ।’
