काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २४.७६ अंकले घटेको छ । शून्य दशमलव ९३ प्रतिशतले घटेर नेप्से २ हजार ६ सय २८.९१ विन्दुमा बन्द भएको हो । नेप्से गत मंगलबार ३.९० र बुधबार १.०७ अंकले घटेको थियो ।
कुल ४७ कम्पनीको सेयर मूल्य घट्यो भने २०१ कम्पनीको मूल्य बढ्यो । कुल १३ उपसमूहहरु नै घट्यो । सबैभन्दा बढी व्यापार १०४.९४, उत्पादन तथा प्रशोधन ७३.२३, होटल तथा पर्यटन ६७.६१ र विकास बैंक ६०.२६ अंकले घटेको छ ।
साताको अन्तिम कारोबार दिन १ लाख २१ हजार ५५१ पटकको सेयर किनबेचबाट ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
जलविद्युत् उपसमूह ४९.५७ अंकले घट्दा पनि पञ्चकन्या माई हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी, शिवश्री हाइड्रोपावर, पाँचथर पावर कम्पनी र आँखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने बढ्यो ।
पञ्चकन्या माई हाइड्रोपावरको मूल्य ९.९८, मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ५.५५, शिवश्री हाइड्रोपावरको ४.०४, पाँचथर पावर कम्पनीको ३.५९ र आँखु खोला जलविद्युत्को ३.२३ प्रतिशतले सेयर मूल्य बढ्यो ।
