लगानीकर्ताको आत्मविश्वास खस्किएकाले उनीहरू पर्ख र हेरको अवस्थामा, बजार उकालो लाग्न ठूलै धक्का आवश्यक
काठमाडौँ — पछिल्ला केही सातायता सेयर बजारको प्रवृत्ति हेर्दा वृद्धिको बाटो समात्न नेप्सेलाई निकै सकस परेको देखिन्छ । धेरैजसो दिन नेप्से घट्नु र बढेको दिनमा पनि झिनो अंकले मात्र सकारात्मक हुने प्रवृत्तिले वृद्धिको बाटो समात्न सेयर बजारलाई मुस्किल भइरहेको विश्लेषक बताउँछन् ।
बैंकहरूको ब्याज करिब ४७ महिनायताकै न्यून छ । सामान्यतया बैंक ब्याजदर र नेप्सेबीच नकारात्मक (अप्रत्यक्ष) सम्बन्ध रहन्छ । जसअनुसार ब्याजदर उकालो लाग्दा सेयर बजार ओरालो र ब्याजदर ओरालो लाग्दा नेप्से उकालो लाग्नुपर्ने हो । तर ब्याजदर लगातार घटेर निकै तल आइसक्दा पनि सेयर बजार बढ्ने कुनै संकेतसम्म पनि देखिँदैन ।
सेयर बजारको यो प्रवृत्तिलाई विश्लेषकहरूले लगानीकर्ताको आत्मविश्वास खस्किएको, उनीहरू पर्ख र हेरको अवस्थामा रहेको, बजारले ठूलै धक्का (बिग पुस) खोजेको रूपमा विश्लेषण गरेका छन् । हाल बजारमा कारोबार रकम बढ्ने तर नेप्से बढ्न नसक्ने सेयर बजारको यो प्रवत्तिलाई स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतीले लगानीकर्ताभन्दा व्यापारी (ट्रेडर) हाबी भएको बताएका छन् ।
बजारमा दीर्घकालीन सोचका लागि भन्दा पनि छोटो समयमा नै कमाउन खोज्ने अल्पकालीन प्रवृत्ति हाबी भएकाले धेरै पटक सेयर किनबचे हुने गरेको र यसले कारोबार रकम बढाएको उनीहरूको तर्क छ ।
‘सेयर बजारमा लगानीकर्ताभन्दा व्यापारी (ट्रेडर) हाबी भएकाले यो अवस्था आएको हो,’ सिजापतीले भने, ‘अहिले बजारमा निश्चित समूहहरू हाबी भएको देखिन्छ । त्यो समूहले कुनै कम्पनीको सेयर मूल्य माथि लाने अनि बेच्ने गरेका छन् । पछिल्लो एक महिनामा कारोबार भएका कम्पनीको अवस्था हेर्दा यो पुष्टि हुन्छ ।’ उनका अनुसार आधारभूत र प्राविधिक रूपमा कतैबाट पनि सपोर्ट नगर्ने कम्पनीहरूको सेयर मूल्यमा अत्यधिक बढोत्तरी आएको देखिन्छ, त्यसले पनि बजारमा निश्चित समूह हाबी भएको बलियो प्रमाण हो ।
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १.०७ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.०४ प्रतिशतले घटेपछि बनेपछि समग्र नेप्से २ हजार ६ सय ५३.६८ अंकमा उक्लेर बन्द भएको छ । आइतबार र सोमबार सामान्य अंकले बढेको नेप्से मंगलबार झिनो अंकले घटेको थियो । बुधबार पनि नेप्सेले मंगलबारकै प्रवृत्ति पछ्याएको हो ।
