काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको कम्पनी ट्रम्प अर्गनाइजेसनले मंगलबार सार्वजनिक गरेको ‘टी वान’नामक स्मार्टफोनलाई लिएर यतिबेला खूब चर्चा छ । सुनौलो रङमा बनाइएको यस फोनका लागि प्रिअर्डर खुला गरिएको छ भने यो डिभाइस सेप्टेम्बरदेखि बजारमा आउने भनिएको छ ।
रोचक चाहिँ ट्रम्पले यसलाई 'पूर्णरूपमा अमेरिकामा बनेको' भनेर दाबी गरे पनि प्रविधि विज्ञहरूले पत्याएका छैनन् । उनीहरूका अनुसार धेरै हदसम्म यो फोन चीनको कुनै फार्मले डिजाइन र निर्माण गरेको हो ।
टी वान फोनको मूल्य एप्पल र सामसङका पछिल्ला मोडलभन्दा सस्तो ४९९ डलर तोकिएको छ । उक्त फोन गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्नेछ । ट्रम्प अर्गनाइजेसनले टी वान फोन संयुक्त राज्य अमेरिकामै निर्माण गरिने दाबी गरेको छ । प्रविधि विज्ञहरूले त्यो सम्भव नभएको बताइरहेका छन् ।
‘यो फोन सुरुदेखि नै पूर्णरूपमा अमेरिकाभित्रै डिजाइन र निर्माण गरिएको वा अमेरिकामै असेम्बल गरिनेछ भन्नु असम्भव जस्तै हो,’ इन्टरनेसनल डेटा कोर (आईडीसी) का उपाध्यक्ष फ्रान्सिस्को जेरोनिमोले सीएनबीसीसँग भनेका छन्, ‘यो सम्भव नै छैन ।’ जेरोमीका अनुसार टी वान फोनको प्रोटोटाइप सम्भवतः कुनै चिनियाँ ओडीएमले तयार गरेको हो । ‘अमेरिकन-मेड’ भनेर प्रचार गरिए पनि यो कुनै चिनियाँ ओडीएमद्वारा उत्पादन हुने काउन्टरप्वाइन्ट रिसर्चका विश्लेषक ब्लेक प्रजेस्मिकीले सोमबार एक नोटमा लेखेका थिए ।
काउन्टरप्वाइन्ट रिसर्चका अनुसन्धान निर्देशक जेफ फिल्डह्याकले पनि अमेरिकामा यस्तो फोन बनाउन आवश्यक उपकरण र पूर्वाधार नभएको बताएका छन् । ट्रम्पले यसअघि एप्पलजस्ता ठूला कम्पनीलाई अमेरिकामा उत्पादन गर्न दबाब दिएका थिए । तर स्मार्टफोन बनाउन आवश्यक धेरै पाटपुर्जा (चिप, स्क्रिन, क्यामेरा आदि) अन्य देशहरूबाट ल्याउनुपर्ने हुन्छ । उदहारणका लागि क्यामरामा प्रयोग हुने चिप जापानको सोनी कम्पनीले बनाउँछ भने मेमोरी चिपहरू अमेरिकी कम्पनी माइक्रोन वा कोरियाली कम्पनी सामसङले बनाउँछ ।
ट्रम्पले अमेरिका आयात हुने उपकरणहरूमा ट्यारिफ लगाउने धम्की दिनुका साथै एप्पलको आपूर्ति श्रृंखलामा पनि दबाव दिइरहेका छन् । उनले सबै आइफोन अमेरिकामै बनाउन भनेका छन् । तर, आइफोनजस्ता डिभाइस पूर्ण रूपमा अमेरिकामा बनाउन लगभग असम्भव रहेको र यसले आइफोनको मूल्य पनि धेरै महँगो बनाउने विज्ञहरूले औँल्याएका छन् ।
टी वान मोबाइल मात्रै होइन ट्रम्पले यसअघि आफ्ना चुनावी अभियानलाई आवश्यक प्रचार सामग्रीदेखि उनका ब्रान्डहरू चिनियाँ उत्पादनमा निर्भर रहँदै आएको सञ्चार माध्यमहरूले उजागर गर्दै आएका छन् । द इकोनमिक टाइम्सले जनाएअनुसार ट्रम्पले सन् २०१६ देखि नै चीनको आनहुई प्रान्तमा रहेको ‘जियाहाओ फ्ल्याट कम्पनी’ मार्फत आफ्नो चुनावी प्रचारका लागि ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) लेखिएका ह्याट, ब्यानर र झण्डाहरू बनाउँदै आएका छन् ।
चिनियाँ सरकारी मिडिया सीजीटीएनको ‘चाइना २४’ कार्यक्रममा जियाहाओ फ्ल्याट कम्पनीको कारखानाबाट दैनिक हजारौँ मागा ब्यानर उत्पादन गर्ने गरिएकोबारे भिडियोमै देखाइएको थियो । अमेरिकी उत्पादन किन्न र अमेरिकीलाई नै काम दिन आग्रह गर्दै आएका ट्रम्पमाथि सो भिडियो भाइरल भएपछि निकै आलोचना भएको थियो ।
