काठमाडौँ — लामो समयदेखि उद्योगमा भइरहेको विद्युत् ट्रिपिङप्रति संवेदनशील बनिदिन नेपाल विद्युत् प्राधिकरणलाई पूर्वका उद्यमीहरुले आग्रह गरेका छन् । सम्बन्धित निकायमा बारम्बार यससम्बन्धी गुनासो टिपाइरहे पनि सम्बोधन नभएको र आफूहरुले आश्वासन मात्र पाएको उनीहरुको भनाइ छ ।
वर्षायाम सुरु भएसँगै विद्युत् उत्पादन वृद्धि भई निरन्तर आपूर्ति हुने आश्वासन पाएका सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी हाल दैनिक कयौपटक भईरहेको ट्रिपिङका कारण प्रताडित भइरहेको उद्योग संगठन मोरङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणले भारत तथा बंगलादेशमा बिजुली निर्यात गरिरहेको बेला स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत् कटौतीको मार खेपिरहेको मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । ‘दैनिक निरन्तर भइरहने ट्रिपिङले उद्योगको मिल मेसिनरीमा बिग्रन गएको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको, काम नभई श्रमिक राख्नु परेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको उद्योगी व्यवसायीको गुनासो सम्बन्धित निकायलाई बारम्बार सुनाउादा समेत समस्या समाधानमा ठोस पहल भएन,’ विज्ञप्तिमा उल्लेख छ ।
वर्षायाम सुरु भएसँगै औद्योगिक करिडोरमा निरन्तर विद्युत् आपूर्ति हुने आशामा रहेका उद्योगी व्यवसायीको आशाविपरीत हाल दैनिक कयौंपटक भइरहेको ट्रिपिङका कारण निराश बढ्दै गएको राठीले बताए ।
सुख्खायामा विद्युत्को अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको भन्दै उनले विद्युत् आपूर्तिमा देखिने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न विद्युत् प्राधिकरणलाई संवेदनशील हुन आग्रह गरे ।
संगठनले यसअघि हरेक वर्ष सुख्खायाममा विद्युत् आपूर्ति अवरोध हुँदा उद्योग व्यवसायले भोग्नु परेको आर्थिक क्षतिको तथ्यांकसहित प्राधिकरणको बारम्बार ध्यानाकर्षण गराउँदासमेत नियामक निकायबाट समाधानको ठोस योजना नआएकोमा दु:ख व्यक्त गर्दै यसको जिम्मेवारी कसले लिने ? भनि उनले प्रश्न गरे ।
अध्यक्ष राठीले हाल देखिएको ट्रिपिङको समस्यालाई समाधान गर्न र आगामी सुख्खायाममा आउन सक्ने विद्युत् अभावको समस्यालाई सम्बोधन गर्न अहिलेदेखि काम गर्न अनुरोध गरे ।
