काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् । कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु नाम पुस्तकको राजधानीमा विमोचन गर्दै अर्थमन्त्री पौडेलले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरूको कमी रहेको बताएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार प्रकृतिको वरदानका रूपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ । प्रचुर सम्भावनाहरुलाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताए । विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्नसके देश छिट्टै विकसित हुने उनको भनाइ छ ।
'भूगोलका हिसाबले देश सानो छौं तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौं । संस्कृतिक, ऐतिहासिक, पुरातात्विक, दृष्टिकोणले हामी सम्पन्न छौं । त्यसअर्थमा हामीले हाम्रो देश भित्र भविष्य खोज्नुपर्छ । तथापी आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन । विभिन्न सन्दर्भमा अध्ययनका सिलसिलामा श्रम, व्यवसायका सिलसिलामा मानिसहरु एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन्,' उनले भने ।
कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवाहरुलाई पौडेलले आह्वान गरे । पुस्तकले अरुलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताए ।
