दैलेखमा १ सय १२ अर्ब घनमिटर मिथेन ग्यास

असार ५, २०८२

कृष्णप्रसाद गौतम

112 billion cubic meters of methane gas in Dailekh

सुर्खेत — दैलेखमा १ सय १२ अर्ब* प्राकृतिक ग्यास रहेको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिणाममा मिथेन ग्यास भएको पत्ता लागेको हो ।

यसको अन्तिम प्रतिवेदन भने आउन डिसेम्बरसम्म आउने विभागले जनाएको छ । चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास जलजलेमा रहेको पत्ता लागेको हो । अब परीक्षण उत्पादन गरेर त्यसको यकीन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ । 

चीनको सरकारी निकाय २०८० वैशाख २८ गतेदेखि झण्डै डेढ वर्ष  ड्रिलिङ गरेर त्यसको अध्ययन गरेको थियो । ‘हामीले ४ हजार १३ मिटरसम्म ड्रिलिङ गरेका थियौ,’ विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले भने, ‘जसको १/१ मिटरको स्याम्पल परीक्षणका लागि पठाएका थियौ, अब बाँकी प्रक्रियाका लागि खुवै देशका सरकारबीच थप सम्झौता भइ काम अघि बढ्नेछ ।’ 

चिनियाँ टोलीले ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना संकलन गरी चीन लगेको थियो । ‘पेट्रोलियम पदार्थको अनुमान गरेर अन्वेशणको काम थालिएको थियो, अहिले ग्यास धेरै रहेको पाइयो,’ उपमहानिर्देशक नापितले भने, ‘प्रारम्भिक प्रतिवेदनले सकारात्मक सन्देश दिएको छ, अब व्यावसायिक परीक्षणको बाटो खुलेको छ ।’

*यसअघि दैलेखमा भेटिएको मिथेन ग्यासको परिमाण १ सय १२ अर्ब घनमिटर  हुनुपर्नेमा १ अर्ब १२ करोड हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ । -सम्पादक

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully